Comments Add Comment

सडक पुगेपछि गाउँमा भोजभतेर

२९ असार,सुर्खेत । सुर्खेतको रझेना र खानीखोला गाविसको सिमानामा रहेको दहमा सडक पुगेपछि स्थानीय नागरिकले बाजागाजासहित खुसियाली मनाएका छन् । दशरथपुर-नेटा हुँदै पहिलोपटक दहमा सडक पुगेपछि रझेना र खानीखोलाका नागरिकले खुसियाली मनाएको स्थानीय वीरबहादुर वलीले जानकारी दिए ।

सडक खन्दै डोजर दहमा पुगेपछि गाउँलेले खसी काटेर भोजभतेर गर्नुका साथै एकआपसमा खुसी साटासाट गरेको वलीको भनाइ छ ।  सुर्खेत क्षेत्र नं २ को उत्तरी क्षेत्रमा पर्ने गाविसहरुलाई जोड्ने रिङ्रोडका रुपमा लिइएको यो सडकले रातानाङ्ला-रमपोखरा-ढारखेत, जितेजुवा, दशरथपुर, नेटा हुँदै दह जोड्ने बताइएको छ । अब पूरै रिङ्रोड सडक जोड्नका लागि १० किलोमिटर सडक खन्न बाँकी रहेको डिभिजन सडक कार्यालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयका सवइन्जिनियर तुलाराम शर्माले रिङ्रोडको ट्रयाक खोल्ने काम सकिनेबित्तिकै स्तरोन्नति गरिने जानकारी दिए ।

गाउँ विकास समिति, जिल्ला विकास समिति, सडक कार्यालय र स्थानीय नागरिकको श्रमदानबाट सडक निर्माण भइरहेको छ । चालु आर्थिक वर्षको रातो किताबमा ६ लाख विनियोजन गरिए पनि संविधानसभाको निर्वाचनपछि रिङ्रोड निर्माणका लागि थप रु ७० लाख रकमान्तर गरिएको नेपाली काँग्रेस क्षेत्र नं २ सुर्खेतका क्षेत्रीय सभापति कमलराज रेग्मीले बताए । उनले रिङ्रोड निर्माण भएपछि उत्तरमा पर्ने एक दर्जन गाउँ विकास समितिका जनताको जीवनस्तरमा उल्लेख्य परिवर्तन आउने दाबीसमेत गरे ।

रेग्मीले काफलकोट हुँदै जितेजुवा जोड्ने सडक निर्माणसँगै स्तरोन्नतिका लागि पनि पहल गरिने जानकारी दिए । रिङ्रोड निर्माण भएपछि काफलकोट, रानीवास, रझेना, नेटा, पाम्का, अलवचिङ, मटेला, रतु, जर्बुटा, खानीखोला र दशरथपुर गाविसका जनतालाई आवागमनका साथै आफ्ना कृषिजन्य उत्पादन सजिलै बजारसम्म पुर्‍याउन सुविधा पुग्ने छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment