Comments Add Comment

मुनालाई मोदीले पत्याए, नेपालले पत्याएन

ज्ञानेन्द्र खड्का

६ साउन, काठमाडौं । महिलालाई अधिकार दिलाउन गैरसरकारी संस्थाहरुले वर्षेनी अर्बौं खर्चिरहेका बेला नेपालकी एकमात्र डोजर चालक मुना घिमिरे सडक विभागका हाकिमहरुले नपत्याएका कारण बेरोजगार बनेकी छन् । ‘म महिला भएकै कारणले पछि परेकी होइन, मलाई जबरजस्ती पछि पारिएको हो’, मुना भन्छिन्, ‘सरकारी निकायले काम गर्न अवसरै दिँदैनन्, सधैं हेला गरेर कमजोर बनाएपछि मैले कसरी मेरो क्षमता देखाउनु ?’muna

तनहुँको निम्नमध्यम परिवारमा ३५ वर्षअघि जन्मेकी मुना घिमिरे (श्रेष्ठ) नेपालकी एकमात्र डोजर चालक महिला हुन् । माइतीघरमा घरमा दाजुभाइ नभएको र छोरीहरुमात्रै भएकाले उनले छोराले गर्ने काम गरेर देखाउन सफल भएकी छन् । मुनासँग नेपालको आधा भूगोल र भारतको गुजरातमा पनि वर्षौंसम्म डोजर चलाएको अनुभव छ । नेपालका निजी कम्पनीमा कार्यरत रहेर उनले पूर्वको विकट ताप्लेजुङदेखि मध्यपश्चिमको सल्यानसम्म पुगेर सयौं किलोमिटर सडक खनिसकेकी छन् ।

विसं. ०५५ सालबाट २० वर्षको उमेरदेखि नै डोजर चलाउन थालेकी उनी अहिले सडक विभागअन्तरगतको हेभ्भी इक्विपमेन्ट विभागमा ज्यालादारी कामदारका रुपमा कार्यरत छिन् । तर, डोजर चलाउने आशमा उनले दिन कटाउँदै बसेको वर्ष दिन भइसक्दा पनि काम पाएकी छैनन् । आफूले सिकेको काममा पतिलाई समेत ल्याएकी मुना आफैं भने बेरोजगार छिन् । उनका पति अहिले गोरखामा डोजर चलाइरहेका छन् ।

गुजरात यात्रा

डोजर चलाउन सिकेकी मुना ०५५ सालबाट नेपालमा डोजर चलाउन नपाएपछि अवसरको खोजीमा भारत पुगिन् । सन् २००५ देखि २००८ सम्म उनले भारतको गुजरातमा डोजर चलाएर प्रशिद्धी कमाइन् । गुजरातमा रहँदा उनले अहमदावादबाट राजकोटसम्मको २ सय किलोमिटर सडक निर्माणका क्रममा २ सय वटा पूल निर्माणको पूर्वाधार बनाउन डोजर चालक भइन् । महात्मा गान्धीको जन्मथलोसम्म जाने सडकमा पनि उनले डोजर चलाइन् ।

नेपालस्थित तेज कन्ट्रक्सनका निर्देशक बद्रीकुमार श्रेष्ठले काठमाडौंमै लिएको पहिलो ट्रायल पास गरेर गुजरात पुगेकी उनले त्यहाँ जति सम्मान अन्त नपाएको अनलाइनखबरलाई सुनाइन् । ‘गुजरातमा चाइनिज कम्पनीअन्तरगत डोजर चलाएकी थिएँ, गुजरातमा डोजर चलाउँदा त्यहाँ घरघरमा लगेर सम्मान गरेका थिए’, उनी भन्छिन्, ‘महात्मा गान्धीजीको जम्मजयन्तीमा मलाई गुजरातको मोदी सरकारले बहादुर महिलाका रुपमा सम्मानित गरेको थियो ।’

गुजरात बस्दा मुनाको कमाइ मासिक एक लाखभन्दा बढी थियो । त्यो भन्दा बढी उनले त्यहाँ पाएको सम्मान पैसासँग तुलना हुनै सक्दैन ।देशको माया मार्न नसकेर गुजरात सरकारको स्थायी जागिरको प्रस्ताव लत्याउँदै मुना सन् २००८ मा देश फर्किन् । ‘गुजरातमा कमाउने एक लाख रुपैयाँले मलाई अड्याउन सकेन’, मुनाले भनिन्, ‘देशमै केही गर्ने जोश बोकेर फर्किएकी हुँ ।’

नेपाल फर्केपछि हण्डरै हण्डर

मुनाले देशको माया मार्न नसकेर जन्मभूमि फर्किन् । तर, त्यसयता उनले हण्डरैहण्डर खानुपरेको छ । काठमाडौंमा डोज चलाएर उनले सडक, घडेरी खार्ने र पूल निर्माणका लागि पनि काम काम गरिन् । नेपाल फर्केपछि उनले भण्डारी रोडा ढुंगा उद्योगको डोजरले काभ्रेको कोशी पारीका १७ वटा गाविसमा सडक पुर्याइन् । कोशी पारीको गाउँमा रहँदा उनी त्यहाँकी प्रिय बनिन् ।Muna-Shrestha

‘महिला दिदीबहिनीले मलाई देखाएर महिला कम्जोर नभएको उदाहरण दिन्थे’, मुनाले सुनाइन्, ‘मैले हेभ्भी मेशीन चलाएपछि महिलालाई हेर्ने दृष्टिकोण नै परिवर्तन भयो । ०१२ सम्म त्यहाँ काम गरेपछि सडक विभागमा आएँ, तर मेशीन चलाउन पाइँन । ‘सानैबाट नयाँ काम गर्ने सोच थियो, परिवार आर्थिकरुपमा कमजोर भएकाले घरकी जेठी छोरीको जिम्मेवारी पूरा गर्न डोजर चलाउन थालें’, मुनाले सुनाइन्, ‘भारतको गुजरातमा पुगेर डोजर चलाउँदा त्यहाँको सरकारले सम्मान गर्‍यो, देशमा आएपछि आफ्नै सरकारको हेलाकी पात्र भएकी छु, महिला भनेर अपहेलित हुनुपरेको छ ।’

निजी कम्पनी र ठेकेदारहरुले पत्याए पनि उनलाई सरकारी कर्मचारीले पत्याएनन् । सडक विभागमा जागिरका लागि हात फैल्याउन जाँदा उनी हाँसोकी पात्र बन्थिन् । ‘भारतमा डोजर चलाएको अनुभवका कागजातसहित जागिर माग्न जाँदा महिलाले त चुल्होचोको गर्नुपर्छ भन्दै हेपे’, मुनाले भावुक हुँदै सुनाइन्, ‘सरकारी कर्मचारीबाट सबैभन्दा बढी हेपिएकी छु, उनीहरुमा रहेको महिलाले केही गर्नै सक्दैनन् भन्ने चिन्तनले म प्रताडित भएँ ।’

सडक विभागले पत्याएन

कोशी पारिका १७ वटा गाविसमा डोजर चलाएर गाडी पुर्‍याएकी मुना निजी कम्पनीमा भन्दा सरकारी जागिरमा भविष्य सुरक्षित हुने बताउँछिन् । सडक विभागमा पहिलोपटक उनी छिर्दा मध्यपहाडी लोकमार्ग निर्माणका लागि चीनबाट नयाँ डोजर झिकाइयो । हेभ्भी इक्विप्मेन्ट विभागका प्रमुख इन्जिनियरले त्यो मेशीन चलाउने आश्वासन पनि दिए । जब मेशीन आयो, तर उनलाई जागिरबाट निकालेर पुरुष अपरेटरलाई मेशीन दिइयो ।

‘चीनबाट नयाँ मेसिन आएपछि मैले नै ट्रेलरबाट झारेँ, म टे्रलरमा पसेको देखेर हेभ्मी इक्विपमेन्ट विभागका हाकिमले आँखा तर्दै महिलालाई किन दिएको भन्दै गाली गरे’, मुनाले सुनाइन्, ‘त्यो मेसिन चलाउने आशमा म मख्ख थिएँ । मेसिन झारेपछि सडक निर्माणमा पठाउने बेलामा मलाई हटाएर पुरुष अपरेटरलाई जिम्मा दिएर पठाइयो । तर, मेसिन चलाउनुको साटो जागिरबाटै हात धुनुपर्‍यो ।’

विभागका कर्मचारीले अहिले पनि डर त्रास देखाएर मेसिन चलाउन नदिएको मुना सुनाउँछिन् । ‘मध्यपहाडी लोकमार्गको भूगोल जटिल भएकाले सयौं पुरुषका बीचमा काम गर्न गाह्रो हुने भन्दै हतोत्साहित गरे’, मुनाले सुनाइन्, ‘मैले जान चाहाँदा पनि बजेट छैन भनेर मलाई त्यहाँबाट निकालिदिए ।’ हेभ्भी इक्विप्मेन्ट विभागबाट ज्यालादारी जागिर छाडेपछि उनले करिब १ वर्ष वागमती नदी सफाइ गर्न एक निजी कम्पनीको डोजर चलाइन् । वागमती सफाइमा डोजर चलाएपछि पुनः उनी सडक विभागकै हेभ्भी इक्विप्मेन्ट विभागमै ज्यालादारी कामदार बनेकी छन् । तर, अहिले पनि उनले कार्यालयमा गएर घाम ताप्ने बाहेक केही गर्न पाएकी छैनन् ।

निजी कम्पनीमा भविष्य सुरक्षित नहुने भएकाले उनले जागिरका लागि सडक विभागमा गुहार मागिन् । सडक विभागका तत्कालीन प्रमुख लालबहादुर साहले माथिबाट तोक लाएर ल्याए काम दिने भने । तर, तोक लगाएर ल्याएपछि उनले तिमी काम गर्न सक्दिनौं भन्दै निराश बनाएको उनी बताउँछिन् ।  अमेरिकाको क्यालिफोर्नियाबाट एक्जाभेटर चलाउन बोलाएको बोलाएको मौका समेत त्यागेर नेपाल नै बसेकी मुनालाई विदेशमा पसिना बगाउनु भन्दा स्वदेशमै रमाउँदा आनन्द लाग्छ रे । ‘जे जति दुःख परोस, यहीँ काम गर्न चहान्छु’, मुना भन्छिन्, ‘अझै हण्डर खान तयार छु, तर हिम्मत हारेकी छैन ।’

ज्याला बुझ्दै बस्दै

अहिले उनी हेभ्भी इक्विप्मेन्ट इकाइमा दिनको ४ सय रुपैयाँ ज्याला बुझ्दै बसेकी छन् । तर उनले सधैं हेपिएको महसुस गर्नुपरेको छ । ‘कर्मचारीले मलाई सधैं हेप्छन्, कुरा बुझाउन खोज्दा अस्थायीलाई मेसिन दिन नमिल्ने भन्दै पन्छाउँछन्’, मुना भन्छिन्, ‘तर, त्यहाँ धेरै पुरुष चालकहरु अस्थायी नै छन्, मैले मेसिन माग्दा अभिभावक खोज्छन्, एउटा पुरुषले भने ४ वटा सम्म मेसिन पालो गरेर चलाइरहेका छन् ।’

उनीसँग सडक, विद्युत्त, नहर, पूलमा पनि काम गरेको अनुभव छ । ‘मैले सबैभन्दा जोखिम मोलेर चिलिमे हाइड्रो पावरको सुरुङ खनेकी छु’, मुनाले भनिन्, ‘सुरुङभित्र पसेपछि काममाबाहेक अन्त ध्यान दिन्न, मेसिन लिएर गएपछि मेरो डर हराउँछ ।

१५ वर्षपछि एसएलसी

घरको आर्थिक अवस्था कमजोर भएकाले उनले तनुहँको राम शाह उच्च माविमा ९ कक्षा पढ्दा पढ्दै पढाइ त्यागेकी थिइन् । ०५५ सालमा पढाइ छाडेर डोजर चलाउन सिकेकी उनले १५ वर्षपछि एसएलसी पास गरिन् । ‘मैले पढ्न छोडेको १५ वर्षपछि गत वर्ष एसएलसी उत्तीर्ण गरेँ’, मुनाले भनिन्, ‘सरकारी सेवामा प्रवेश गर्न पढ्नुपर्ने बुझेर विहान ५ देखि १० बजेसम्म पढेर सेकेन्ड डिभिजन ल्याइर एसएलसी पास गरें ।’

मुनालाई उनका पतिको दहि्रलो साथ छ । पतिले दिएको साथकै कारण आफू यो अवस्थामा आएको मुना सुनाउँछिन् । ‘पतिले मलाई राम्रो सहयोग गर्नुभएको छ, पतिको सहयोग नहुने हो भने त मैले यो फिल्डमा केही गर्नै सक्दिनथेँ’, मुना भन्छिन्, ‘मलाई सरकारी कर्मचारीले जति हतोत्साही बनाएँ पनि म कमजोर हुन्न, १६ वर्षसम्म संघर्ष गरेर यो अवस्थामा आइपुगेकी छु, अझै संघर्ष गर्छु ।’ सरकारी तहबाट हेपिएपछि उनलाई महिला पुरुष बराबरीका नारा व्यर्थ लागेका छन् । देशमा महिलालाई अघि बढाउने, ३३ प्रतिशत दिने नीति आएको छ । तर, उनले महिला भएकै कारण सरकारी निकायबाटै हेपिनुपरेको छ ।

अब लोकसेवाको शरणमा

सरकारी निकायबाट महिला भएकै कारण हेपाइमा परेकी मुना लोकसेवा आयोगले खुलाउने जागिरमा भिड्ने आशमा छिन् । आफूसँग लोकसेवाको सूचना कुर्नुबाहेक अर्को विकल्प नरहेको बताउँदै मुनाले लोकसेवा खुल्ने टुंगो नहुँदा आफ्नो भविष्य पनि अन्योलमा परेको बताइन् । सरकारी कर्मचारीले हण्डर खुवाए पनि उनलाई निर्माण व्यवसायी महासंघ र निजामति कर्मचारी संगठनसहितले सम्मान गरेका छन् । सरकारी कर्मचारीले हेपेको देख्दा उनलाई गुजरात छोडेर आएको पछुतो लागेको छ । ‘देशको मायाले र्फकँदा मैले भोग्नुपरेको हण्डर भनिसाध्य छैन’, मुना भन्छिन्, ‘मलाई खाली भएको पदमा काम देओ भन्दा नियमै छैन भनेर टार्छन्, तर पुरुष अपरेटरले भने काम पाइरहेका छन् ।’

डोजर चालकको आम्दानी

एउटा एक्जाभेटर चालकले निजी कम्पनीमा काम गर्दा १० देखि २० हजार कमाउने मुना बताउँछिन् । सरकारी जागिरमा जाँदा खरिदार र सुब्बा सरहको तलब भत्ता पाइन्छ । एउटा एक्जाभेटर चालकले फिल्डमा मेसिन लिएर जाँदा महिनामा ८० हजार रुपैयाँसम्म कमाउँछन् ।

‘मैले निजी कम्पनीमा काम गर्दा महिनाको ५० हजारसम्म कमाएकी छु । तर, सरकारी कर्मचारीले मलाई जहिल्यै शंका गरे’, मुना भन्छिन्, ‘एकपटक काम गर्ने अवसर पाएँ भने यी सरकारी कर्मचारीको मुखमा बुझो लाउने इच्छा छ ।’ मुनाले कालिका कन्ट्रक्सनमा रहेर चितवनमा काम गर्दा बसन्ती गुरुङलाई पनि एक्जाभेटर चलाउन सिकाएकी थिइन् । उनले तीन वर्षसम्म एक्जाभेटर चलाएकी थिइन् । हाल उनी त्यो पेशामा नरहेकाले मुना नेपालकी एक्ली महिला डोजर चालक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment