Comments Add Comment

एउटा डाक्टर मर्नेछ, अर्को पत्रकार, नेता जन्मनेछ ..

Puja-wagle-with-arushi

राजकुमार श्रेष्ठ

५ साउन, काठमाडौं । ‘यो संसार चलिरहेछ, कोही जाँदैमा, कोही आउँदैमा कुनै फरक पर्ने छैन । हिजो यो संसार चलिरहेको थियो, जहाँ म थिएन, आज म छु तै पनि चलिरहेको छ, भोलि म रहने छैन, तैपनि यो संसार चलिरहने छ । यो संसारलाई मेरो आगमन र जानेबाट खुसी-दुःखी हुने छैन । … एउटा डाक्टर मर्नेछ, अर्को पत्रकार, नेता आदि जन्मनेछ ..’

स्व. डा. चित्रप्रसाद वाग्ले शर्माको निवासमा उनकी पत्नी पूजा दुई छोरीहरुसँगै थिइन् । झण्डै एक वर्ष पहिले क्यान्सरसँग लडिरहेका डा. वाग्लेलाई भेटेको कोठामा पुग्दा मन निकै गह्रौं भएको थियो । उनको निधन भएको ९ महिनापछि शुक्रबार मध्याहृन वाग्लेको घर पुगेको थिएँ ।

पूजाले वाग्लेलाई भेटेको कोठामा लगिन्, त्यहाँ सोफा, दराज, झ्यालका पर्दा सबै उही थिए । मात्र अभाव थियो त केवल डा. वाग्लेको ।

‘रोग नै त्यस्तो लाग्यो । दैवको लीला भनेर चित्त बुझाउने गरेकी छु’ अपाङ्ग छोरा र दुई छोरीको हेरचाह गरिरहेकी वाग्लेपत्नी पूजाले गहभरि आँसु पार्दै भनिन्-‘नसम्झिएको कुनै पल छैन तर, छोरीहरुका लागि भए पनि हाँसेर बस्नुपरेको छ ।

छोरीहरुको अवस्था

वाग्लेकी ठूली छोरी आशिका कक्षा पाँचमा पढि्छन् भने सानी छोरी आरुषि एकमा । आरुषि अहिले पनि केही चाहियो भने बाबाको नाम लिएर पुर्काछिन् । पूजाले भनिन्-‘सानी छोरीलाई केही चाहियो भने बाहिर बत्ती बालेको ठाउँ छ, त्यहाँ गएर बाबा मलाई यो ल्याइदिनुस् न भनेर भन्छे । माथि गएर बिहान घाममा हेर्छे र ममी यहाँ आउनुस् त भनेर ऊ त्यो सनमा मेरो बाबा हुनुहुन्छ हो ? भन्छे ।’

यो पनि पढ्नुस् : प्राणान्तअघि छोरीलाई डा. वाग्लेको चिठी, धनी र गरीबको खाडल पुर्नू 

त्रियोग स्कुलमा पढिरहेकी आरुषिले एक दिन कक्षामा मिसले जण्डिसबारे पढाउँदा जुरुक्क उठेर मेरो बाबाको पनि त्यस्तै भएको थियो जण्डिस भएर हो ? भनिन् । मिसले पूजालाई बताएअनुसार मिसको कक्षामा सन्नाटा छायो र उनले त्यो दिन पढाउन सकिनन् ।

3

पूजा बाबुका हिसाबले पनि डा. वाग्लेको स्थान निकै माथि भएको बताउँछिन् । ‘छिट्टै जानुरहेछ ….’ उनले भनिन् । लुकाउन खोज्दा-खोज्दा पनि उनको पीडाको आँशु आँखाको डिलमा आउँथ्यो ।

पेन्सनको लडाइँ

आफू अब बाँच्दिन भन्ने लागेपछि डा. वाग्लेले छोराछोरी र श्रीमतीको बारेमा धेरै चिन्ता लिने गरेका थिए । उनकै आग्रहमा स्कुलले केही शुल्क मिनाहा गरेको छ । तर, लञ्च र स्टेशनरी शुल्क भने बुझाउनुपर्छ ।

सरकारले वाग्लेको पेन्सन उपलब्ध गराए छोरीहरुलाई पढाउन सहयोग पुग्ने पूजाले बताइन् । प्युठानमा एचए भएर डेढ वर्ष काम गरेका वाग्लेको डाक्टरका रुपमा भने सेवा अवधि १२ वर्ष रहृयो । सरकारले एचएका रुपमा काम गरेको अवधिलाई पनि मान्यता दिए वाग्लेको परिवारले पेन्सन पाउने थियो । ‘भेट्न जाँदा हुन्छ, हजुरको काम भैहाल्छ भन्न छाड्दैनन् । तर, फाइल अगाडि बढाएकै छैनन्’ पूजाले भनिन् ।

शायद यो दिनलाई वाग्लेले मृत्युअघि नै देखेका थिए । उनले ‘म विनाको संसार र म विनाको मेरो परिवार’ शीर्षकमा आफ्नो डायरीमा लेखेका छन्-…. म विना यो संसारलाई, देशलाई, यो समाजलाई र त्यो घरलाई केही असर गर्नेछैन । तर, म विना मेरो परिवारलाई, मेरा बच्चालाई ठूलो अपुगको महसुस सधैं रहनेछ ।’ उनले अघि लेखेका छन्- मेरी श्रीमतीले विधवाको संज्ञा पाउनेछिन्, उनलाई एकल महिला घोषित गरिनेछ । …. सरकारले महिनाको ५०० रुपैयाँ दिनेछ ।’

Dr-wagle-latter

वाग्लेको सम्झनामा …

पाल्पामा आमालाई उपचारका लागि लिएर गएको बेला पूजाको भेट डा. वाग्लेसँग भएको थियो । जतिबेला उनी १८ वर्षको थिइन् भने वाग्ले ३० वर्षका थिए ।

विवाहपछि वाग्ले अध्ययनका लागि थाइल्याण्ड जाँदा उनीहरु कहिल्यै छुटि्टएनन् । तर, छोटो समयमा नै वाग्लेलाई गुमाएपछि पूजा अहिले उनसँग बिताएका पलहरुलाई कागजका पानाहरुमा कोर्दैछिन् ।

‘……जीवन भनेको सबै नाटकजस्तो लाग्छ’ छुट्टिँदै गर्दा पूजाले भनिन् ।

निवृत्तीभरणको माग गर्दै वाग्ले पत्नी पूजाले स्वास्थ्यमन्त्रालयमा दिएको निवेदन

Puja-application

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment