Comments Add Comment

राष्ट्रिय आर्चरीमा अन्नपूर्णको वर्चस्व

२८ असार, काठमाडौं । कास्कीको अन्नपूर्ण आर्चरी क्लबले लक्ष्मणकुमार श्रेष्ठ स्मृति दोश्रो इन्डोर राष्ट्रिय आर्चरी प्रतियोगतामा शनिबार वर्चस्व कायम गरेको छ ।

नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगितामा समावेश ८ स्वर्ण मध्ये अन्नपूर्णले सर्वाधिक ५ स्वर्णमाथि कब्जा जमायो । हिमालयन आर्चरी क्लबले २ तथा युनाइटेड मुस्ताङ क्लब (युएमसी) ले १ स्वर्ण हात पारे ।

व्यक्तिगत स्पर्धाको पुरुष स्ट्यान्डर्ड रिकर्भमा अन्नपूर्णका कमल पुर्जा पहिलो भए । उनले युएमसीका छिरिङ दावा गुरुङलाई ३-० ले पराजित गरे । अन्नपूर्णका तिलक पुनले तेश्रो स्थानमा चित्त बुझाए ।

सोही स्पर्धाको महिलामा अन्नपूर्णकै मिहिता गुरुङ पहिलो भइन् । मिहिताले हिमालयनकी परिना राईलाई ३-० ले हराइन् । टीआईए आर्चरी क्लबकी सुमित्रा श्रेष्ठ तेश्रो भइन् ।

स्ट्यान्डर्ड रिकर्भको मिक्स इभेन्टमा अन्नपूर्णका तिलक पुन र मिहिता गुरुङको जोडीले हिमालयनका प्रकाश गुरुङ र परिना राईको जोडीलाई ३-० ले पाखा लगाउदै शीर्ष स्थान कब्जा गरे । टिम इभेन्टको पुरुषमा युएमसी पहिलो, टीआईए दोश्रो तथा अन्नपूर्ण तेश्रो बने ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष खुला रिकर्भमा हिमालयनका प्रेमप्रसाद पुनले स्वर्ण चुमे । प्रेमले अन्नपूर्णका अशिम शेरचनलाई ३-० ले निराश पारे । अन्नपूर्णकै अमृत गुरुङले तेश्रो स्थानमा सीमित भए ।

त्यसै स्पर्धाको महिलामा अन्नपूर्णकी मोनिका रानाले अन्नपूर्णकै रेणु तामाङलाई ३-० ले पन्छ्याउदै पहिलो स्थान हात पारिन् । हिमालयनकी कृष्णामाया स्याङतान तेश्रो भइन् ।

खुला रिकर्भको मिक्स इभेन्टमा हिमालयका प्रेम र कृष्णामायाको जोडीले बाजी मारे । उक्त जोडीले अन्नपूर्णका अशिम शेरचन र रेणु तामाङको जोडीलाई ३-० ले पाखा लगाउँदै स्वर्ण हात पारे । टिम स्पर्धाको पुरुषमा अन्नपूर्ण ‘ए’ ले स्वर्ण, हिमालयनले रजत तथा अन्नपूर्ण ‘बी’ ले कांस्य जिते ।

दुईदिने प्रतियोगितामा ३० पुरुष र १८ महिलासहित जम्मा ४८ खेलाडीले ८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment