Comments Add Comment

अस्ट्रेलियाबाट दुखिरहन्छ काठमाडौं

सानु घिमिरे, सिड्नी (अस्ट्रेलिया)

अस्ट्रेलियामा जन्मिएकी सेलेनाले भर्खरै फेसबुकमा स्टाटस अपडेट गरी– ‘फिलिपन्स बसाई सकियो । अब अत्याधिक चिसो हिमाल र नदीहरुको देश नेपाल जाँदैछु । अति जनसंख्या, अतिप्रदुषणले ग्रस्त नेपाल ! यो जिन्दगी पनि कस्तो विष्मातबाट गुज्रिँदोरहेछ ।’sanu-ghimire

पढ्ने बित्तिकै, म भित्रको राष्ट्रियता तातो तेल जसरी उम्लियो । स्टाटसमै कमेन्ट गर्ने हिम्मत भएन । तर, मेसेज पठाएँ–डियर सेलेना ! काठमाडौं काठमाडौं प्रदुषित छ तर, काठमाडौं बाहेक पुरै नेपाल स्वच्छ र सुन्दर छ । फुर्सद मिलाएर काठमाडौं बाहिर निस्क है, नत्र नेपाल नचिनी तिमी फर्किनेछौ । काठमाडौं बसाइका दिनहरुमा एकपटक तपोबन जाउ र आध्यात्मिक आनन्द पनि लेउ । काठमाडौंको अस्तव्यस्तताबाट धेरै राहत पाउनेछौ ।

प्रतिउत्तरमा उसले लेखि– त्यो स्टाटस लेख्दा तिम्रो याद आइरहेको थियो । मैले काठमाडौं लेख्नुपर्थ्यो, नेपाल लेखेछु, त्यसको लागि माफ गर। तिमी पनि यही देशमा जन्मिएकी हौ भन्ने अनुभूतिले मात्रै पनि अनौठो अट्याच्मेंट फिल गर्दैछु । तिमी जन्मेको हुर्केको यो माटो, यो शहर, यो देश । केही राम्रा पर्यटकीय गन्तब्यहरुको टिप्स देउ, म फर्कँदा तिम्रो माटोको सुगन्ध बोकेर ल्याउँला।’

त्यसपछि उसले नेपालको ठाउँमा काठमाडौं लेखेर एडिट गरी । बाइरन वेको सात दिवसीय ओशो ध्यान शिविरमा सेलेनासँग पहिलो भेट भएको थियो । ऊ अर्कै आध्यात्मिक गुरुकी चेली हो । सबै गुरुहरुले देखाएको गन्तब्य एउटै हो भन्ने उसलाई सायद थाहा छ । उसले यो पनि जानेकी हुनुपर्छ कि आध्यात्मिक यात्रामा सत्संगको ठूलो महत्व छ। सत्संग खोज्दै ऊ त्यो शिविरमा आएकी थिई ।

सेलेना को हो ? कस्ती हो ? मेरो दिमागको एल्बममा उसको चित्र व्ह्वाइट रोब लगाएकी, औसत आकारकी, व्हाइट रोब जत्तिकै स्वच्छ, सुन्दर केटीको रुपमा आउँछे । दिउँसो दिउँसो उसले अर्को रंगको लुगा पनि लगाएकी थिई

होली। ऊसले पुरै सातदिन दत्तचित्त भएर ध्यान गरेकी थिई । ऊ सँग गफिने फुर्सद त मैले पाउँदै पाइन….साँझको सेलीब्रेसनमा कहिलेकाही हात समात्दै समूहमा नाच्दा थुप्रैपटक हामीले सँगै नाचेका थियौं। दिउँसो आँखा जुध्दा मुस्कान आदानप्रदान हुन्थ्यो ।

पछि फेसबुकका ध्यान शिबिरका फोटोमा र अध्यात्मिक स्टाटसमा दोहोरो लाइक र कमेन्ट चलिरहन्थ्यो । उसले मेरो “युनिक गिगल” सधैँ याद आइरहन्छ भन्थी (त्यसो त यो देशमा तौलिएर हाँस्ने मान्छेको जमातमा नेपाली हाँसो सधैँ सबैको लागि युनिक नै हुन्छ जस्तो लाग्छ मलाई) मलाई चाँही उसको ठूलो निधार र गम्भीर मुस्कानको झल्को मात्र आइरहन्छ ।

साँच्चै सेलेना ! सेतो लुगा लगाएर काठमाडौंमा ननिस्क है ! फर्किदा तिम्रो सेतो र सफा लुगा अफव्हाइट हुनेछ । तिमीलाई पनि मलाई जस्तै सेतो रंगप्रति मोह छ भने एकक्षण बिषादको असिनाले नराम्ररी मर्मत गर्नेछ । “ब्राइट व्ह्वाइट” को सट्टा मान्छेहरु “अफ व्हाइट” लुगा किन लगाउँछन् होला है ?

गत अक्टोबरमा पाँच वर्षपछि नेपाल पुग्दा रातको दश बजिसकेको थियो । काठमाडौं लोडसेडिङमा कालो घुम्टो ओढेर बसेको थियो । त्यसैपनि मलाई कालो रंग पटक्कै मन नपर्ने, उसमाथि काठमाडौं कालै भएर रोइरहेको थियो (मेरो स्वागतमा काठमाडौंले दिपावली गरेन । मैले चाँही कुन मगमग बासना आउने खुसीको झुप्पा लिएर ओर्लिएकी थिएँ र ?) भोलि पल्ट काठमाडौं हेर्ने उत्पात रहर थियो । मैले पाँच वर्ष अगाडि छोडेर गएको काठमाडौं कस्तो भयो ?

ट्याक्सी किन चढ्ने ? अस्ट्रेलियामा हरेक दिन कार चढिएकै छ । माइक्रो बसमा चढेर पुरानो बसपार्क ओर्लिएपछि बागबजारतिर पुग्दा बागबजारको सडकमा कुनै परिवर्तन पाईनँ । सायद त्यो सडकमा गुड्ने गाडीको संख्या वृद्धि भएको थियो । तर सडकको गुणस्तर र लम्बाई चौडाईमा कुनै परिवर्तन थिएन । सडक छेउको पेटी उस्तै

थियो । श्रेष्ठ टेलारिंग छेउको गणेशको मन्दिरनेरको पेटी उस्तैगरी भत्केको थियो । जुत्ताले पट्यास पट्यास नांग्लो पट्काउँदै गर्दा हिलो मेरो टाउकोसम्म पुगिरहेको थियो। सेलेना ! पानी पर्दा काठमाडौंको धूलोबाट त बचिन्छ तर, तिमीलाई जुत्ता पट्काउँदै उछिट्टिएको हिलोमा रमाउने बानी छैन भने पानी परेका बेला काठमाडौंका गल्लीमा नहिँड है, नत्र तिम्रो ब्राइट व्ह्वाइट लुगा पुरै स्मोकी आई कलरमा छिर्केमिर्के हुनेछ।

सिटीमलमा पुग्दा म सिड्नीको कुनै वेस्टफिल्डको फूड कोर्टमा छु जस्तो लागिरहेको थियो। कति ब्यबस्थित र कति रमाइलो रहेछ सिटीमल । त्यसपछि ट्याक्सी चढेपछि थाहा भयो, आधाआधा इन्च बचाएर ट्याक्सी हुंईकिदा सडक आचारसंहिता भन्ने शब्द हाम्रो बृहत नेपाली शब्दकोषमा कहिले थियो कि थिएन ?

लगातार एकहप्ता पानी पारेर इन्द्र देवताले मेरो नेपाल आगमनलाई साइत नै साइतले रंगाईदिए । पानी रोकिएपछि असली काठमाडौंको दर्शन गरें । बसन्तपुर दरबार पुग्दा थाहा पाएँ, धुलो नै धूलोले मेरो काठमाडौं सधैँ आइरन गरेर स्याहार नगरिएको ड्राइ हेयरजस्तै भएको रहेछ ।

सिड्नी आउनुभन्दा अघि करिब ४ वर्षको काठमाडौं बसाई कष्टकर र पीँडादायी रह्यो । बिहानै उठेर पानी थाप्यो, सधैँ पानीको हाहाकार । घरबेटीहरुले गर्ने अन्प्रोफेस्नल मिस बिहेबियरको त झन् कुरै नगरौँ। सात हजार तिरेर उताका बसेको फ्ल्याटमा समेत पानीको थोपा थोपाको लागि तड्पिनु पर्ने …..ट्यांकीभरी पानी राखेर पनि हाम्रो धारामा पानी ब्लक गरिदिने धन्य हो, काठमाडौंका स्थानीय घरबेटी ।

बिजुली बजारको ६ वटा फ्ल्याट भएको तीनतले घरमा समेत फोहोर फ्याँक्न खोलामा जानुपर्ने सिस्टम कति चित्त नबुझ्दो थियो । सबै छोराछोरी बिदेशमा बस्ने, चारवटा फ्ल्याट भाडामा दिएर पनि फोहोर फ्याँक्न खोलामा धाउनु

पर्ने । काठमाडौंका ओ सो’कल्ड धनी घरबेटीहरु ! काठमाडौंलाई रेप गर्न तिमीहरुले कहिले बाँकी राख्यौ र ?

घरबेटी आमै सधैँ तातोपानीले नुहाएर चिटिक्क बनी निस्कन्थिन् । हामीचाँही हप्तामा एकपल्टमात्र नुहाउन पाउँथ्यौ, त्यो पनि चिसो पानीले । तहसनहस गन्हाउने काठमाडौंमा तहसनहस गन्हाउने हामी, ….डेट जाँदा कति बट्टा परफ्युम सकियो ? गन्ती पो गरिएनछ ।

सेलेना ! त्यो बखत पनि म दुर्भाग्यबस सेतो रंग नै मन पराउँथे । मेरा थुप्रै मनपर्दा सेता सलवार कुर्ता र टपहरु पहेंला भएका थिए । जसलाई मैले अस्ट्रेलिया ल्याउन पाइन।

यी यावत गुनासाका बाबजूद मेरो आफ्नो माटोको सुगन्ध बोकेर म हिंडिरहेको छु । भलै, आकाशमा जस्तै धर्तीमा कुनै सिमाना नहुँदो हो त, यो सारा पृथ्वी मेरो हो । हामी सबैको हो । तर, आफू जन्मेको माटोप्रति हरेक मान्छे ऋणी हुन्छ, जसरी आफूलाई जन्म दिने मातापिताप्रति ऋणि हुन्छ । त्यही मातृत्व प्रदान गर्ने माटोलाई कसैले खिसी गर्यो भने छातीमा भुलुक्क उम्लने एक भुल्को राष्ट्रियता नराम्ररी व्यथित हुँदो रहेछ ।

डियर काठमाडौं ! तिमि जति नै अस्तव्यस्त भएपनि म तिमीलाई नेपालबाट अलग्याएर हेर्ने धृष्टता गर्न सक्दिन । तिमी जे छौ, जस्तो छौ, तिमीलाई कसैले खिसी गर्दा, औलो उठाउँदा मलाई (हामीलाई) सधैं दुखिरहन्छ । कुनै दिन तिम्रो आमूल परिवर्तनसँगै नेपालको छवि पनि परिवर्तन होला ।

आशा छ, त्यो परिवर्तनको संरचनामा मैले पनि मेरो ठाउँबाट कुनै योगदान दिन सकूँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment