Comments Add Comment

ओलीका सुन्निएका आँखामा आँशु, दायाँ हातमा पट्टी !

KP oli

१ साउन, काठमाडौं । एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओलीले विहीबार आफ्ना नेता कार्यकर्तालाई भनेका छन्-‘कमरेडहरूको जतिको लामो जीवन मेरासामु छैन, त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि त भन्ने सुविधा छैन ।’

विहीबार बल्खुमा आयोजित महाधिवेशन समापन समारोहमा निर्धारित समयभन्दा करीव दुईघण्टा ढीलो पुगेका नवनिर्वाचित अध्यक्ष ओलीको अनुहारमा विहीबार कुनै चमक थिएन । उनी आफ्ना सुरक्षाकर्मी र युवा नेता पिताम्बर तिम्सिनाको सहयोगमा भीडको बीचबाट मञ्चसम्म पुगे ।

बीचमा बधाइ भन्दै हात मिलाउन खोज्ने नेता कार्यकर्तालाई हेरेर फिस्स हाँस्ने बाहेक उनले हात दिन सकेनन् । किनकि उनको दाहिने हात छुनै नहुने गरी सुन्निएको थियो र त्यहाँ सेतो पट्टी कसिएको थियो ।

निवर्तमान अध्यक्ष झलनाथ खनाल र आफ्ना प्रतिस्पर्धी माधव नेपालको छेउमा बसेका ओलीले पटक-पटक चस्मा खोल्दै आँखाको आँशु पुछ्न खोज्दा उनको आँखा सुन्निएका प्रष्टै देखिन्थे । अनुहारमात्र सुन्निएको होइन, उनी त्यो भीडमा केही असहज पनि महशुस गरिरहेका थिए ।

Kp oli 650समापन समारोहमा सम्बोधन गर्न उभिएका ओलीमा स्वास्थ्यका कारण अध्यक्ष निर्वाचित भएको उर्जा देखिँदैन थियो । उनले आफ्नो लिखित भाषणसमेत बाचन गर्न नसकेपछि केही मिनेट भासिएको स्वरमा बोलेर मन्तव्य समापन गरे ।

नविनिर्वाचित अध्यक्ष ओलीले आफ्नो स्वास्थ्यबारे त्यहाँ केही बोलेनन् । तर, उनको शारिरिक अवस्थालेनै सबै चीज बताइरहेको थियो । लिखितरुपमा उनले तयार पारेको भाषणको अन्त्यमा भने उनले आफ्नो स्वास्थ्य बारेमा सामान्य उल्लेख गरेका छन् । उनले स्वास्थ्यमा केही समस्या भएकोमा आफू सजग भएको र त्यसबारेका टीकाटिप्पणीहरु पनि सुनेको बताएका छन् ।

‘मेरो स्वास्थ्यमा केही समस्याहरू छन् भन्ने कुराप्रति म सजग छु र यसप्रति यहाँहरूको चासोप्रति म संवेदनशील छु,’ ओलीले आफ्नो स्वास्थ्यको बचाऊ गर्दै पुरानै भनाइ दोहोर्‍याएका छन्- ‘पार्टी सञ्चालन म्याराथुन प्रतियोगिता होइन र पार्टी नेता म्याराथुन धावक पनि होइन । यो एउटा टिम स्प्रिरिट हो केन्द्रीय कमिटीको यो सक्षम टिम सामूहिक भावनाकासाथ सञ्चालन हुँदा देशैलाई जुरुक्क उचाल्न सामथ्र्यवान् छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’

ओलीले आफू धेरै नबाँच्ने संकेत गर्दै केही भावुक मन्तव्यसमेत राखेका छन् । उनले भनेका छन्-‘संभवतः कमरेडहरूको जतिको लामो जीवन मेरासामु छैन, त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि त भन्ने सुविधा छैन भन्ने तथ्यप्रति म सजग छु । त्यसैले, म आफ्नो सम्पूर्ण सामथ्र्य, उर्जा र विवेक पार्टी, जनता, देश र मानवताप्रति समर्पित गर्ने विश्वास पुनः दोहोर्‍याउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment