Comments Add Comment

प्रचण्डले भने- म जेल जान तयार छु

२८ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्न आफू जेल जान तयार रहेको बताएका छन् ।

Prachanda

आदिवासी जनजातिको अधिकारको कुरा गर्दा आफूलाई घेराबन्दीमा पारिएको भन्दै उनले भने-‘नेपालका उत्पीडित जाति, क्षेत्र र लिंगको जनताको पक्षमा मैले जेल जाने तयारी गर्नुपर्छ । म आज तपाईहरुका अगाडि यो कुरा सुनाउन चाहन्छु म जेल जान तयार छु । तर, तपाईहरुको मुद्दामा सम्झौता गर्ने छैन ।’

उनले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानका लागि आˆनो पार्टी जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए ।जनजाति पार्टीहरुले बनाएको पहिचानमा आधारित सङ्घीय गठबन्धन घोषणा कार्यक्रममा प्रचण्डले भने-‘म मर्न फेरि तयार हुनुपर्छ अनि मात्र नेपालका उत्पीडित जनताले मुक्ति पाउँछन् भन्ने संकल्प गरेर म अगाडि बढेको छु ।’

संविधानसभाभित्र प्रमुख ठूला दलको चालढाल हेर्दा जनताको पक्षमा संविधान नलेखिने खतरा बढेर गएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाभित्र रहेका दलहरु र संविधानसभा बाहिर रहेका दलहरु नमिल्ने हो भने परिवर्तन संस्थागत हुनेमा शंका व्यक्त गरे ।

परिवर्तनकारी शक्तिहरु फुट्दा अन्य शक्तिले फाइदा उठाएको भन्दै उनले माओवादी विचार राख्ने र पहिचानसहितको सङ्घीयताका पक्षधरहरुलाई एकै ठाउँमा ल्याउने प्रयास सुरु गरिएको बताए ।

कार्यक्रममा मानवअधिकारवादी नेता पद्मरन्त तुलाधरले विभेदमा परेकाको मुक्ति नहुँदासम्म लोकतन्त्र, गणतन्त्र संस्थागत हुन नसक्ने धारणा राखे ।

शनिबार राजधानीमा घोषणा गरिएको मोर्चामा थरुहट तराई पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, आदिवासी जनजाति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सामाजिक लोकतान्त्रिक पार्टी आवद्ध रहेका छन् । कार्यक्रममा प्रचण्डलाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment