Comments Add Comment

एमालेमा बरियता विवाद टुंगियो, बामदेव कार्यवाहक अध्यक्ष

uml-top-5

६ साउन, काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशन लगत्तै शुरु भएको बरिष्ठता र बरियता विवाद अनौपचारिक रुपमा टुंगिएको छ । शीर्ष नेताहरुबीच बरियताका विषयमा भएको छलफलपछि पार्टी नेताहरुको बरियता तोक्ने विषय टुंगिएको हो ।
स्वास्थ्य उपचारका लागि बैंकक हुदै सिंगापुर जान लागेका अध्यक्ष केपी शर्मा ओलीले कार्यवाहक अध्यक्ष कसलाई दिने भन्ने चासो बढिरहेका बेला पार्टीका बरिष्ठतम उपाध्यक्ष बामदेव गौतमलाईनै दिने निर्णय भएको महासचिव इश्वर पोखरेलले बताए । ‘बरिष्ठ उपाध्यक्ष कमरेड बामदेवनै हो, उहाँलाईनै कार्यवाहक दिने निर्णय भएको छ, यसमा कुनै विवादनै छैन’ पोखरेलले अनलाइनखबरसँग भने ।
कावा प्रमपछि कावा अध्यक्ष
महासचिव पोखरेलले बरिष्ठता विवाद एमाले नेताहरुले नभई बाहिरबाट सिर्जना गर्न खोजिएको आरोप लगाए । उपाध्यक्ष भीम रावल लगायत केही केन्द्रीय सदस्यहरुले बढि मत पाउनेको बरियता माथि हुनुपर्ने भन्दै कार्यवाहक अध्यक्ष रावलले पाउनुपर्ने माग गरेका थिए । तर पोखरेलले भने रावलले त्यस्तो दावी गर्नै नसक्ने र अरु कसैले गरेको भए त्यो अबुझ कुरा हो भने ।
ओलीले कम्तिमा दुई साता बिदेश उपचार गर्न जानुअघिनै गौतमलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको अनुपस्थितिमा एक महिना भन्दा बढि कार्यवाहक प्रधानमन्त्री चलाएका गौतमले कार्यबाहक प्रधानमन्त्री छाडेकै दिन पार्टीको कार्यवाहक अध्यक्ष सम्हाल्न पाउने भएका छन् । प्रधानमन्त्री कोइराला आज फर्किएपछि उनी उपप्रधानमन्त्री मात्र हुन्छन् ।
यस्तो छ नेताहरुको बरियता
एमालेको आगामी दोस्रो केन्द्रीय कमिटी बैठकमा बरियताको एजेण्डा समावेश हुने स्रोतले जनाएको छ । नेताहरुको बरियता तोक्ने विषयमा पार्टीमा छलफल भइरहेको महासचिव पोखरेलले स्वीकार गरे । ‘हाम्रो पार्टीमा बरिष्ठता र बरियताको आफ्नै स्थापित मान्यता र प्रचलन छ’ पोखरेलले भने’सोही अनुसार बरियता तोकिनेछ’ ।
बढि मत पाएका आधारमा बरिष्ठ हुने व्यवस्था कहिँ कतै नभएको उनले स्पष्ट पारे । स्रोतका अनुसार पाँच उपाध्यक्षमध्ये पार्टीमा बरिष्ठताका आधारमा बामदेव गौतम, विद्या भण्डारी, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावलको मर्यादा तोकिनेछ । त्यस्तै दुई उपमहासचिवमा बिष्णु पौडेलपछि घनश्याम भुषालको बरियता रहनेछ ।
५ सचिवमा भने पृथ्वीसुब्बा गुरुङ,प्रदीप ज्ञवाली, भीम आचार्य,गोकर्ण विष्ट र योगेश भट्टराईको बरियता तोकिने सम्भावना छ । भीम आचार्य आठौं महाधिवेशनमा केन्द्रीय सदस्य पराजित भएपनि त्यसअघिनै केन्द्रीय कमिटीमा सदस्य रहिसकेकाले बरियतामा बिष्ट र भट्टराईभन्दा माथि रहने स्रोतले जनाएको छ ।
सबैभन्दा पहिले केन्द्रीय सदस्य भएका आधारमा तोकिदा सचिवको बरियतामा गुरुङ पहिलो नम्बरमा पर्नेछन् । केन्द्रीय सदस्यहरुमध्ये बरियतामा माधव नेपाल, प्रदीप नेपाल, मुकुन्द न्यौपाने, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ शीर्ष बरियतामा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment