Comments Add Comment

एमालेका भोका स्वयंसेवक मध्यरातमा रुँदै हिँडे

फाइल फोटो
फाइल फोटो

२८ असार, काठमाडौं । महाधिवेशन उद्घाटनदेखि मतगणना नसकिएसम्मका लागि भनेर तालिम दिइएका एमालेका स्वयंसेवकहरुलाई मतदान नहुँदै अपमानजनक रुपमा निकालिएको गुनासो आएको छ । कतिपय स्वयंसेवकलाई शुक्रबार मध्यरातमा खानसमेत नदिई भृकुटीमण्डपबाट जबर्जस्ती निकालिएपछि उनीहरु रुँदै घर हिँडेका थिए ।

एमालेले महाधिवेशनको भित्री सुरक्षा घेराका लागि भनेर देशभरीका अगुवा कार्यकर्तामध्ये २ सय २५ जनालाई स्वयंसेवकका रुपमा छनोट गरी आवश्यक शारीरिक तालिमसमेत दिएको थियो । अनेरास्ववियुका पूर्वअध्यक्ष रुपनारायण श्रेष्ठले कमाण्ड गरेका स्वयंसवेकमा माधव नेपाल र केपी ओली दुबै पक्षका कार्यकर्ता थिए ।

स्वयंसेवकहरुलाई दुई छाक खान र एक जोडी ट्र्याकसुट बाहेक अरु केही नदिइए पनि पार्टीको महाधिवेशनको व्यवस्थापनमा खटिन पाउँदा उनीहरु दंग थिए । ‘तर मतदानको दिन बरिष्ठ नेता कमरेडले साह्रै अपमानजनक शब्द प्रयोग गर्दै हामीलाई निकाल्न लगाउनुभयो’ स्वंसेवकमा खटिएका आरआर क्याम्पसका पूर्वस्ववियु सभापति बालगोपाल उपाध्यायले भने ।

उपाध्यायले आफ्नो फेसबुक वालमा समेत माधव नेपालले स्वयंसेवकलाई ‘रातो लुगा लगाउने गुण्डाहरु’ भन्ने शब्दले अपमान गरेको गुनासो पोखेका छन् ।

स्वयंसेवकका कमाण्डर रुपनारायण श्रेष्ठले स्वयंसेवकहरुलाई कबुल गरिएबमोजिम मतगणनासम्म राख्न नसकिएकोमा आफूलाई दुःख लागेको बताए । ‘नेताहरुले भनेपछि मान्नैपर्‍यो’ श्रेष्ठले भने ‘हामीले उनीहरुलाई मतगणना सकिएपछिमात्रै घर जाने भनेर बोलाएका हौं’ ।

आफूहरुलाई राति खाना खाने बेलामा लाइन बस्न समेत नदिई अपमानजनक ढंगले निकालिएको स्वयंसेवक बिष्णु तारुकेले बताए । ‘माधव कमरेडले तपाईहरुलाई यहाँ खाना पनि छैन र ट्वाइलेट पनि छैन भन्दै बाहिर निकाल्न आदेश दिनुभयो’ उनले भने ‘साथीहरु खान समेत नपाई रुँदै बाहिरिनुपर्‍यो’ ।

उता माधव नेपाल पक्षले भने स्वयंसेवकको भेषमा ओलीको पक्षमा षडयन्त्र गरेकाले उनीहरुलाई दुवै पक्षको सहमतिमा बिहानै बाहिर निकालिएको दाबी गरेको छ । ‘स्वयंसेवकका नाममा ओलीको प्यानलको पक्षमा शंकास्पद गतिविधि गरेकाले निकालिएको हो’ नेपाल पक्षका नेता सोमप्रसाद पाण्डेले भने-‘केही स्वयंसेवक पोशाकमै रातिसम्म बसेकाले उनीहरुलाई प्रहरी लगाएर निकालिएको हो’ । भित्रबाट निकालिएका स्वयंसेवकहरुले बाहिर सडकमा निस्किएर आ-आफ्नो गुटका नेताहरुको पक्षमा नाराबाजी गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment