Comments Add Comment

जेएनयुमा पीएचडी सकेर तन्दुरी पसल !

mamu-main

८ साउन, काठमाडौं । धेरै मानिसहरु यस्ता हुन्छन्, जसले आफ्नो परिवार पाल्नका लागि पैसा कमाउँछन् । तर, केही मानिसहरु यस्ता पनि हुन्छन्, जसले आफ्नो मन मुटुदेखि नै चाहेको काम गर्छन् । र, यसका लागि उनीहरुले अनौठो बाटो समात्छन् ।
विद्यावारिधी उपाधि हासिल गरिसकेकाले अरु जागिर नगरेर तन्दुरी ढावा सञ्चालन गर्छन् भने उनीहरु पक्कै पनि अरुका लागि उदाहरणीय बन्न सक्छन् । र, उनीहरु चर्चाका पात्र पनि बन्छन् । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका एक युवाले विश्वविद्यालयमा ढावा पसल खोलेपछि निकै चर्चा पाएका छन् ।
मामु नामले चिनिने शहदाज इब्राहिमीले जेएनयूबाट पन्ध्र वर्षअगाडि विद्यावारिधि गरेसँगै आफैंले विश्वविद्यालयमा ढावा सञ्चालन गर्ने निधो गरेका हुन् । निर्णय लिएको पन्ध्र वर्षपछि मामुले आफ्ना सहकर्मी, अन्य साथीभाइ तथा बाहिरी मानिससामु एक उदाहरण स्थापित गरेका छन् ।
विद्यावारिधि गरेर पनि तन्दुरी ढावा सञ्चालन गर्ने ती युवा भारतमा राष्ट्रियरुपमै चर्चामा छन् । त्यसैले त प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई आफ्नो सपथ ग्रहण समारोहमा समेत निम्तो गरे ।
विद्यावारिधि गरेपछि ५ सय भारुको लगानीमा ढावा खोलेका शहजाले त्यसपछि आफ्नो त्यो ‘वाइल्ड’ सपनाका बारेमा पछि फर्केर सोच्नु परेको छैन । उनी निरन्तररुपमा सफल भइरहेका छन् । उनको ढावामा सुपथ मूल्यमा खानेकुरा पाइने मात्र होइन, रमजानको इफतारका बेला जुनसुकै धर्मका मानिसलाई समेत निःशुल्क खाना खुवाइन्छ ।

dhaba
‘यदि तपाईं जेएनयू आउनुभयो भने तपाईले मामुको ढावा सोधे पुग्छ, तुरुन्तै ठाउँ पत्ता लगाइहाल्नुहुनेछ’, गर्वसाथ मामु भन्छन् ।
आफ्नो सपना कसरी पूरा भयो भन्ने बारेमा भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेससँगको कुराकानीमा मामुले भनेका छन्- ‘जब म बिहारको शेखपुरा जिल्लास्थित अरिहरी गाउँको एक मदरसामा पढ्थें, त्यतिबेला मलाई पढ्न मन लाग्दैनथ्यो । मलाई केवल खाना र उर्दू भाषामा मात्र रुची थियो । मैले कक्षा १२ मा पढ्दा होस्टेलको भान्से प्रमुख हरायो र त्यसपछि मैले आफैं मेरा स्कुलका केही साथीहरुलाई जम्मा पारेर दुइ प्रकारका तरकारी बनाएँ । पहेँलो दाल र चापटी २५ जनाका लागि मैले बनाएको थिएँ । स्कुलको यही जीवन नै मेरो सपना पूरा गर्ने बाटो बन्यो ।’
डा. मामु भन्छन्,- ‘सबैले पैसा कमाउँछन्, कम होस् वा बढी । मुख्य कुरो भनेको कुनै पनि मान्छे आफूले गरिरहेको श्रमप्रति सन्तुष्ट छ कि छैन भन्ने हो ।’
उनका लागि त्यो केवल सुरुवात मात्र थियो । तर, अगाडिको बाटो कठीन थियो । आफ्ना सुरुवातका दिनका बारेमा मामु भन्छन्, ‘सुरुमा मेरा अभिभावक, साथी तथा शिक्षकहरु मेरो कामको विरुद्धमा थिए । उनीहरु सबैले मलाई एउटै कुरा भन्थे कि तिमीले केवल ढावा मात्र खोल्नु थियो भने किन पढ्ने कुरामा यति धेरै पैसा सकेको ?’
कथाको बाटो मोडिन बाँकी नै थियो । फिल्ममा जस्तै । मुस्लिम समुदायका मामु एक हिन्दु युवतीसँग प्रेममा फसे, बिहे गरे र अहिलेकै ठाउँमा शरण लिएर बसे, जसले उनको भाग्य नै परिवर्तन गरिदियो ।
‘मेरो स्नातकोत्तरको पढाइ सकिएसँगै मैले हिन्दु युवतीलाई बिहे गर्ने निर्णय गरेँ, जोसँग मैले प्रेम गरेको थिएँ । धेरै प्रेम कथाहरुमा जस्तै धर्म मेरो पारिवारिक तनावको विषय बन्यो । दुबैका बाउआमाले विरोध गरेपछि हामीले क्याम्पसमै सुटुक्क बिहे गर्यौँ र विवाहित विद्यार्थी बस्ने डेरामा सर्यौँ’, आफ्नो कथा यसरी सुनाउँछन् उनी ।
अध्ययन पूरा गरेसँगै उनले हैदरावादमा टेलिभिजन पत्रकारिताको समेत अनुभव लिए र त्यहीँबाट आफ्नो खास सपना अनुभूत गरे ।

dhaba2
‘जेएनयूका ६ वर्षपछि म हैदरावाद गएँ र टेलिभिजन पत्रकारको रुपमा जागिर सुरु गरेँ । यो निकै नै रमाइलो थियो । तर, मैले जेएनयू जस्तो ठाउँ अन्त भेटिँन । जेएनयूमा केही त्यस्तो थियो, जसले मलाई तानिरह्यो । मलाई लाग्यो, म जेएनयूको यही ठाउँका लागि हुँ, यही सानो ढावा खोल्नकै लागि ।’ उनी भन्छन् ।
उनले त्यसपछि पछाडि फर्केर हेरेनन् र आफ्ना ढावा सपना पूरा गर्न अघि बढे । ‘मैले ढावा खोल्ने निधो गरेँ, किनकि मैले सोच्न सक्ने कुरा भनेको खालि खाना मात्रै थियो । म प्याज र गोलभेँडाको सलादको पारखी नै थिएँ । मैले प्याज र गोलभेँडालाई सीधा टुक्रामा मात्र होइन, विभिन्न कलात्मक टुक्रा बनाएर पनि काट्न सक्छु । मलाई लाग्छ खाना त सबैले बनाउँछन् तर केही फरक तरिकाले बनाउनुभयो भने तपाई विशेष बन्नुहुन्छ ।’ मामु सुनाउँछन् ।
अन्ततः मामुको ढावा सपना साकार भयो सन् २००० मा । र, खोलियो ‘मामुका ढावा’ । मामु भन्छन्, ‘बिहारी थाली र लिटी चोखा मेरो विशेष परिकार हो । जेएनयू मेरो घर हो । सोह्र वर्ष बितिसक्यो । अहिले धेरै छ आउन र जान ।’
‘म अहिले यहाँ आफ्नै हाकिम पनि हुँ । यहाँ मलाई सोध्ने कोही पनि छैन किन ढिला भयो भनेर । महिनाको अन्त्यमा तलब पाउँला भनेर कुर्नु पनि पर्दैन । कहिलेकाहीँ पैसा कमाउँछु र कहिलेकाहीँ हुँदैन । र, यस्तो हुँदा पनि मलाई चिन्ता लाग्दैन’ मामु भन्छन्, ‘हरेक दिन मैले मेरो कामलाई माया गर्छु ।’
इन्डियन एक्सप्रेसबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment