Comments Add Comment

सुष्मा स्वराज नेपाल आउँदा ३३ दलले विरोध गर्ने

८ साउन, काठमाडौं । नेकपा-माओवादीका नेतृत्वको ३३ दलीय मोर्चाले भारतद्वारा प्रस्तावित विद्युत व्यापार सम्झौता राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप भएको ठहर गरेको छ । साथै ३३ दलीय मोर्चाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणको समयमा विरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।

नेपालको जल विद्युत आयोजनामा १०० प्रतिशत भारतीय लगानी वा भारतीय निकायहरुसँग संयुक्तरुपमा सम्पन्न गर्ने प्रस्तावलाई सरकारले गोप्य राखी भित्रभित्रै सम्झौता गर्ने तयारी गरेको र माथिल्लो कर्णाली जलविद्युत आयोजनालगायतको डीपीए सम्झौतामा पनि हस्ताक्षर गर्ने भित्री योजना रहेको ३३ दलको दाबी छ ।

नेपालका करिव ६० स्थानमा भारतीय पक्षले सीमा मिचेको भन्दै ३ दलले महाकाली र सुस्ता क्षेत्रको मात्र सीमा विवाद रहेको र अन्य क्षेत्रमा नरहेको भनी नक्सामा दुबै पक्षले हस्ताक्षर गर्ने योजना रहेको थाहा हुन आएको समेत बताइको छ ।

‘राष्ट्रिय महत्वका विषयहरुमा राष्ट्रिय सहमति कायम नगरी हस्ताक्षर गर्ने अधिकार यो सरकारलाई नभएको हुनाले उपरोक्त विषयमा कुनै पनि सम्झौता वा सहमति नगरियोस् भन्ने हामी जोडदार माग गर्दछौं’ ३३ दलले भनेका छन् । ३३ दलले साउन ९ र १० गते रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् । साउन ९ गते भारतीय विदेशमन्त्री नेपाल आउने कार्यक्रम छ ।

साथै भित्तेलेखन, पर्चा र हाते बील वितरण, देशका विभिन्न भागमा गोष्ठी र विरोध प्रदर्शन आदि कार्यक्रम पनि तय गरिएको ३३ दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नोटः ३३ दलले सुरूमा साउन १९ र २० गते विरोध गर्ने भनिएपनि साँझ विज्ञप्ति जारी गरी भूल सुधार गरिएको भन्दै साउन ९ र १० मा विरोध प्रदर्शन गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment