Comments Add Comment

एमाले सभासदलाई सडक र पुलको प्याकेज

४ साउन, काठमाडौं । बजेटमा आफ्ना योजनाहरु नपरेको भन्दै रिसाएका सभासदहरुको आक्रोश मत्थर पार्न एमाले नेतृत्वले नयाँ सूत्र निकालेको छ । प्रत्यक्ष निर्वाचित सभासदहरुलाई एउटा सडक र एउटा पुलको नाम दिन भन्दै एमाले संसदीय दलले फारम भराउन थालेको छ ।

प्रत्यक्ष निर्वाचित सभासदले आफ्नो निर्वाचन क्षेत्रको एउटा सडक र एउटा पुलको नाम दिएपछि त्यो काम सम्पन्न गराउन केन्द्रबाट नेतृत्वले पहल गर्ने आश्वासन एमाले नेताहरुले आफ्ना सभासदलाई दिएका छन् ।

आइतबार आयोजित संसदीय दलको बैठकमा सभासदहरुले बजेटको न्यायिक वितरण नभएको, एमाले सरकारमा भएको अनुभूति नभएको र पार्टी नेतृत्व तथा मन्त्रीले सभासदलाई बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेपछि एमाले नेतृत्वले नयाँ सूत्र निकालेको हो ।

‘प्रत्येक सभासदले आफूले जितेको निर्वाचन क्षेत्रमा बनाउनै पर्ने एउटा सडक र एउटा पुलको नाम लेखेर फारम भरेपछि माथिबाटै त्यो काम गराउन पहल गर्ने कुरा भएको छ’ एक एमाले सभासदले अनलाइनखबरसँग भने ।

बैठकमा बजेट निर्माणमा एमालेको पहलकदमी कमजोर भएको र कांग्रेस हावी भएको कुरा उठेपछि नेतृत्वले सभासदहरुलाई योजना बनाउन फारम दिएको हो । बजेट निर्माणका बेला पार्टी महाधिवेशनमा व्यस्त रहनुपरेकाले बजेटमा एमालेको पहल कमजोर बनेको काठमाडौं क्षेत्र नम्बर ३ का सभासद रामेश्वर फुयालले बताए । एउटा सडक र एउटा पुलको अवधारणाले सभासदहरुमा सकारात्मक सन्देश दिएको उनले दाबी गरे ।

वृद्ध भत्ता बढाउन माग

एमाले सभासदहरुले बजेट पारित गर्नुअघि जेष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षा भत्ता दोब्बर बनाउनका लागि नेतृत्वदायी पहल गर्न कार्यवाहक प्रधानमन्त्री वामदेव गौतम र संसदीय दलका नेता केपी ओलीलाई दबाव दिएका छन् । आइतबारको संसदीय दलको बैठकमा काठमाडौं ३ का सभासद रामेश्वर फुँयाल, भोजपुर १ का कृपासुर शेर्पा, मकवानपूर ३ का अनन्त पौडेललगायतले सामाजिक सुरक्षा भत्ता कुनै पनि हालतमा बढाउनुपर्ने माग गरेका थिए ।

‘जेष्ठ नागरिक भत्ता दोब्बर बनाइनुपर्छ, जेष्ठ नागरिक लगायत सामाजिक सुरक्षा भत्ता जनताको दैलो दैलोमा लगेर दिनुपर्छ भन्ने माग गरेका छौं’ फँुयालले भने । सामाजिक सुरक्षा भत्ता लगायत गाविसमा जाने अनुदान र निर्वाचन क्षेत्र विकासको रकम वृद्धि हुनुपर्ने माग गरिएको सभासद कृपासुर शेर्पाले बताए । ‘एमालेले घोषणापत्रमा गाविसको अनुदान र सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने भनेको थियो र हामीले यही भनेर भोट माग्यौं’ शेर्पाले भने ‘अब पार्टी नेतृत्वले यो पूरा गराउनुपर्छ’ ।

एमाले सभासदहरुले सरकारमा एमाले भएको अनुभूति कार्यकर्ताले गर्न नपाएको भन्दै मन्त्रीहरुलाई जिम्मेवार र उत्तरदायी बनाउन माग गरेका थिए । बैठकमा कार्यवाहक प्रधानमन्त्री गौतमका साथै पर्यटनमन्त्री भीम आचार्य र कृषि मन्त्री हरि पराजुली समेत उपस्थित थिए । बैठक साउन ८ गते अघि पुनः बस्ने गरी स्थगित भएको छ । केपी ओलीको नेतृत्वमा एमाले संसदीय दलको बैठक शनिबारदेखि बस्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment