Comments Add Comment

सुष्मा स्वराजको सिउँदो र उदाउँदो भाग्य !

susma-soraj

१० साउन, काठमाडौं । शीरको मध्यभागबाट सिउँदो काटेर त्यसमा रातो सिंदुर लगाएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई झट्ट हेर्दा उनमा नेपाली महिलाको झल्को आउँछ । हाल नेपाल भ्रमणमा रहेकी ६२ वर्षीया मन्त्री स्वराज सानो संघर्ष एवं त्यागले विशाल भारतको महत्वपूर्ण जिम्मेवारीमा पुगेकी होइनन् ।
स्वराज भारतकी दोस्रोे महिला विदेशमन्त्री हुन् । भारत स्वतन्त्रताको ६७ वर्षको इतिहासमा इन्दिरा गान्धीपछि महिलाका रुपमा विदेशमन्त्री हुने शौभाग्य सुष्मा स्वराजलाई मात्रै मिल्यो । उनी यसअघि भारतको राजधानी दिल्ली प्रदेशको पहिलीे महिला मुख्यमन्त्री पनि हुन् ।
सानैमा छलाङ
पच्चीस वर्षको उमेरमै हरियाणा राज्य सरकारको क्याबिनेट मन्त्री बनेर कीर्तिमान कायम गरेकी सुष्माले हरियाणाका तीन पटकका मुख्यमन्त्री वंशीलाललाई चुनावमा हराएर राजनीतिक चर्चाको शिखर यात्रा शुरु गरेकी हुन् ।
यसबीच स्वराज सात पटकसम्म सांसदमा निर्वाचित भइसकेकी छन् । यसपटक मध्यप्रदेशको भिदिसा निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद सुष्मा स्वराज ब्राम्हण परिवारमा जन्मिएकी हिन्दू नारी हुन् ।
सिउँदोमा हरदम रातो सिन्दूर भरेर हिँड्ने स्वराज भारतीय जनता पार्टीको शीर्ष नेतृत्व मध्येमा पर्छिन् । उमा भारतीले बीचैमा भाजपा छाडेपछि सो पार्टीमा सुष्माका प्रतिस्पर्धी नै छैनन् ।

susma swaraj

गान्धी परिवारसँगको संयोग
२७ वर्षकै उमेरमा भाजपाको हरियाणा प्रदेश अध्यक्ष भएर पार्टी नेतृत्वमा प्रवेश गरेकी सुष्मालाई इन्दिरा गान्धीजस्तै भारतको भावी प्रधानमन्त्रीका रुपमा समेत लिने गरिन्छ ।
वाक चातुर्य र उच्च घरानिया लबजले उनको व्यक्तित्वलाई अझ उजिल्याउने गरेको भारतीय सञ्चारमाध्यमहरुले टिप्पणी गरेका छन् । उनको राजनीति इन्दिरा गान्धीको संकटकालबाट शुरु भएर सोनिया तथा राहुल गान्धीको ऐतिहासिक पराजयमा पुगेर उत्कर्षमा आएको छ ।
सन् १९९८ मा केन्द्रीय मन्त्रीबाट राजीनामा दिएर दिल्लीको पहिलो महिला मुख्यमन्त्री बनेकी स्वराजले एक वर्षपछि नै राजीनामा गरिन् । उनलाई सन् १९९९ को आम निर्वाचनमा भाजपाले कांग्रेस आइको पुस्तौनी गढ मानिने रायबरेली निर्वाचन क्षेत्रमा कांग्रेस अध्यक्ष सोनिया गान्धी विरुद्ध चुनाव लड्न पठायो ।
१२ दिनको छोटो अवधिभित्र पनि उनले धेरै राम्रो मत ल्याएर झिनो अन्तरमा सोनियासँग चुनाव हारिन् । त्यसलगत्तै सोनिया गान्धीलाई प्रधानमन्त्री बन्न नदिन सुष्मा सडक आन्दोलनमा निस्किइन् । विदेशी महिलालाई हिन्दूस्तानको प्रधानमन्त्री बनाउन दिनु हुँदैन भन्दै उनी भारतव्यापी माहौल सिर्जना गर्दै अनसनसमेत बसिन् । अन्ततः सोनिया प्रधानमन्त्री नबनी मनमोहन सिंहलाई अघि सार्न कांग्रेस आइ बाध्य भयो ।
मनमोहन सिंहको कार्यकालमा सुष्मा माथिल्लो सदन राज्यसभामा गइन् । यसपटकको आम निर्वाचन अघिसम्म उनी माथिल्लो सदनमा प्रमुख विपक्षी दलको नेता थिइन् ।
susmaपशुपतिनाथको कनेक्सन !
कट्टर हिन्दू नारी सुष्माको आराध्यदेव पशुपतिनाथप्रति अगाध आस्था रहेको उनले बताएकी छन् । तीन दिने नेपाल भ्रमणमा रहेकी सुष्माले आइतबार बिहान पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । स्रोतका अनुसार उनी साउने सोमबार पारेर पशुपतिको दर्शन गर्न चाहान्थिन् । तर व्यस्त तालिकाले गर्दा उनको त्यो चाहना यसपटक पूरा नहुने भएको छ ।
सुष्मा नेपाल हिन्दू राष्ट्र नै रहिरहेको हेर्न चाहिन्थन् । केही समयअघि नेपाली पत्रकारसँगको दिल्लीको भेटमा पनि उनले आफूले नेपाललाई हिन्दू राज्यका रुपमा देख्न चाहेको बताएकी थिइन् । तर, विदेशमन्त्रीको औपचारिक ओहोदामा उनले यसपटक पशुपतिनाथको दर्शन बाहेक हिन्दूत्वका लागि अरु केही पनि गतिविधि गर्ने छैनन् ।
मोदीकी प्रतिस्पर्धी
भाजपाभित्र नरेन्द्र मोदीकै प्रतिस्पर्धीका रुपमा रहेकी सुष्माले शुरुमा मोदीलाई प्रधानमन्त्री उम्मेदवारका रुपमा अघि सार्दा लालकृष्ण आडवाणीसँगै असन्तुष्टि जनाएकी थिइन् । तर, मोदीले उनैलाई विदेशमन्त्री बनाएर आफ्नो विरोधी स्वरलाई समायोजना गरेका छन् ।
सुष्मा यसअघि टेलिकम्युनिकेशन मन्त्री र स्वास्थ्यमन्त्री बनिसकेकी थिइन् । अटलविहारी बाजपेयी निकट मानिने सुष्माले आफ्नै पालामा भारतमा सामुदायिक रेडियोको संस्थागत विकास गराएकी थिइन् । भारतीय राजनीतिको शीर्षस्थान चुम्दै गरेकी स्वराज आफ्ना बिरोधीहरुको आलोचना गर्न भारतीय नेताहरुमै एक नम्बरमा गनिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment