Comments Add Comment

वैदेशिक लगानीमा भारतभन्दा चीन अगाडि

नविन अर्याल

८ साउन, काठमाडौं । नेपाल लगानीका लागि ‘भर्जिन’ मुलुक भए पनि विदेशी लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । विद्यमान राजनीतिक अस्थिरता र उर्जा अभावका कारण लगानी सुरक्षित नहुने देखेर विदेशीहरु नेपालमा लगानी गर्न हिच्किचाइरहेका हुन् ।

नेपालमा भित्रिने वैदेशिक लगानीको विश्लेषण गर्दा समग्रमा चीन सबैभन्दा अगाडि देखिएको छ भने नेपालको उर्जा क्षेत्रको लगानीमा भारत सबैभन्दा अगाडि रहेको छ । पछिल्लो वर्ष उर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको छ ।

आर्थिक वर्ष ०७०/०७१ मा अघिल्लो वर्षको तुलनामा विदेशी लगानी प्रतिवद्धता २० दशमलव २७ प्रतिशतले घटेको छ । उद्योग विभागमा यस अवधिमा २० अर्ब १० करोड ७४ लाख रुपैयाँको विदेशी लगानी प्रतिवद्धता आएको छ । जबकि अघिल्लो आर्थिक वर्षमा २५ अर्ब २२ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको थियो ।

कुन क्षेत्रमा कती लगानी ?

गएको आर्थिक वर्ष उर्जा क्षेत्रमा लगानी प्रतिवद्धता उल्लेख्य मात्रामा बढे पनि निर्माण, खनिज, सेवा र पर्यटन क्षेत्रमा लगानी प्रतिवद्धता स्वात्तै घटेको छ । अघिल्लो आर्थिक वर्ष उर्जामा ७ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएकोमा गत वर्ष ११ अर्ब १८ करोड ६६ लाख लगानीको प्रतिवद्धता आएको छ ।

dollar-donation_1

सानो लगानी गरेर पनि छोटो अवधिमै प्रतिफल हात पार्न सकिने पर्यटन क्षेत्रमा भने यस वर्ष लगानी स्वात्तै घटेको देखिन्छ । यस अवधिमा पर्यटन क्षेत्रमा १ अर्ब ३० करोड १५ लाख रुपैयाँमात्र लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । जबकी अघिल्लो वर्ष ३ अर्ब ९७ करोड २७ लाख रुपैयाँ पर्यटनमा लगानी गर्ने प्रतिवद्धता आएको थियो ।

विकास निर्माणको बाटोमा अगाडि बढिरहेको मुलुकमा निर्माण क्षेत्रमा पनि लगानी प्रतिवद्धता घटेको देखिन्छ । सेवा क्षेत्रमा आव २०६९/०७० मा ७ अर्ब ५४ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएकोमा समीक्षा वर्षमा घटेर ४ अर्ब ४७ करोड, निर्माण क्षेत्रमा अघिल्लो वर्ष ४ अर्ब लगानी प्रतिवद्धता आएकोमा गत वर्ष १ अर्ब ८५ करोड रुपैयाँमात्र लगानीको प्रतिवद्धता आएको छ ।

कुन देशबाट कुन क्षेत्रमा लगानी ?

पछिल्लो अवधिमा चीनबाट कृषि तथा वन, उर्जा, निर्माण खनिज, सेवा र पर्यटन क्षेत्रमा लगानी प्रतिवद्धता आएको छ । त्यस्तै चीनको स्वशासित क्षेत्र हङकङबाट सेवा र पर्यटन क्षेत्रमा लगानीको प्रतिवद्धता आएको छ ।

यस अवधिमा भारतबाट उर्जा, निर्माण, खनिज, सेवा र पर्यटन क्षेत्रमा लगानीको प्रस्ताव आएको छ भने जापानबाट कृषि तथा बन, उर्जा, निर्माण, सेवा र पर्यटन क्षेत्रमा लगानी प्रस्ताव आएको छ ।

दक्षिण कोरियाबाट पनि कृषि तथा वन, निर्माण, सेवा र पर्यटन क्षेत्रमै लगानीको प्रस्ताव आएको उद्योग विभागले जनाएको छ । अेमिरिकी र जापानीज लगानीको आकर्षण पनि कृषि तथा बन, उर्जा, निर्माण, सेवा र पर्यटन क्षेत्रमा देखिएको छ । कुक आइल्यान्डको एउटा प्रोजेक्टमार्फत ६६ करोड ६६ लाख रुपैयाँ उर्जा क्षेत्रमा लगानी प्रस्ताव आएको छ ।

कुल लगानीमा चीन अगाडि

पछिल्लो वर्ष चीनबाट सबैभन्दा बढी लगानी प्रस्ताव आएको छ भने दोस्रोमा भारत रहेको छ । नेपालका विभिन्न क्षेत्रमा लगानी प्रस्ताव गर्ने प्रमुख देशहरुमा दक्षिण कोरिया, कुक आइल्यान्ड, जापान, सिंगापुर, बेलायत, जर्मनी, बि्रटिस भर्जिन आइल्यान्ड, बंगलादेश रहेका छन् । यी १० देशबाट १८ अर्ब ८५ करोड २८ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ । अघिल्लो वर्ष यहाँबाट ५ अर्ब ८० करोड ९३ लाख रुपैयाँ लगानीको प्रस्ताव आएको थियो ।

उर्जामा आएको देशगत लगानी प्रतिवद्धता

देश परियोजना लगानी प्रतिवद्वता रोजगारी संख्या
चीन रू.४,२३,६०,००,००० ३३
कुक अाइल्याण्ड रू. ६६,६६,६०,००० ३५
भारत रू.५,९४,४५,३०,००० ८२२
जापान रू. १२,२५,००,०००
अमेरिका रू. २१,६९,७०,००० ४९
जम्मा १० रू.११,१८,६६,६०,००० ९३९

भारतबाट आर्थिक वर्ष ०६९/०७० मा २ अर्ब ८० करोड ९० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएकोमा समीक्षा वर्षमा ६ अर्ब ५४ करोड ८ लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

उर्जामा भारत पहिलो

उर्जा क्षेत्रमा लगानीको प्रतिवद्धता जाहेर गर्ने देशहरुमा सबैभन्दा अगाडी भारत देखिएको छ । गत आर्थिक वर्षमा उर्जा क्षेत्रमा ११ अर्ब १८ करोडको प्रस्ताव आएकोमा ५ अर्ब ९४ करोड रुपैयाँ भारतबाट मात्र आएको छ ।

त्यसैगरी, चीन दोस्रो स्थानमा रहेको छ । यहाँबाट ४ अर्ब २३ करोड रुपैयाँ उर्जा क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । त्यस्तै, उर्जा क्षेत्रमा लगानी प्रतिवद्धता जनाउने अन्य देशहरुमा कुक आइल्यान्ड, इन्डिया, जापान र अमेरिका रहेका छन् ।

नेपालमा विदेशी लगानी आकषिर्त नहुनुको मुख्य कारण उर्जा संकट रहेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका बताउँछन् । ‘जुन मुलुकमा १४/१५ घण्टासम्म लोडसेडिङ हुन्छ, त्यहाँ कसले गएर उद्योग लगाइदिन्छ, उद्योग चलाउन त उर्जा चाहिन्छ’ उनले अनलाइनखबरसँग भने- ‘विदेशी लगानीकर्ताको आकर्षण घट्नुका पछाडि यही कारण प्रमुख रहेको छ ।’

महंगो डिजेलबाट उद्योग चलाउँदा लागत बढ्ने हुँदा लगानीकर्ता हतोत्साहित हुने मुरारकाको भनाइ छ । सरकारले भने मुलुकमा लगानीको वातावरण सुधि्रंदै गएको र विदेशीहरु लगानी भित्रिन थालेको दाबी गर्दै आएको छ । तर, उद्योग विभागमा आएको विदेशी लगानी प्रतिवद्धता हेर्दा लगानीकर्ता आकषिर्त होइन्, विकषिर्त हुँदै गइरहेको प्रष्ट हुन्छ ।

Foreign investment commitment Region

सरकारले औद्योगिक विकास नचाहेको आरोप

विदेशी लगानीकर्ता आकषिर्त हुन नसक्नुमा उर्जा अभाव, समय अनुसार ऐन कानुन संसोधन हुन नसक्नु, नयाँ श्रम ऐन ल्याउन नसक्नु रहेको बताइएको छ । सरकारले औद्योगिक विकासकामा खास ध्यान नदिएको मुरारकाको आरोप छ ।

‘सरकार भाषणमा मुलुकमा औद्योगिक विकास गर्नुपर्छ भन्छ, तर व्यवहारमा औद्योगिक विकास भन्दा हतोत्साहित गर्नेतर्फ केन्द्रीत देखिन्छ’ उनले भने- ‘सरकारले अन्यत्र १२ घण्टा लोडसेडिङ गरिरहेका बेलामा औद्योगिक कोरिडोरहरुमा १५ घष्टा लोडसेडिङ गरेर उद्योगलाई समस्यामा पार्ने काम गरिरहेको छ ।’

स्वदेशी तथा विदेशी लगानी आकषिर्त गर्नका लागि संसद तथा सरकारसँग अडि्कएर बसेका आर्थिक क्षेत्रसँग सम्बन्धित २ दर्जन ऐन कानुन तत्काल पारित गरी कार्यान्वयनमा ल्याउनुपर्ने मुरारकाको जोड छ । सबैभन्दा पहिला औद्योगिक व्यवसाय ऐन र नयाँ श्रम ऐन ल्याउनुपर्ने आवश्कता रहेको उनले बताए । सबै सरकारले लगानीलाई सम्बोधन गर्ने, तर व्यवहारमा नउतार्ने प्रवृत्ति देखिएको उनको गुनसो छ ।

परियोजनाको आकार अनुसार लगानी प्रतिवद्धता

वर्ग परियोजना संख्या लगानी (रूपैयाँ) रोजगारी संख्या
ठूला १४ १२,००,२६,६०,००० १,४१८
मध्यम २७ ३,९३,८४,५०,००० १,४५२
साना २६४ ४,१६,६३,१०,००० ८,८५२
जम्मा ३०५ २०,१०,७४,२०,००० ११,७२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment