Comments Add Comment

एसियाड तयारीका लागि करातेमा विदेशी प्रशिक्षक

९ साउन, काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा हुने १७ औं एसियाली खेलकुदअन्तर्गत करातेको तयारीका लागि नेपाल कराते महासंघले विदेशी प्रशिक्षक झिकाएको छ ।

एसियाड तयारीका लागि खेलाडीलाई प्रशिक्षण दिन मोनाकोका एन्जेलो स्पाटारोलाई झिकाइएको कराते महासंघका अध्यक्ष दावा गुरुङले जनाएका छन् । प्रशिक्षण शुक्रबारदेखि त्रिपुरेश्वरको दशरथ रंगशालामा रहेको मेन डोजोमा सुरु भएको छ । प्रशिक्षण २० दिनसम्म चल्ने छ ।

पाँच पटकका विश्व च्याम्पियन एन्जेलोले यसअघि नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा कराते टोलीलाई प्रशिक्षण दिएका थिए । त्यसबेला एैतिहासिक सफलता हात पार्ने क्रममा नेपालले करातेमा १४ स्वर्ण, १ रजत र १ कांस्य जितेको थियो । उनले १२ औं र १३ औं एसियाली खेलकुदमा पनि नेपाली कराते टोलीलाई प्रशिक्षण दिएका थिए । करातेतर्फ नेपालले १२ औं र १३ औं एसियाली संस्करणमा एक-एक कांस्य जितेको थियो । सीता राई र समरबहादुर गोलले कांस्य जितेका थिए ।

एसियाड तयारीका लागि हाल २१ खेलाडी प्रशिक्षणमा छन् । सबै खेलाडी गत जेठ २३ र २४ गते चितवनमा एसियाली खेलकुदका लागि भएको छनोट प्रतियोगिताबाट छनोट भएका खेलाडी हुन् ।

पुरुषमा विनोद महर्जन, मुकुन्द्र महर्जन, सुवास कार्की, डम्बरबहादुर आले मगर, लेखनाथ मैनाली, पर्शुराम बाँस्तोला, सानुकुमार रुम्बा, सुनील लामा, विजय लामा, दिगम्बरप्रसाद पन्त र दिवस श्रेष्ठ रहेका छन् । महिलामा मल्लिका थापा, संगीता डंगोल, सुमन लामा, सुभद्रा श्रेष्ठ विभूशा थापा, चन्चला दनुवार, सनी तामाङ, गंगादेवी अधिकारी, अनु अधिकारी र अर्मिला डिसी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment