Comments Add Comment

उमेर नाघेकाले २ वर्षे राहदानी पाउने

६ साउन, काठमाडौं । सरकारले लामो समय विदेशमा रही नागरिकता बनाउन नभ्याएका १६ वर्ष नाघेका नेपालीलाई जन्मदर्ता प्रमाणपत्र तथा नाबालक परिचयपत्रका आधारमा दुई वर्षका लागि राहदनी दिने भएको छ।
Passport_nepalविदेशमा रहेका नेपालीले राहदानी बनाउँदा आइपरेका समस्या सम्बोधन गर्न सरकारले राहदानी निर्देशिका, २०६७ लाई पहिलोपटक संशोधन गरेर १६ वर्ष नाघेकालाई नागरिकताको प्रमाणपत्रबिना राहदानी उपलब्ध गराउने व्यवस्था गरेको हो। यो नियम विदेशमा रही राहदानीका लागि आवेदन दिने नेपालीलाई मात्र लागु हुनेछ। यसरी जारी हुने राहदानीको नागरिकता प्रमाणपत्र महलमा नाबालक परिचयपत्रको नम्बर वा जन्मदर्ता प्रमाणपत्रको नम्बर उल्लेख गरिने नागरिक दैनिकमा खबर छ।
‘विदेशमा रहेका नेपालीले सहज रूपमा राहदानी पाउन सकून् भनेर निर्देशिका संशोधन गरिएको हो,’ परराष्ट्रमन्त्रालय राहदानी विभागका महानिर्देशक रमेशप्रसाद खनालले नागरिकसँग भने, ‘राहदानीका लागि पेस गरिने नाबालक परिचयपत्र तथा जन्मदर्ताको अभिलेख नेपाली दूतावासमा राख्ने व्यवस्था गरिएको छ।’
संशोधित राहदानी निर्देशिका, २०७१ मा ‘व्यावहारिक कारण’ भन्दै एकपटकका लागि मात्र विदेशमा रही १६ वर्ष नाघेका नेपालीलाई नाबालक परिचयपत्र तथा जन्मदर्ताका आधारमा राहादानी उपलब्ध गराइने उल्लेख छ। यसरी राहदानी लिएको दुई वर्षभित्र उसले नेपाल फर्केर नागरिकता बनाइसक्नुपर्नेछ।
यसअघि नेपाली बाबुको विदेशमा जन्मिएका छोरा–छोरीलाई पहिलोपटक राहादानी जारी गर्दा जन्म प्रमाणपत्रलाई मुख्य आधार मानी बाबुको नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी प्रतिलिपि लिई नयाँ राहदानी जारी गर्ने व्यवस्था थियो। यो नियम १६ वर्षमुनिका बालबालिकालाई मात्र लागु हुन्थ्यो। १६ वर्ष पुगेकाले नागरिकता पाउने हुनाले सरकारले यो उमेरभन्दा माथिकाले राहदानी लिँदा अनिवार्य रूपमा नागरिकताको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गरेको थियो। तर, विदेशमा रहेका नेपालीलाई यसले समस्या पारेपछि १६ वर्ष नाघेकालाई जन्मदर्ता प्रमाणपत्र तथा नाबालक परिचयपत्रका आधारमा एकपटक दुईवर्षे राहदानी जारी गर्ने निर्णय गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment