Comments Add Comment

एघार महिनामा भित्रियो २५ अर्बको खाद्यवस्तु

७ साउन, काठमाडौं । कृषि विकास मन्त्रालयले मुलुकभित्र उत्पादित खाद्यन्न मागभन्दा बढी रहेको तथ्यांक सार्वजनिक गरिरहँदा खाद्यवस्तुको आयात अस्वभाविक रुपमा बढेको देखिएको छ ।

Cerealsमन्त्रालयले आर्थिक वर्ष २०७०/०७१ मा मुलुभित्र खाद्यन्न उत्पादन ९.४३ प्रतिशतले वृद्धि भएको अनुमानित तथ्यांक सार्वजनिक गरेको छ । उत्पादन बढेपछि ७ लाख ८९ हजार ८९० मेट्रिक टन खाद्यन्न बचत भएको समेत मन्त्रालयले अनुमान लगाएको छ ।

उपभोक्ताको माग पुरा भई खाद्यन्न बचत भएको बताइरहँदा विदेशबाट ११ महिनाको अवधिमा २५ अर्ब २४ करोड ८८ लाख रुपैयाँ बराबरको खाद्य वस्तु आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.२ प्रतिशतले बढी हो ।

कृषि प्रधान मुलुक भनिने नेपालको वर्षेनी खाद्य वस्तुमा परनिर्भरता बढ्दै गइरहेको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको पछिल्लो तथ्यांकले देखाउँछ । केन्द्रका वरिष्ठ अफिसर कृष्णराज बजगाईंका अनुसार विदेशबाट मुख्यतः धान, मकै, कोदो, गहुँ, जौं, चामल, जुनेलो लगायतका खाद्य वस्तुहरु आयात भएका छन् ।

कृषि मन्त्रालयले गत आर्थिक वर्षमा धान ५० लाख ४७ हजार,  मकै २२ लाख ८३ हजार, कोदो ३ लाख ४ हजार गहुँ १८ लाख ८३ हजार, जौं ३४ हजार र फापर १० हजार मेट्रिक टन उत्पादन भएको अनुमान गरेको छ ।

मन्त्रालयले खाद्यन्नको कुल उत्पादन ९५ लाख ६२ हजार मेटि्रक टन हुने र उपभोग्य परिमाण ६० लाख ८५ हजार ७ सय ७६ मेटि्रक टन रहने अनुमान लगाएको छ । जबकी यस अवधिमा ५२ लाख ९५ हजार ८८६ मेट्रिक टन खाद्यन्नको माग भएको बताइएको छ ।

खाद्यन्न आयात भने हरेक वर्ष बढ्दै गइरहेको छ । अघिल्लो आर्थिक वर्ष २०६९/७० मा २० अर्ब ९२ करोड ३४ लाख रुपैयाँ बराबरको खाद्य वस्तुहरु विभिन्न मुलुकबाट आयात गरिएको थियो । समिक्षा वर्षमा यहि गतिमा आयात बढे २८ अर्ब रुपैयाँ बराबरको खाद्य वस्तु आयात हुने देखिन्छ । जुन अघिल्लो वर्षको तुलनामा साढे ७ अर्ब रुपैयाँले बढी हुने छ ।

यो पनि पढ्नुहोस्

खाद्यन्न उत्पादन ९ प्रतिशत बढ्यो, ३० जिल्लामा अझै अपुग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment