Comments Add Comment

के रोग लाग्यो नेपालका कम्युनिस्टलाई ?

मात्रिका पौडेल/टिप्पणी

matrika-poudelएमाले अध्यक्ष झलनाथ खनालले पार्टीको नवौं महाधिवेशनको बन्दसत्रमा सहभागी २१ सय ५६ जना अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै भनेका थिए ‘दोस्रो संविधानसभा निर्वाचनमा हामीले जिते पनि नेपालमा वामपन्थी जनमत ओरालो लागेको छ, कांग्रेसलगायतका यथास्थितीवादी र दक्षिणपन्थी शक्तिको जनमत बढेको छ’ । खनालले माधव नेपाल र केपी ओलीले प्यानलै बनाएर चुनाव लडेपछि यसलाई पार्टी विसर्जनको यात्रासमेत भने ।

त्यसअघि खन्ना गार्मेन्टमा आफ्ना अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले अहिलेकै अवस्थाबाट गुजि्ररहने हो भने नेपालमा कम्युनिस्टहरुको समाप्ति धेरै टाढा छैन भनेका थिए । दोस्रो संविधानसभा निर्वाचनको लज्जास्पद पराजयपछि एमाओवादीमा उत्पन्न विवादले पार्टीलाई थप कमजोर बनाउदै लगभग विभाजनको सँघारमा पुर्‍याएको छ ।

मोहन वैद्यले नेतृत्व गरेको नेकपा माओवादी पार्टीको हालत पनि यस्तै बनेको छ । वैद्य माओवादीले दोस्रो संविधानसभाको निर्वाचन बहिस्कार गर्‍यो । तर, त्यसपछि त्यो पार्टीमा दुई लाइन संघर्षले वैद्य र नेत्रविक्रम चन्दको दूरी यति धेरै बढाइसकेको छ कि, उनीहरु दोस्रोपटक राष्ट्रिय सम्मेलन स्थगित गरेर एक वर्षभित्र विशेष महाधिवेशन गर्ने ‘भद्र सहमतिमा पुगेका छन्’ ।

माकुराको उखान

नेपालका वामपन्थी पण्डितहरुबीच एउटा उखान निकै चर्चित छ । ‘माकुराको बच्चा ठूलो भएपछि सबैभन्दा पहिले माउलाई सिध्याउँछ, कम्युनिस्ट बलिया भए भने आफैंले आफैंलाई सिध्याउँछन्’ । नेपालका प्रमुख तीन वामपन्थी घटकहरुभित्र सतहमै देखिने गरी भएका पछिल्ला घटनाक्रमले करीव ६२ प्रतिशत जनमत ओगट्ने सामथ्र्य राख्ने नेपाली कम्युनिस्ट पार्टीहरु विघटन, विसर्जन र समाप्तिको यात्रामा अघि बढेको संकेत गर्छन् ।

विचार, सिद्धान्त, लक्ष्य र जनता कार्यकर्ताको चाहना विपरीत चलेपछि कुनै पनि राजनीतिक शक्तिको पतन देख्न धेरै समय कुर्न पर्दैन । भारतमा पछिल्लो आम निर्वाचनमा त्यहाँका वामपन्थी पार्टीहरुको पराजयलाई उदाहरण दिँदै एमालेका निवर्तमान अध्यक्ष खनाल नेपालका वामपन्थीको पनि त्यो हविगत हुन सक्ने खतरा देख्छन् । ‘विगतका आफ्नै अनुभव, विश्व कम्युनिस्ट आन्दोलनमा भएको क्षति, भारतका वामपन्थीको पराजय र देशभित्रको सबै अवस्था बुझेर अझ बढी एकता कायम नगर्ने हो भने हाम्रो पतनलाई कसैले रोक्न सक्दैन’ खनाल भन्छन् ।

जनमतको अपमान

नेपालको राजनीतिमा निर्णायक हैसियतमा अझै पनि कम्युनिस्ट नामका पार्टीहरु नै छन् । वैधानिक जनमतको कुरा गर्दा लगभग बहुमत जनताको हिस्साले उनीहरुलाई नै विश्वास गरेको छ । सदन र सडक दुबै ठाउँमा कम्युनिस्टको जबर्जस्त पकड छ । तर, मुलुकको संक्रमणकाललाई अन्त्य गरी स्थायित्व प्रदान गर्न, जनतालाई संविधान दिन र राज्यको पुनसंरचना गरी आर्थिक सम्वृद्धिको बाटोमा लैजान यहाँका वामपन्थीहरु असफल हुँदैछन् । राजनीतिक रुपमा यथास्थितीवाद र दक्षिणपन्थको पिछलग्गु बन्ने अवस्था र आन्तरिक रुपमा क्षतविक्षत हुँदै निणर्ायक भूमिकाबाट अलग-थलग हुने अवस्थामा वामपन्थी शक्तिहरु पुग्न थालेका छन् ।

एमालेको अधोगति

अहिले मुलुकको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी हो नेकपा एमाले । आकारको हिसाबले नेपाली कांग्रेसको लगभग बराबरी हैसियतमा रहेको दोस्रो ठूलो राजनीतिक दल नवौं महाधिवेशनबाट मुलुकलाई दिशा दिन सक्षम हुने धेरैको अपेक्षा थियो । तर, नयाँ नेतृत्वको निर्वाचनदेखि मतगणनासम्म आइपुग्दा आफैं दिशाहीन हुने र दशरथ रंगशालाबाट बल्खु पुग्दा आधा शक्ति लिएर फर्किने अवस्थामा एमाले पुगेको छ । अझ बढी एकता र अझ बढी अग्रगामी बन्नुपर्ने एमालेलाई नवौं महाधिवेशनले पक्षघातको अवस्थामा पुर्‍याइदिएको छ ।

अबको एमाले नेतृत्व सिंगो मुलुकको वा सिगो पार्टी पंक्तिको भन्दा पनि गुटको मात्र बन्ने खतरा छ । नवौं महाधिवेशनले संस्थागत गरेको गुट राजनीति र प्यानल निर्वाचनको परिणामलाई एमालेले पाँच वर्षसम्म धान्न सक्छ कि सक्दैन ? भनेर प्रश्न उठ्न थालिसकेको छ । दुई माओवादी पार्टीमा जस्तै एमालेमा पनि यसबीच विशेष महाधिवेशनमा जानुपर्ने अवस्था आयो भने त्यो आश्चर्य हुने छैन । किनकि उनीहरुले भृकुटीमण्डपबाट जे रोपे, बल्खुमा पनि त्यही फल्दैन भन्न सकिन्न ।

हिरोबाट जिरो

दोस्रो संविधानसभा निर्वाचन परिणामले हिरोबाट जिरो बनेको एमाओवादी पार्टी महाधिवेशनको एक वर्ष नपुग्दै राष्ट्रिय सम्मेलनमा पुग्यो । राष्ट्रिय सम्मेलनले समानान्तर पार्टी निर्माणको अवस्थामा पुर्‍याएको यो पार्टीमा बाबुरामले मागेको विशेष महाधिवेशनमा नगए अर्को वर्षसम्म बाबुरामको नयाँ शक्तिको भ्रूण बाहिर नआउला भन्न सकिन्न । पहिलो संविधानसभाको सर्वेसर्वा निणर्ायक शक्ति एमाओवादी दोस्रो संविधानसभासम्म आउँदा साक्षी किनाराको फड्के साक्षीको हैसियतमा छ ।

बाबुराम भट्टराईबाट सिर्जित वैचारिक समस्याको हल खोज्न पछिल्लो पटक एमाओवादीले प्रचण्डको नेतृत्वको बैचारिक बहस व्यवस्थापन समिति गठन गरे पनि त्यसको नियति यसअघिका सहमति प्रयासको भन्दा फरक हुने छैन । बाबुराम पक्षले गठन गरेका समानान्तर समितिहरु बिस्तारै उनको नयाँ शक्तिका औजार बन्नेतर्फ उन्मूख छन् ।

दोस्रो संविधानसभा निर्वाचनपछि एमाओवादीभित्र उत्पन्न बैचारिक, राजनीतिक र वैयक्तिक टक्करले प्रचण्ड र बाबुराम एकै पार्टीमा लामो समय रहिरहन्छन् भन्नेमा आशंका जन्माइसकेका छन् । पछिल्लोपटकको भेटमा प्रचण्डले ‘फुट्ने भए सल्लाह गरेरै फुटौं’ भन्नुले पनि उनको विवशता झल्काउछ ।

संकटमा सहयात्रा

वैद्यको एमाओवादीलाई नवसंशोधनवादी भन्दै जनयुद्धको जगमा जनविद्रोह गर्न भनेर निस्किएको नेकपा माओवादी तीन वर्ष नपुग्दै बिभाजनको सँघारमा छ । मोहन वैद्यको राजनीतिक लाइनसँग गम्भीर असहमति राख्दै सचिव नेत्रविक्रम चन्द विप्लबले फरक मत ल्याउने भएपछि असार मसान्तमा गर्ने भनिएको पार्टीको राष्ट्रिय सम्मेलन नै रद्द भएको छ र अब विशेष महाधिवेशनमा जाने निर्णय त्यस पार्टीले गरेको छ । तीन वर्षअघि विशेष महाधिवेशन गरेरै प्रचण्डसँग सम्बन्ध बिच्छेद गरेका बैद्यसँग बिप्लबले सम्बन्ध बिच्छेदको तयारी गरेका छन् । तत्काललाई टालटुल पारे पनि बैद्य विप्लब सहयात्रा संकटमा परिसकेको छ ।

सपनाको हत्या

विश्वका अन्य कम्युनिस्टजस्तै नेपालका कम्युनिस्टहरु पनि जनतालाई धेरै राम्रा राम्रा सपना बाँड्छन् । सुन्दर भविष्यको सपनामा युवा शक्तिलाई बदिदानका लागि उक्साउँछन् । ठूलो क्षतिबाट सामान्य उपलव्धी प्राप्त भएपछि उनीहरु त्यसलाई संस्थागत गर्नुको साटो आफैं विभाजित हुन्छन् र आफैंले देखाएका सपनाहरुको निर्मम हत्या गर्छन् ।

कम्तिमा ०४६ देखि आजसम्मका उनीहरुका क्रियाकलापले नेपालको युवा पुस्तालाई त्यही सिकाएको छ । नेपालको शान्तिपूर्ण जनक्रान्ति २०६२/६३ र त्यसअघिको माओवादी विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई आर्थिक सम्वृद्धिको बाटोमा लैजाने ऐतिहासिक कार्यभारमा अझै पनि यहाँका बामपन्थी नेतृत्वले गम्भीरतापूर्वक अग्रसरता नलिने हो भने उनीहरुको पतन अवश्यम्भावी देखिन्छ ।

जनतालाई सपना देखाएर आफैंले देखाएको सपनाको हत्या गर्ने नेपालका वामपन्थीहरुको ‘सामुहिक चिहान’ नखनिएला भन्न सकिन्न । त्यो चिहान, जहाँ लासहरुको होइन कम्युनिस्ट आन्दोलनको इतिहासको हुन सक्छ । किनकि नेपालका कम्युनिस्टलाई सिध्याउन अब बन्दूक वा हतियार चाहिँदैन उनीहरु आफ्नै कारणले सिद्धिने बाटोमा छन् ।

जोगाउने एउटै उपाय बाँकी छ, त्यो हो आन्तरिक एकता, संगठनमा लोकतान्त्रीकरण, बैचारिक संघर्षको व्यवस्थापन र मुलुकप्रतिको दायित्ववोध । नेपालका कम्युनिस्ट पार्टीहरु अहिलेको पार्टी सञ्चालन विधिबाट अघि बढ्न भने मुस्किल छ । नयाँ प्रयोगको एमाले मोडलको सफलता वा असफलताले पनि धेरै कुरा निर्धारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment