Comments Add Comment

अभिभावकको रिसको असर छोराछोरीलाई, स्वेच्छा विद्यालयबाटै निकालिइन्

१० साउन, काठमाडौं । साँगास्थित नेपाल प्रहरी आवासीय उच्चमाध्यमिक विद्यालयका प्रिन्सिपलले अभिभावकसँगको रिसइवीका कारण एक छात्रालाई परीक्षाबाट वञ्चित गराएका छन्।
soyechaकक्षा १२ मा अध्ययनरत स्वेच्छा लुइँटेलकी आमा धेनुका सोही स्कुलमा नौ वर्षदेखि पुस्तकालय सहायकको रुपमा कार्यरत छिन्। धेनुका र स्कुल प्रशासनबीच चलेको अदालती लडाइँका कारण स्कुलले स्वेच्छालाई ‘निष्कासन’ गरेको पीडितको आरोप रहेको नागरिक दैनिकमा खबर छ। प्रिन्सिपल डा. नवरथ बानियाँले आमाको अदालती लडाइँलाई कारण देखाउँदै साउन ८ गतेदेखि आफूलाई स्कुलबाट निष्कासन गरिएको स्वेच्छाले गुनासो गरिन्।
‘साउन ७ गतेदेखि मेरो कक्षागत परीक्षा चलिरहेको छ तर प्रिन्सिपलले परीक्षाबाट समेत बञ्चित गराउनुभयो,’ स्वेच्छाले रुँदै भनिन्, ‘मलाई प्रिन्सिपलले तिम्रो ममीका कारण एक्सन लिएको भन्दै स्कुल आए कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ। आखिर मेरो के गल्ती छ?’
न्यायका लागि अदालत र मानवअधिकार आयोग धाइरहेकी स्वेच्छाले भनिन्, ‘साथीलाई समेत आमाको बारेमा नराम्रा कुरा सुनाएर प्रिन्सिपलले बेइज्जत गर्नुभएको छ।’ सोही विद्यालयमा कार्यरत आफ्नी आमालाई जबर्जस्ती निष्कासन गर्न लागिएपछि पुनरावदेन अदालतमा निवेदन दिएको उनले बताइन्।
उनले थपिन्, ‘अदालतले अन्तरिम आदेश जारी गरी हाजिर गराउनु भन्ने आदेश कार्यान्वयन नभएपछि अदालतको अपहेलनासम्बन्धी अर्को मुद्दा दर्ता भएको छ। दोस्रो मुद्दा दर्ता भएको थाहा पाएपछि उहाँहरुले रिस फेर्न मलाई निष्कासन गरिदिनुभएको हो।’
उनले आफूलाई विद्यालयका प्राचार्य डा. नवरथ बानियाँ र समादेशक डिएसपी राजुबाबु श्रेष्ठले साउन ७ गते बुधबार कार्यकक्षमा लगेर अनावश्यक तनाव दिँदै परीक्षाबाट वञ्चित गराएको बताइन्। साउन ८ देखि नै उनलाई प्रशासनले स्कुल प्रवेसमा रोक लगाएको उनको आरोप छ।
लुइँटेलले आफ्नो अधिकार खोज्न ममीले अदालतको साहारा लिँदा मेरो अधिकारमाथि विद्यालयले खेलबाड गरेको भन्दै शिक्षा लिन पाउने अधिकारबाट वञ्चित गर्ने सबैलाई कारबाही गर्न प्रधानमन्त्री र गृहमन्त्रीसँग आग्रह गरेकी छन्।
पीडितकी आमा धेनुकाले आफ्नो रिसले छोरीलाई प्रहार गरेको भन्दै पढ्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्न अदालत र मानवअधिकार आयोग पुगेको बताइन्। ०६२ सालमा कारारमा पुस्तकालय सहायक पदमा कार्यरत उनले ०६४ सालमा स्थायी नियुक्ति पाएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment