Comments Add Comment

केटी नजिस्काउनोस् है, ‘गुलाब ग्याङ’ले समाउला !

२८ असार, सुनसरी । यदि तपाई बाहिरबाट सुनसरीको इटहरी क्षेत्रमा जानुभएको छ भने कुनै युवतीलाई जिस्काउनुहोला, तपाई सेनाको जवान नै किन नहुनोस्, तपाईलाई ‘गुलाब ग्याङ’ले समातेर प्ररही हिरासतमा कोच्न सक्छ ।

सुनसरीको इटहरी नगरपालिका महिलाहरुका लागि असुरक्षित हुँदै जान थालेपछि स्थानीय प्रहरीले पछिल्लो समय सो क्षेत्रमा ‘गुलाव ग्याङ’ अभियान चलाएको हो । रातको समयमा समुहगत रुपमा महिला प्रहरीलाई सादा पोशाकमा परिचालन गरी केटी जिस्काउनेहरुलाई नियन्त्रणमा लिई धमाधम कार्वाही गर्न थालिएको छ । यस्तो कारवाहीमा पूर्वी पृतनाका सैनिक जवानसमेत समातिएपछि इटहरीका छोरीचेलीहरु जनतालाई सुरक्षा दिनुपर्ने नेपाली सेनाबाटै असुरक्षित रहेको खुलेको छ ।

महिलाहरुलाई सार्वजनिकस्थलमा बेइज्यती गर्ने कार्य जारी रहेको भन्दै यस्ता गतिविधिलाई निरुसाहित गर्न प्रहरीले महिला प्रहरी परिचालन गरेको जनाएको छ । ‘इटहरी क्षेत्रमा अब साँझ-बिहान जुनसुकै अवस्थामा छोरीचेलीहरु स्वतन्त्रतापूर्वक हिँड्न सक्ने वातावरण बन्ने छ, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले भने-‘इटहरीमा रातको १२ बजे पनि छोरीचेलीहरु निर्धक्क हिँड्न सक्ने वातावरण बनाउने अभियानमा जुटेको छु’।

गुलाव ग्याङ अप्रेशन

शर्माका अनुसार शादा पोशाकमा परिचालित महिला प्रहरीको समुहलाई इहटरी प्रहरीले ‘गुलाव ग्याङ’ नामाकरण गरेको छ । गुलाव ग्याङमा इप्रका इहटरीमा कार्यरत महिला प्रहरी उर्मिला प्रधान, सीता फुँयाल, विष्णुमाया दाहाल, यशोदा कार्की, जमुना कन्दङ्वा, मञ्जु राउत र विष्णु धमला रहेका छन् । उनीहरुलाई रातको समयमा इटहरीको चौक क्षेत्रमा सादा पोशाकमा परिचालन गरिँदै आएको छ ।

त्यसरी खटिएका महिला प्रहरीलाई कुनै केटाले अहा कति राम्री केटी, हामीसँग जाने हो ? भन्दै पिछा गर्न लागेको अवस्थामा उनीहरुलाई प्रहरीले तत्काल नियन्त्रण लिने गरेको छ ।

पहिलोपटक नगरको शान्ति सुरक्षाका लागि यस्तो अभ्यास थालिएको प्रहरीको दाबी छ । डीएसपी शर्माका अनुसार ती महिला प्रहरीको साथमा सञ्चार सेट, पेस्तोल लगायतका सामाग्री नदेखिने गरी राखिएको छ ।

महिला हिंसामा सेना पनि

गुलाव ग्याङ परिचालनका क्रममा विहीवार राति १२ बजे महिला प्रहरीलाई जिस्काउँदै पिछा गर्ने क्रममा इटहरीको धरान रोडबाट तीन जना नेपाली सेनासहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेहरुमा धादिङ नौविसे घर भई भोजपुर दरवन्दीमा नेपाली सेनाको पूर्वी पृतनामा कार्यरत २७ वषर्ीय प्रदीप तामाङ, झापा शनिश्चरे घर भई पूर्वी पृतनामै कार्यरत २७ वषर्ीय परमेश्वर राजवंशी र उदयपुरको कटारी घर भई पृतनामै कार्यरत चन्द्रबहादुर तामाङ रहेका छन् ।

यस्तै पक्राऊ परेका सर्वसाधारणमा छप्कटैया वीरगञ्जका राजन उपाध्याय र सोही स्थानका मोहम्मद हुसैन समेत रहेको इलाका प्रहरी कार्यालय इटहरीले ज्नाएको छ ।

पक्राउ परेका सेनालाई पृतनाको जिम्मा लगाएको र उनीहरुलाई ‘कोर्ट मार्सल’ हुने इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी शर्माले बताए ।

इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत गुलाव ग्याङकी एक सदस्य प्रहरी जवान उर्मिला प्रधानका अनुसार उनीहरुले नराम्रो शब्द प्रयोग नगरे पनि पछ्याउन छाडेनन् । सर्वसाधारणका लागि त्यो नै सबै भन्दा ठूलो डर हुने भएकाले उनीहरुलाई पक्राउ गरिएको उनले बताइन् ।

महिला प्रहरीलाई प्रहरी नियमावलीमा रातको दश बजेपछि एक्लै गस्तीमा पठाउन नपाइने नियम भए पनि स्थानीय वासिन्दा र महिला प्रहरीकै आग्रहमा सो अभियान चलाएको डीएसपी शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment