Comments Add Comment

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा

Sushma-showraj-1

९ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार साँझ काठमाडौं आएकी छन् ।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन स्वराज शुक्रबार साँझ त्रिभुवन विमानस्थलमा आइपुगेकी हुन् । उनको स्वागतमा नेपाली समकक्षी महेन्द्र पाण्डे, भारतीय राजदूत रन्जित रेसहितका अधिकारी विमानस्थलमा पुगेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै स्वराजले भारत सरकारले नेपालसँगको सम्वन्धलाई उच्च प्राथमिकतामा राखेको बताइन् । ‘भारतमा सरकार बनेको दुई महिनापछि म यहाँ आएको छु, यसले पनि भारतले नेपाललाई कति प्राथमिकतामा राखेको छ भन्ने प्रष्ट हुन्छ’ स्वराजले भनिन्-‘तपाईलाई आश्चर्य लाग्नसक्छ कि जुन बैठकका लागि म आएको छु त्यो २३ वर्षपछि हुँदैछ । यसले पनि नेपाल भारतको प्राथमिकतामा राखेको प्रष्ट हुन्छ ।’

भारतीय विदेशमन्त्री स्वराजले भनिन्- ‘म आशा र अपेक्षा लिएर आएको छु कि मेरो भ्रमणले नेपाल र भारतको सम्वन्ध सुदृढ र सुमधुर हुनेछ ।’

२३ वर्षपछि हुन लागेको नेपाल-भारत संयुक्त आयोगको बैठक शनिबार काठमाडौंमा हुनेछ । बैठक १० बजे सुरु हुनेछ भने साँझ दुई देशवीचको साझा धारणा सार्वजनिक गरिनेछ । बैठकमा नेपालको नेतृत्व पराष्ट्रमन्त्री पाण्डे र भारतको नेतृत्व स्वराजले गर्नेछन् ।

भारतीय विदेशमन्त्री स्वराजले शनिबार नै राष्ट्रपति, प्रधानमन्त्री, पराष्ट्रपतिसहितका अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको छ । आइतबार पशुपतिनाथको दर्शन गरेर उनी दिल्ली फर्कनेछिन् ।

स्वराजको भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको तयारीका रुपमा समेत लिइएको छ । मोदी साउन १८ गते नेपाल आउने कार्यक्रम छ । तर, स्वराज र मोदीको भ्रमणमा ठूलो सम्झौताहरु भने नहुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment