Comments Add Comment

कसैले कसैलाई नेता मानेको छैन


Ashok-rai-

-अशोक राई, अध्यक्ष, संघीय समाजवादी पार्टी

भर्खरै एमालेको नवौं महाधिवेशनबाट केपी ओली अध्यक्ष निर्वाचित भएका छन् । संघीय समाजवादी पार्टीले एमाले नेतृत्वलाई अब कसरी हेर्छ ?

-एमाले संघीयता र पहिचानविरोधी भएको तथा श्रमजीवी वर्गको पनि अनुकूल नभएको अवस्था देखिएर नै हामीले परित्याग गरेका हौं । त्यहाँ को मान्छे कुन पदमा आउँछ भन्ने कुराको खासै महत्व छैन ।

तपाईं एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो । कतिपयले अशोक राईले एमाले छाडेर गल्ती गरेको भन्छन् । तपाईंलाई साँच्चै एमाले छाडेकोमा पश्चाताप लाग्दैन ?

-एमाले छाडेर गल्ती गरेको भन्नेहरुचाहिँ निजी लाभ, पद, प्रतिष्ठाका बारेमा सोचिरहेका छन् । म व्यक्तिगत लाभका निम्ति राजनीतिमा लागेको होइन । राजनीति निश्चित उद्देश्यहरु प्राप्त गर्नका निम्ति गरिन्छ । यो मुलतः सेवाको कुरा हो । नेकपा एमालेलेे जब श्रमजीवी वर्ग र उत्पीडित समुदायका हितमा काम नगर्ने कुरा सुनिश्चित देखियो । यसपछि त्यहाँभित्र रहनुको औचित्य पनि सकियो । कुनै पनि पार्टी साधन हो, साध्य होइन । माध्यम हो, उद्देश्य होइन । जुन पार्टीमा रहेर राष्ट्र, जनता, श्रमजीवी वर्गको हितमा लाग्न सकिँदैन । त्यो पार्टीमा रहनुको कुनै औचित्य पनि नहुने भएकाले मैले एमाले परित्याग गरेको थिएँ । एमाले परित्याग गरेर मैले बिल्कुल सही काम गरेको छु । अहिले म नेपाली राजनीतिमा स्वतन्त्र ढंगले पहलकदमी लिन सक्ने र आफ्नो दृष्टिकोणअनुरुप राजनीतिलाई डोेर्‍याउन सक्ने अवस्थामा छु । यसले मलाई पूर्ण उत्साह र सन्तुष्टि दिएको छ ।

अशोक राई प्रचण्डलाई नेता मानेर गणतान्त्रिक मोर्चामा सहभागी भएको हो ?

– नेतृत्व भन्ने चिजचाहिँ कोही कुनै पदमा बसेर हुँदैन, नेतृत्व विचार र पहलकदमीका आधारमा स्थापित हुने हो । जहाँसम्म सात दल सम्मिलित संघीय गणतान्त्रिक मोर्चा छ, यसमा कसैले कसैलाई नेता मानेको अवस्था होइन । हामी सबै समान हैसियतमा छौं र मोर्चाको अध्यक्षता चक्रीय (आलोपालो)प्रणालीमा गर्ने व्यवस्था छ । जहाँसम्म अवधारणा पत्रको कुरा छ, त्यसमा संघीय समाजवादी पार्टी नेपालका विचार, दृष्टिकोणहरु समावेश भएका छन् । अशोक राईका बारेमा नकारात्मक टिप्पणी गर्दा आनन्द आउनेहरुले जेसुकै कुरा भन्न सक्छन्, त्यसको कुनै औचित्य छैन ।

संघीय समाजवादी पार्टी जुन उद्देश्यका साथ गठन भएको थियो, त्यो अनुरुपको काम गर्न असफल भइरहेको छ नि ?

-राजनीतिमा आरोप/प्रत्यारोपको खेल चलिरहन्छ । संघीय समाजवादी पार्टी जादुमयी चमत्कारहरु गर्ने ढंगले बनेको वा बनाइएको पार्टी होइन । यसले गर्नुपर्ने जिम्मेदारी र कामहरु हामीलाई राम्ररी थाहा छ । हामी गर्दै जानेछौं । कुनै पनि समस्याको निदान वा समाधान जादुगरी वा चमत्कारी ढंगले हुन सक्दैन । यसकारण कसले हामीसँग के अपेक्षा राखेको हो, त्यो कसरी समाधान हुने हो भन्नेजस्ता अमूर्त कुराहरुको महत्व र अर्थ रहँदैन । हामी संघीय समाजवादी पार्टीका उद्देश्यहरुतर्फ निरन्तर अगाडि बढिरहेका छौं ।

तपाईहरुलेे संविधानसभाको निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसक्नुको कारणके हो ?

-संविधानसभा सदस्य निर्वाचन-२०७० मा हामीले अपेक्षा गरेको परिणाम प्राप्त हुन नसक्नुमा पहिलो कुरो, हामी भर्खरै स्थापित भएको पार्टी हुनु र संगठनात्मक विस्तार नभइसकेको अवस्था रहनु । दोस्रो कुरो, निर्वाचनमा प्रचार प्रसारका लागि समय कम हुनु । तेस्रो कुरो, पहिचान पक्षधर पार्टीहरुविरुद्धमा राज्य शक्तिको दुरुपयोग हुनुजस्ता कारण छन् । यसदेखि बाहेक साधन स्रोतको अभाव तथा स्थानीय विशेषताहरु पनि जिम्मेवार छन् । तथापि, हाम्रो पार्टीले वर्ष दिन पनि नपुग्दै निरन्तर संघर्षको मैदानबाट चुनावमा सहभागी हुँदा प्राप्त गरेको जति उपलब्धी छ, त्यो यो आन्दोलन र पार्टीलाई अगाडि लैजानका निम्ति पर्याप्त छ ।

संविधानसभाभित्र जुन भूमिका खेल्नुपर्ने थियो, त्यो किन खेल्न सक्नुभएन ?

– संविधानसभाभित्र के भूमिका कसरी खेलिन्छ भन्ने कुराको जानकारी नभएर पनि यस्ता गुनासाहरु आइरहेका हुन सक्छन् । संविधानसभाभित्र संघीय समाजवादी पार्टीले सशक्त ढंगले भूमिका खेलिरहेको छ र पार्टीका विचारहरु निरन्तर अगाडि सारिरहेको छ । जहाँसम्म व्यवस्थापिका संसद्को कुरा छ, त्यसभित्र पनि हाम्रो भूमिकालाई हामीले सशक्त बनाउँदै लगेका छौं । आउने दिनमा अझ प्रभावकारी भूमिका खेल्नेछौं ।

अहिलेको स्थितिमा संविधानसभाबाट पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान जारी हुने आशा गर्न सकिने अवस्था कतिको छ ?

– यथास्थितिमा आशा गर्न सकिँदैन । यसैकारण संघीय गणतान्त्रिक मोर्चा बनाउन जरुरी भएको हो । त्यति मात्रले पनि पुग्ने छैन । संविधानसभाभित्र र सडकमा समेत सशक्त आन्दोलन नगरी जनअनुकूल संविधान आउँदैन । यसका निम्ति सम्पूर्ण श्रमजीवी वर्ग, न्यायप्रेमी नेपाली, उत्पीडित समुदायको एकता र संयुक्त संघर्ष जरुरी छ ।

संयुक्त संघर्ष त भन्नुभयो । तर, बिस्तारै संविधान जारी गर्ने मिति नजिकिँदैछ । यो छोटो अवधिमा निणर्ायक आन्दोलन गर्ने भन्ने हो ?

-समयतालिका साँघुरिँदै आएको छ । तर, समयतालिकाले मात्र संविधान दिने होइन । संविधानसभाले दिने हो । समयतालिका संविधानसभाले बनाएको हो । संविधान लेख्ने कुरामा समयको लापर्वाही नहोस् भनेर त्यो तालिका बनाइएको हो । तर, संविधान बनाउनका निम्ति जुन किसिमको सहमतिको खोजी हुनुपर्ने हो । त्यो अझै पर्याप्त मात्रामा हुन सकेको देखिँदैन । त्यसो भएको हुनाले समयतालिका कति अनुसरण हुन सक्छ । त्यो भन्न कठिन छ । तर, समयतालिका अनुसरण गर्ने नाममा प्राविधिक हिसाबले मात्रै ठेलपेल गरेर संविधान लेख्ने कोसिस भयो भने आजको भोलि पनि सडक तात्न सक्छ । त्यसका निम्ति तयारीहरु चलिरहेकै छ ।

तर, सडक संघर्ष रहर होइन । यो बाध्यता हो । संविधानसभाभित्र सहमति कायम गर्न सकियो भने कसैलाई सडकमा जान रहर छैन । त्यसकारण अहिले त्यस सन्दर्भमा पनि संक्रमणकालीन अवस्था रहेको मान्न सकिन्छ ।

– सुकदेव चाम्लिङ राईबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment