Comments Add Comment

माधव नेपालले पाइलैपिच्छे रुवाएको ओली पक्षको आरोप

१ साउन, काठमाडौं । नेकपा एमालेले नेतृत्व चयनका लागि २१ सय प्रतिनिधिको मतगणना गर्न एक साता लगायो । हाइटेक महाधिवेशन भनिए पनि विद्युतीय भोटिङ मेसिनलाई थन्क्याएर ६ पेजको मतपत्र बनाएका कारण असार २७ देखि भएको मत गणना साउन १ गते बिहान ३ बजेमात्रै सकियो । Madhav-Nepal-

आखिर नेकपा एमालेको महाधिवेशन किन हाइटेक हुन सकेन ? ओली पक्षका एक नेताले माधव नेपालको संकीर्ण एवं शंकालु व्यवहारका कारण पार्टीको महाधिवेशन हाइटेक बन्न नसकेको आरोप लगाए । महाधिवेशनमा माधव नेपालले पाइलैपिच्छे दुख दिएको उनको आरोप छ ।

आखिर कसरी दिए माधव नेपालले दुःख अनलाइनखबरको प्रश्नमा ओली पक्षका नेता भन्छन्-‘आफैंले सहमति जनाइसकेको भोटिङ मेसिन प्रयोग गर्न दिइएन । पछि स्वयंसेवक र परिचयपत्र वितरणमा किचलो गरियो । समयमै मतपत्रमा हस्ताक्षर गर्न नमान्दा मतपत्र छपाइमा ढीला भयो । मेसिन प्रयोग गर्न नमान्दा मतगणना गर्न ७ दिन लाग्यो र यसबाट एमालेको बेइज्यत भयो ।’

अन्तिममा रातभरि रडाको

दशरथ रंगशालास्थित मतगणनास्थलमा रहेका एक नेताका अनुसार बुधबार साँझ ७ बजेतिरै सबै मतगणना भइसकेको थियो । तर, माधव नेपाल पक्षले किचलो गरेका कारण अन्तिम सूची बनाउन राति तीन बजेसम्म लागेको ओली पक्षका नेताले बताए । ‘दुई घन्टाजतिमा सकिन्छ भन्ने लागेर खानाको समेत व्यवस्था गरिएको थिएन’, एक नेताले अनलाइनखबरसँग भने- तर, केही साथीहरुले दिनुसम्म दुःख दिएर रातभर लगाए ।’

स्रोतका अनुसार मतगणनामा गणकसँगै टिपोटका लागि दुबै पक्षका दुई-दुईजना थिए । मध्यस्थताका रुपमा काम गर्न नेपाल सरकारको निर्वाचन आयोगका कर्मचारीलाई समेत बोलाइएको थियो । प्रत्येक १०० मतको गणनापछि निर्वाचन आयोगका प्रतिनिधिसँगै अध्यक्षका उम्मेदवार नेपाल पक्षका प्रतिनिधि विजय भट्टराई र ओली पक्षका राजन भट्टराईले हस्ताक्षर गर्ने व्यवस्था मिलाइएको थियो ।अन्तिममा नेपाल पक्षका शेरबहादुर तामाङ र ओली पक्षका केशव पाण्डेले हप्ताक्षर गरेपछि मात्र मतलाई पार्टी निर्वाचन आयोगले इन्ट्री गर्ने व्यवस्था गरिएको थियो ।

तर, केन्द्रीय सदस्यहरुको मतलाई अन्तिम रुप दिने क्रममा नेपाल पक्षले मत टिपोटलाई फेरि गन्न लगाएर हैरान पारेको ओली पक्षको आरोप छ । ‘कागजको टुक्रो ल्याउने र जोड्न थाल्ने । २ हजार मतमा १०० को गणना गर्दै हस्ताक्षर गर्नुपर्ने भएपछि हैरान भइयो’ ओली पक्षीय एक नेताले भने ।नेपाल पक्षले भने रातभर मत उल्टोपाल्टो पारेर हारेका उम्मेदवारलाई जिताइएको आरोप लगाएको छ । नेपाल पक्षले बुधबार रातभरि किचलो गरेर ओली पक्षले हारिसकेका आफ्ना मान्छेलाई जिताएको दाबी गरेका छन् ।

विद्युतीय भोटिङ प्रयोग गर्न नदिँदा बेइज्यत

माधवकुमार नेपाल पक्षले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न नमान्दा यस्तो अवस्था आएको ओली पक्षका नेताहरुले बताएका छन् ।
नेपाली युवाहरु राम-लक्ष्मणले बनाएको विद्युतीय मेसिनको विश्वसनीयतामा नेपाल पक्षले प्रश्न उठाएपछि एमालेले अन्तिममा कागजी मतपत्र छापेको थियो । मत पत्र समेत तीन पटक रि-डिजाइन गर्नु परेको व्यवस्थापनमा संलग्न एक अधिकारीले बताए । नेपाल पक्षले बेलैमा मतपत्रमा हस्ताक्षर गर्न नमान्दा ढिलाइ भएको आरोप ओली पक्षको छ ।

परिचयपत्रमा अर्को लफडा

स्रोतका अनुसार महाधिवेशनको परिचयपत्रमै माधव नेपाल पक्षले लफडा गरेपछि परिचयपत्रमा झलनाथ खनाल, विष्णु पौडेल, भीम रावलको हस्ताक्षर गराउन व्यवस्था मिलाइएको थियो ।

स्वयंसेवकमाथि नेपालको अपमान

महाधिवेशनमा अध्यक्षका उम्मेदवार माधवकुमार नेपालले हरेक कुरामा अविश्वास गरेको नेताहरुले बताए । यतिसम्मकि नेपाल स्वयंमले ओलीको पक्षमा लागेको आरोप लगाउँदै केही स्वयंसेवकलाई खानासमेत खान नदिई मध्यरातमा रुवाएर घर पठाएका थिए । ओली पक्षले भान्सामा स्वयंमसेवक लुकाएको आरोप लगाउँदै नेपालले भान्सा बन्द गर्न भनेपछि नेपाल पक्षकै भीम रावले नै प्रतिवाद गर्नुपरेको थियो । ‘तिमीहरुलाई खाना चाहियो ? म प्याकिङ खाना मगाइदिन्छु, कति दुई हजार प्याकिङ चाहियो ?’ नेपालले स्वयंसेवकलाई भनेका थिए ।

स्वयंसेवकहरु बाहिर निस्किएर राति नै नारबाजीमा उत्रिएका थिए । नेता नेपालले पुराना नेता मुकुन्द न्यौपानेलाई अपमानजनक रुपमा हप्काएका थिए ।
स्रोतका अनुसार दुई सय स्वयंसेवक छनोटकै बेला नेपालले मूल व्यवस्थापन समितिको बैठकमा आशंका गरेपछि विष्णु पौडेल, रामनाथ ढकाल र जीवनराम श्रेष्ठले स्वयंसेवकहरुको ‘भेरिफाइ’ गरेका थिए । माधव नेपालले महाधिवशेनको सुरक्षामा खटिएका प्रहरीमाथि पनि शंका गरेका थिए । ओलीनिकट स्रोतले भन्यो, माधव नेपालले भोटिङ मेसिनमाथि शंका गर्नु नै दुर्भाग्य बन्यो । त्यसो नगरिएको भए आशंका पनि रहँदैनथ्यो र दुईहजार मत गर्न सात दिन लाग्ने थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment