Comments Add Comment

गंगासागरमा माओवादी र मानवअधिकारकर्मीको ‘छोइछिटो’

Godar-ghatana-1

७ साउन, काठमाडौं । करीव ११ वर्षअघि धनुषामा सुरक्षाकर्मीले अपहरणपछि हत्या गरेको पुष्टि भएका पाँच युवकको शवको अवशेष परिवारले पाएपछि तीन माओवादी पार्टी र अधिकारकर्मीहरुबीच बुधबार अघोषित जुहारी चल्यो ।

मृतकका पीडित परिवारलाई बाकसमा राखिएको शवको अवशेष मानवअधिकार आयोगको रोहबरमा अपहरण गरिएको भनिएको ठाउँ देवीचोकमा हस्तान्तरण गरिएको थियो ।

शव हस्तान्तरण गर्ने क्रममा आयोग अधिकारीसँगै पीडित परिवारको अनुरोधमा अधिकारकर्मी सुशील प्याकुरेल, माओवादी जनयुद्धका क्रममा पीडित बनेका र हाल अधिकार आन्दोलनमा लागेका सावित्री श्रेष्ठ, देवी सुनार, जनक राउतलगायत घटनास्थलमा पुगेका थिए ।

देवीचोकमै जम्काभेट भयो तीन माओवादी नेता र अधिकारकर्मीहरुको । शव हस्तान्तरण हुँदैछ भन्ने थाहा पाएपछि काठमाडौंबाट एमाओवादीका महासचिव कृष्णबहादुर महरा, नेकपा-माओवादीका सचिव देव गुरुङ र नेकपा (माओवादी)का संयोजक मात्रिका यादव पनि त्यहाँ पुगे । उनीहरुले देवीचोकमै शवको अवशेषमाथि कम्युनिस्ट पार्टीको झण्डा ओढाउन खोजेका थिए । तर, त्यहाँ पीडित परिवारले नै मानेनन् ।

त्यसपछि दाहसंस्कारका लागि गंगासागरमा लगियो । गंगासागरमा पुगेपछि माओवादी कार्यकर्ताले जबर्जस्तीको शैलीमा शवको अवशेषको बाकस नै कब्जामा लिएपछि आफूहरु पाखा लागेको सावित्री श्रेष्ठले बताइन् ।

Godar-ghatana

‘उनीहरुले बलजफ्ती घाट कब्जा गरेर झण्डा ओढाउदै भाषण गर्न थालेपछि हामी फर्कियौं’ माओवादी नेता बालकृष्ण ढुंगेललाई सर्वस्वसहित जन्मकैदको फैसला गराउने सावित्रीले भनिन् ।

जनयुद्धकालमै पक्राउपछि बेपत्ता पारिएका माओवादी कार्यकर्ताहरु सन्जीवकुमार कर्ण, दुर्गेश लाभ,जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्र यादवको गैरन्यायिक हत्या भएको ठहर आयोगले गरिसकेको छ । उनीहरुको गोदारमा हत्या भएको पुष्टि भएको थियो । उनीहरुको शव उत्खनन्मा पनि आफूहरु संलग्न भएकाले परिवारकै आग्रहमा धनुषा गएको सावित्रीले बताइन् ।

यो प्रकरणमा दोषी भनिएका तत्कालीन एसएसपी कुवेरसिंह रानालाई एमाओवादी सरकारकै पालामा आइजीपी बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment