Comments Add Comment

पशुपतिका हातमा राप्रपाको भविश्य

यज्ञबहादुर कार्की

नेतृत्व विवादले करीव थला परेको अवस्थामा पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई संसदीय दलको निर्वाचनले अझ कमजोर र खण्डित तुल्याउने लक्षण देखिएको छ । अनुदारवादी कित्ताको मूलप्रवाह रहेको राप्रपाले गणतन्त्रलाई निशर्त स्वीकारेको हुनाले कांग्रेस र साम्यवादी इत्तरका जनताले वैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा यो दललाई आत्मसात् गरेका हुन् ।

Pashupati-samserदश वर्ष पहिले ०६१ सालमा विभाजित भएर राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी बने पनि राप्रपा र राजपा दोस्रो जनआन्दोलनका उपलब्धीलाई स्वीकारेर समयको एउटा अग्निपरीक्षामा खरो उत्रिए । परिवर्तनका उपलब्धी अर्थात् गणतन्त्र, संघीयता र सनातन सर्वधर्म सापेक्षतालाई सैद्धान्तिक आधार बनाएर राप्रपा र राजपा एकीकृत भएको वर्ष दिन नगुग्दै अध्यक्ष पदको विवादले राप्रपा पुनः फुटको संघारबाट गुजि्रएको छ । यो विवादले पार्टीका नेता, कार्यकर्ता र दलका हिमायती जनतामा निराशा, अन्योल उब्जिएको छ । गलत सन्देश गएको छ ।

विवाद र कलहले विभाजनको संघारमा पुगेको राप्रपामा संसदीय दलको निर्वाचनले पीडालाई थप असहृय बनाउने र घाउलाई अझ गाढा बनाउने प्रष्ट भएको छ ।

धेरै शुभेच्छुकको तर्क छ – राप्रपा संसदीय दलको निर्वाचन अत्यन्त गलत समयमा हुँदैछ । यही साउन १० गते हुने संसदीय दलको निर्वाचनले घाइतेे अवस्थाको राप्रपालाई मुर्छित तुल्याउने भविष्यवाणी पार्टीकै नेता र कार्यकर्ताको मुखाबाट सुनिएको छ ।

संसदीय दलका नेतामा दीपक बोहराको उम्मेदवारीको चर्चाले राप्रपालाई घोर दक्षिणपन्थी कित्तातिर घसार्दै लगेको लख काट्न अब कुनै गाह्रो छैन । एमालेको हालै सम्पन्न महाधिवेशनले शीर्ष नेताका दाहिने हात तर संदिग्ध चरित्रका कतिपय व्यक्तिहरुलाई अस्वीकृत गरी पाखा लगाएको पृष्ठभूमिमा राप्रपामा भने ‘दीपक युग’ प्रारम्भ हुनु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कटु व्यग्य गरेको छ । यो राप्रपाको लोकतान्त्रिक छविमा कालो धब्बा हो । गणतन्त्रको पक्षमा उभिने सूर्यबहादुर थापा र पशुपतिसमशेर राणाका लागि ठूलो चूनौति हो ।

सभासद् दीपक बोहरा प्रतिष्पर्धाविहीन अवस्थामा संसदीय दलको नेता बन्ने समाचार स्वयम् नै रहस्यमय लाग्दछ । सूर्यबहादुर थापा, जो संसदीय दलका सदस्यसमेत हुनुहुन्छ, पशुपति समशेर राणा, लोकेन्द्रबहादुर चन्द र डा. प्रकाशचन्द्र लोहनी जस्ता स्वच्छ र उच्च छवि तथा अन्तर्राष्ट्रिय व्यक्तित्व र ख्याति कमाएका नेताहरु नेतृत्वको राप्रपामा दीपक बोहराको अभ्युदयले पार्टीबारे जनतामा जाने सन्देशलाई नजरअन्दाज गर्न सकिँदैन । मूलतः यो कुराको हेक्का राख्नुपर्ने पहिलो दायित्व अध्यक्ष पशुपतिसमशेर राणाको हो ।

पार्टी अध्यक्ष र संसदीय दलका अध्यक्षको हैसियतले नेता राणाले जे चाहृयो त्यही गर्ने अवस्था हुँदाहुँदै उच्चस्तरीय कार्य सम्पादन समिति र केन्द्रीय कार्य समिति करीव-करीव ‘डिफङ्क्ट’ रहेका बेला कसको दबाबमा र कसलाई खुशी पार्न यो गलत समयमा संसदी यदलको निर्वाचनका लागि रोज्नुभयो भन्ने प्रश्न अहिलेसम्म रहस्यकै गर्भमा छ ।

राप्रपाभित्रको गूटगत समीकरण र सन्तुलनलाई वाहिरबाट हेर्दा ‘दीपक बोहराको अभ्युदय’ उहाँ स्वयम्कै लागि घातक हुनेमा कुनै दुई मत छैन । यो निर्वाचनपछि अध्यक्ष राणाको समर्थनमा रहेका सूर्यबहादुर थापा पक्षधर केन्द्रीय सदस्य र कार्यकर्ताले बाटो बदल्ने निश्चित नै छ ।

नेता लोकेन्द्रबहादुर चन्द र डा. प्रकाशचन्द्र लोहनी जस्ता हस्तीहरु असन्तुष्ट रहेको अवस्थामा राप्रपा अध्यक्ष राणाले आफूलाई केन्द्रीय अध्यक्ष बनाउने र समर्थन गर्ने जति सबैलाई विश्वासमा लिएर सहमतिका आधारमा पार्टी र संसदीय दल सञ्चालन गर्नुपर्नेमा एउटा सानो तप्कालाई खुशी तुल्याउने बाटो रोजेको प्रष्ट हुन्छ । अतः अझै पनि ‘ड्यामेज कन्ट्रोल’ गर्नका लागि अध्यक्ष राणाले चाहँदा समय र अवसर दुबै बाँकी रहेको दृष्टिगोचर हुन्छ ।

(कार्की राप्रपा नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment