Comments Add Comment

ओली जित्दा उनका बफादार युवा नेता पराजित

uml-neta

३२ असार, काठमाडौं । आफू झिनो मतान्तरमा जितेका बेला लामो समयदेखि साथ दिँदै आएका प्रभावशाली युवा नेताहरुलाई पनि एमाले अध्यक्ष केपी ओलीले जिताउन सकेनन् । नेकपा एमालेका खुल्ला निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका केही मन्त्री र प्रभावशाली युवा नेताहरु केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

केपी शर्मा ओलीका अत्यन्त निकटस्थ मानिने स्वास्थ्यमन्त्री तथा निवर्तमान पोलिटव्यूरो सदस्य खगराज अधिकारी चुनाव हारेेका छन् । त्यस्तै अर्का उद्योगमन्त्री कर्णवहादुर थापा पनि पराजित भए । ओली पक्षका हस्तीहरुमध्ये अनेरास्ववियुका पूर्व अध्यक्ष खिमलाल भट्टराई, युवा संघका अध्यक्ष महेश बस्नेत, ओली निकट पूर्व केन्द्रीय सदस्य तथा काठमाडौं ३ का सभासद रामेश्वर फुयाल पनि पराजित भएका छन् ।

ओली प्यानलबाट पदाधिकारीमा हारेका धर्मनाथ साह, केशवाल श्रेष्ठ र रघुवीर महासेठ केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । ओली पक्षका प्रभावशाली नेताहरु गुरु बराल, देवराज भार, नेत्र पन्थी, भानुभक्त जोशी, आनन्द पोखरेल, अच्युत मैनाली, मनकुमार गौतम, बलराम बास्कोटा लगायत पनि पराजित भएका छन् ।

ओलीका निकटस्थ गोकुल बास्कोटा, कैलाश ढुंगेल, केशव पाण्डे, केशव देवकोटा, बिनोद श्रेष्ठ लगायतका युवाहरु पनि भूगोलामा पराजित भइसकेका छन् । पदाधिकारीमा शंकर पोखरेल र बिष्णु रिमाल पराजित हुँदा दुखित भएका ओली खुल्ला तथा भूगोलको केन्द्रीय सदस्यमा पनि परम्परागत गुटका इमान्दार कार्यकर्ता पराजित हुँदा स्तव्ध भएको एक नेताले बताए ।

माधव र झलनाथका खम्बाहरु पनि ढले

माधव नेपाल र झलनाथ खनाल निकट केही प्रभावशाली युवा नेता तथा मन्त्री पनि पराजित भएका छन् । खनालका सबैभन्दा निकटस्थ युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल खुल्ला केन्द्रीय सदस्यमा पराजित भएका छन् । त्यस्तै युवासंघका पूर्व महासचिवद्धय इन्द्रलाल सापकोटा, निरज आचार्य पनि पराजित भएका छन् । त्यस्तै दिपक भट्ट, जमिन्द्रमान घले, दलवहादुर सुनार जस्ता प्रभावशाली युवा नेता पनि पराजित भएका छन् ।

नेपाल प्यानलका प्रभावशाली मधेशी नेता रामचन्द्र यादव, साहित्यकार तथा पत्रकार नारायण ढकाल, नख्खु जेल ब्रेकका एक कमाण्डर नरेश खरेल, योजना आयोगका पूर्व सदस्य भीम न्यौपाने, उर्वादत्त पन्त लगायतका प्रभावशाली नेताहरु पनि पराजित भएका छन् ।

नेपाल प्यानलबाट पदाधिकारीमा उम्मेदवार पराजित भएकाहरु भने सबै केन्द्रीय सदस्यमा चाहि निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment