Comments Add Comment

पशुपति शर्मालाई बाहुन भन्दा अप्ठ्यारो लाग्दैन

pasupati sharma 2

७ साउन, काठमाडौं । ‘केको बाहुन, केको कामी, केको जनजाति’ बोलको लोकगायक पशुपति शर्माको गीत यतिबेला चर्चा र विवादमा छ । जनजाति र दलित अधिकारकर्मीले गीतको विरोध गरेका छन् भने अन्यले गीतको सन्देश मार्मिक रहेको भन्दै प्रशंसा गरेका छन् ।

गीतलाई बहिस्कार गर्नेसम्मको चेतावनीपछि गायक शर्मा भने निकै दुःखी देखिएका छन् । ‘अघिल्लो पुस्ताले चित्त दुखाउने हो कि भन्ने लागेको थियो’ गायक शर्माले अनलाइनखबरसँग भने-‘मलाई त हाम्रो पक्षमा गीत गायो, हामीलाई सम्मान गर्‍यो भनेर दलित मित्रहरुले मलाई सम्मान गर्नुहुन्छ होला भन्ने लागेको थियो, कसरी बुझ्नुभयो थाहा छैन, यसमा अचम्म लागेको छ ।’

आफूले दलित समुदायको सम्मानकै लागि यो गीत बनाएको उनको भनाइ छ । ‘मधेसीको प्रगतिमा पहाडी हाँस्छ, भोेटेले नि बाहुनसित मायाप्रेम गाँस्छ । हामी सबै मिलौं न भन्ने भाव हो’ उनी भन्छन्-‘ संस्कृति, संस्कार, पहिचान बिर्स मैले भनेको छैन । हामी सबै नेपाली हौं, हाम्रो माटोलाई नबिर्स मात्र भनेको हो ।’

कामी, दमाईजस्ता शब्द चयनमा गल्ती भयो कि भन्ने अनलाइनखबरको प्रश्नमा उनले त्यसलाई अस्वीकार गरे । उसो भए किन विरोध भयो त भन्ने प्रश्नमा गायक शर्मा भन्छन्-‘मलाई पशुपति बाहुन भन्दा अप्ठ्यारो लाग्दैन । हामीले आफ्नो जातमा गर्व गरौं न । म सानु छु भन्ने सोचाइ त्यागौं । म सानो जातको हुँ भन्ने हो भने कहिले माथि उठ्ने ?’आफ्नो गीतलाई धेरैले मन पराएको र त्यसको भाव बुझेको भन्दै उनले जसका लागि गीत सिर्जना गरेको उनीहरुले भने बुझिनदिँदा दुःख लागेको बताए ।

सतीले सरापेको देश

पछिल्लो समयमा चर्चित लोकगायक शर्मा राम्रो काम गर्नेहरुलाई प्रोत्साहन नभएको गुनासो गर्छन् । ‘देश नै बिगि्रसकेको छ । सतीले सरापेको देश पनि भन्छन्’ उनले भने-‘राम्रो काम गर्नेलाई हौसला दिने र उत्साही गराउने काम कतैबाट पनि भएको छैन । यसबाट अलिकति पीडा बोध भएको छ ।’
देशका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ गायन क्षेत्रमा लागेको भन्दै उनी भन्छन्-‘अब गीत गाउँदा कसरी गाउने ? कसरी लेख्ने ? राम्रो गाए पनि सुख छैन, नराम्रो गाउँदा नराम्रो गायो भन्नेहरु पनि छन् ।’

परिवारलाई ढाँटेर दोहोरीमा गाएँ

pasupati

स्याङ्जाबाट पढ्न भनेर काठमाडौं छिरेका पशुपति शर्माले दोहोरी साँझबाट गाउन सुरु गरेका हुन् । इन्जिनियर बढाउने बाबुआमाको चाहना भए पनि उनी दोहोरीतिर लागे ।

विगत सम्झँदै उनी भन्छन्-‘बुबा काठमाडौं आए मैले साहुलाई फोन गरेर बिदा लिन्थेँ । तर, ६० सालमा राष्ट्रव्यापी प्रतियोगितामा हामी फाइनलमा पुगेका थियौं । बुबा काठमाडौं आउनुभएको थियो, हेर्न जानुभएछ । म आरआर क्याम्पस पढ्न जान्छु भनेर हिँडेको थिएँ ।’ शमार्श् भन्छन्-‘बेलुकी भेट्दा बुबाले कहिलेदेखि गाउन थालेको ? बाहेक केही सोध्नुभएन । तर, घरमा आमा र दाइहरु भने निकै रिसाएको उहाँले सुनाउनुभयो ।’

गीत गाउने बाटोमा लाग्दा अहिले पनि घरमा त्यति राम्रो नभएको सुनाउँदै उनी भन्छन्- मलाई इन्जिनियर बनाउने चाहना थियो, मैले पूरा गर्न सकिँन ।’ यद्यपि उनलाई इन्जिनियर नबनेकामा कुनै चित्त दुखाइ छैन । ‘इन्जिनियर भएको भए पनि यति खुसी हुने थिइँन जस्तो लाग्छ । स्रोताहरुले माया गर्नुभएको छ । जे गरेँ ठीक गरेँ जस्तो लाग्छ’ उनी आफ्नो पेशाप्रति सन्तुष्ट हुँदै भन्छन् ।

रेडियो सुन्दा पलाएको रहर

सुरु-सुरुमा रेडियोमा अरुका गीत बजेको सुन्दा मेरो पनि आवाज रेडियोमा बजिदिए कस्तो हुन्थ्यो भन्ने लाग्यो उनलाई । पानको पातमा हुर्किइयो, रेसम फिरिरी भन्दै आइयो’ गीत गाउने प्रेरणा कहाँबाट आयो भन्ने प्रश्नमा उनले भने-‘अरुका गीत रेडियोमा सुन्दा मेरो आवाज पनि घन्किदिए हुन्थ्यो भन्ने म कल्पना गर्थेँ ।’

स्टेज कार्यक्रमले पालेको जीवन

देश विदेशमा हुने स्टेज कार्यक्रमले उनको घर चलेको छ । झण्डै २३ बढी देश घुमिसके भने देशभित्र अधिकांश जिल्लामा पुगेर गीत गाउने अवशर पाएका छन् । कमाइबारे सोध्दा उनी भन्छन्-लाखौं कमाउँला, घर किनौंला भनेर प्रवेश गरेको होइन । सानो नाम कमाउँला भनेर मात्र आएको हुँ । अहिलेलाई राम्रो छ । काठमाडौंमा बस्न पुगेको छ ।’

आजभोलि अडियो क्यासेटहरु बिक्न छाडे । यूट्यूब भिडियो र सीआरबीटीबाट केही कमाइ हुन्छ । तर, उनले अहिलेसम्म यूट्यूब भिडियो हेरे वापतको पैसा लिएका छैनन् । ‘एक हजारले हेरेपछि १ डलर आउने भन्नेछ । आशिष म्युजिकले सबै हेरेको छ’ उनले भने ।

तीजको प्लान

यो तीजमा पशुपति शर्माले १० बटा गीत गाएका छन् । १०/१५ बटा थप गीत गाउने प्रस्ताव आए पनि धेरै होला भनेर स्वीकार नगरेको उनले बताए । ‘दिदी बहिनीको गीत बनाइदिने हो, नाइँ भन्न सक्दिँन’ उनले भने- ‘अरुका शब्द र संगीतमा गीत गाउन अफरहरु आएका थिए तर, धेरै होला भनेर मैले गाउन मानिँन ।

यो पनि पढ्नुस् :

‘दलितको चित्त दुखाउने पशुपति शर्माको गीत’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment