Comments Add Comment

बहस : कांग्रेस वीपीको धारमा छैन-प्रकाश, राजा आफैँ गएका हुन्-शेखर

अरूण बराल

६ साउन, काठमाडौं । वीपी कोइरालाका सुपुत्र प्रकाश कोइरालाले नेपाली कांग्रेस वीपीको राजनीतिक धारबाट विचलित भएकाले कांग्रेसले वीपी जयन्ती मनाउनु व्यर्थ रहेको बताएका छन् । वीपीका भतिज एवं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि वीपीले राष्ट्रियता र प्रजातन्त्र दुबैलाई जोड दिएको स्मरण गर्दै अहिले राष्ट्रियताप्रति कम ध्यान गएको स्वीकार गरेका छन् ।prakash-koirala

‘वीपीको राजनीतिक धारमा अहिले नेपाली कांग्रेस छैन । कांग्रेससँग राष्ट्रियता छैन, प्रजातन्त्रमात्रै छ । उसले वीपीको नाम व्यर्थमा लिइरहेको छ,’ वीपीपुत्र प्रकाशले अनलाइनखबरसँग भने-‘वीपीले राष्ट्रियता र प्रजातन्त्रलाई वयलगाडाका दुई पाङ्रा बताएका थिए, मुलुक पहिले जोगाउनुपर्छ, त्यसपछि मात्रै व्यवस्था आउँछ भनेका थिए । अहिले कांग्रेसले यो नीतिबाट यु टर्न लिएको छ ।’

नेपाली समाजले परम्परामा विश्वास गर्ने हुनाले राष्ट्रियताको सन्दर्भमा परम्परालाई ख्याल गर्नुपर्ने प्रकाशको भनाइ छ । तर, नेपाली कांग्रेसले राजतन्त्रलाई अस्वीकार गरेर वीपीको राष्ट्रियतासम्बन्धी नीतिलाई उल्लंघन गरेको उनले बताए ।

तर, राजाविनाको राष्ट्रियता हुन्छ कि हुँदैन ? अनलाइनखबरको प्रश्नमा प्रकाशले भने- ‘यो कुरामा बहस गर्न सकिन्छ, तर अहिले मुलकको राष्ट्रियता कमजोर भएको छ, विदेशी चलखेल बढेर गएको छ, यतापट्टी  कांग्रेसको ध्यान गएको छैन ।’

राजा आफैं गएका हुन् – डा. शेखर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि वीपीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई जोड दिएको बताउँछन् । Shekhar-Koiralaप्रकाशले भनेजस्तै अहिले लोकतन्त्रमा बढी जोड दिइएको तर, राष्ट्रियताबारे कम ध्यान गएको शेखरको स्वीकारोक्ति छ ।’वीपीले लिएको राष्ट्रियता र प्रजातन्त्रको नीति अहिले झन् सान्दर्भिक देखिएको छ । हामीले लोकतन्त्रलाई मात्रै जोड दिइराखेका छौं,’ डा. कोइरालाले अनलाइनखबरसँग भने-‘राष्ट्रियतालाई राजासँग जोडिराखेका छौं ।’

कांग्रेसले वीपीको नीति छाडेको आरोपप्रति असहमति जनाउँदै डा. कोइरालाले राजतन्त्र आफ्नै बुद्धिले ढलेको बताए । ‘राजा आफैं गएका हुन्, राजाले बुझिदिएको भए अहिलेको परिस्थिति आउने थिएन । राजाले समयको मागलाई बुझ्न सकेनन् ।’

विश्वका विभिन्न मुलुकमा पहिले राजा रजौटाहरु रहे पनि विस्तारै उनीहरु लोप हुँदै गएको उदाहरण दिँदै डा. कोइरालाले भने- ‘जहाँको राजतन्त्रले जनताको भावना बुझ्यो त्यहाँ राजतन्त्र टिक्यो, जहाँका राजाले जनताको अधिकार आफूले लिन खोजे, त्यहाँ राजतन्त्र ढल्यो ।’

‘राजाले बुझिदिएको भए नेपालमा यो परिस्थिति आउने थिएन, कांग्रेस नेता डा. कोइरालाले भने-‘पटक-पटक छलफल गर्दा पनि राजाले गिरिजाबाबुलाई विश्वास नगरेपछि बाध्य भएर यो परिस्थिति आएको हो ।’ राष्ट्रियतालाई राजासँग जोडेर हेर्नु गलत भएको भन्दै डा. कोइरालाले राजतन्त्र नै नभएका बेला राष्ट्रियतालाई राजासँग जोड्नु सान्दर्भिक नहुने बताए । तर, वीपीले लिएको राष्ट्रियताको नीति अहिले अझ बढी सान्दर्भिक बनेको भन्दै उनले देशमा विदेशी हस्तक्षेप तीव्र बनेको स्वीकार गरे ।

यो पनि पढ्नुस् :

वीपी बाँचेका भए गणतन्त्रवादी हुन्थे कि राजावादी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment