Comments Add Comment

खुलमखुला बिक्रिवितरण हुन्छन् प्रतिबन्धित विषादी

Tarkari ani Phalphul photo (10)६ साउन, काठमाडौं । सरकारले १५ थरी घातक विषादी प्रयोगमा प्रतिबन्ध लगाए पनि खुला सीमाको फाइदा उठाउँदै एग्रोभेटहरूले भारतबाट तिनै विषादी भित्र्याएर किसानलाई बेचिरहेका छन्। जनस्वास्थ्यमा गम्भीर असर पार्ने क्लोरडेन, डाइलड्रिन, अलड्रिन, मिरेक्स, फोसफामिडनजस्ता प्रतिबन्धित विषादी खुलेआम प्रयोग भइरहेको एक सरकारी अध्ययनले देखाएको छ।
‘छिट्टै कीरा मार्न र छोटो अवधिका तरकारीको उत्पादन ह्वात्तै बढाउन प्रतिबन्धित औषधि प्रयोग गर्ने प्रवृत्ति छ,’ बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले हालै गरेको अध्ययनको निचोड छ, ‘व्यावसायिक लाभका लागि किसानले यस्ता विषादी प्रयोग गरेर गल्ती गरिरहेका छन्।’
अध्ययनको नतिजाअनुसार धादिङ, काभ्रे र बाराका किसानले अधिक मात्रामा यस्ता प्रतिबन्धित विषादी प्रयोग गरिरहेको नागरिक दैनिकमा खबर छ । यी तीन जिल्लाका ६ प्रतिशत किसानले घातक प्रतिबन्धित विषादी प्रयोग गरिरहेको अध्ययनले देखाएको छ। छोटो समयमा धेरै फल्ने गोलभेँडा, खुर्सानी, बोडी, भन्टालगायत तरकारीमा यसको प्रयोग बढी छ। उल्लिखित विषादीले मस्तिष्कघात र क्यान्सरजस्तो घातक रोग लाग्ने खतरा हुन्छ।
सरकारले यही देखेर सन् २००१ देखि २०१२ सम्म १५ वटा घातक विषादी आयातमा प्रतिबन्ध लगाएको हो। एग्रोभेट तथा सीमाका किसानले भने भारतबाट यस्ता विषादी आयात गरेर प्रयोग गरिरहेको कार्यक्रम निर्देशक शर्माले जानकारी दिए।
तराईका जिल्लामा सञ्चालित एग्रोभेटले भारतीय नाकाबाट सस्तोमा प्रतिबन्धित विषादी आयात गरी धादिङ र काभ्रे जिल्लामा पठाउने गरेको कृषि विकास मन्त्रालय स्रोतको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment