Comments Add Comment

पुस्तक अंशः एम्बुस राख्ने रात

दीपशिखा
साँझपख आकाश खुल्यो र अस्ताउने बेलाको पहेंलो घाम टुपुल्कियो । चराचुरूङ्गीहरु खुसीले चिर्बिराउन थाले । धान सप्रिएर फाँट कम मनमोहक थिएन । माथि उत्तरको हिमाल टल्किएको थियो, सेता दाँत देखाएर मस्किएकी युवतीझैँ । कुखुराहरु पखेटा फट्फटाउँदै चर्न थालेका थिए ।
dipshikhaहामी रातिको तयारीमा लाग्यौँ । लामो डोरी, एक किलोमिटर लामो । त्यो फुकाउँदा नअल्झिओस् भनेेर म निकै चनाखो रहें । डोरी बोक्ने जिम्मा मेरै थियो र टाँग्ने पनि । डोरी टाँग्ने जुक्त्ति कमान्डरकै थियो । झमक्क साँझ पर्नासाथ हामी निस्कियौँ । कमान्डरले दिउँसै कार्यविभाजन गरिसकेका थिए ।
तार्गेट प्वाइन्ट आसपासमा सबैतिर निगरानी भयो । खासै खतरा देखिएन । कमान्डरले डोरीको एउटा मुख आफ्नो हातमा बाँधे । कमान्डर, माइन र एकजना मिलिसियालाई छोडेर हामी डोरी फुकाउँदै अघि बढ्यौँ । बाटोभन्दा माथिमाथि डोरी, कतै नलत्रियोस् भनेका थिए कमान्डरले । सहकमान्डर बलवान् अघिअघि, त्यसपछि हामी । उनी घरीघरी जिस्क्याउँथे साउतीमा ।
डोरीमा दुई-दुई सय मिटरमा गाँठो बनाइएको थियो- त्योभन्दा लामो अल्झन्छ । एउटा गाँठोमा एकजना कामरेड । जम्मा पाँचवटा पोस्ट । १ नं. पोस्टमा मिलिसियाका एक कामरेडलाई राखियो । २ नं. मा कामरेड बालक बस्नुभयो । ३ नं. मा अर्काे मिलिसिया । ४ नं. मा कामरेड बलसिंह र ब्यारेकको मुखैमा रहेको अन्तिम पोस्टमा सहकमान्डर । एउटा सानो बुट्यान, त्यसैमा छेलिएर लपक्क बसे बलवान् । दुस्मन निस्किएको थिएन । हामीले समग्र स्थिति र डोरीको अवस्था सही भएको डोरी तानेर सङ्केत गर्‍यौँ कमान्डरलाई ।
म कमान्डर भएकै ठाउँमा फर्किएँ । उनले डोरी मेरो पाखुरामा बाँधिदिए । जसरी प्रत्येक दुई सय मिटरको फरकमा अरुका पाखुरामा बाँधिएको थियो- ‘दुस्मन आएको’ सङ्केत गर्न एकपटक तान्ने । सङ्केत लगत्तै अर्कोपट्टि पठाउने र आफूले पाएको जनाऊ दिन सङ्केत पठाउनेपट्टि अर्कोपटक उसै गरी तानिदिने । ‘दुस्मन आयो, तर माइनिङ प्वाइन्टपट्टि गएको छैन’ भन्नलाई दुईपटक तान्ने । ‘दुस्मन फिर्ता भयो, अवस्था खतरामुक्त्त छ’ भन्नलाई तीनचोटि तान्ने । तर, १ नं. पोस्टसम्म दुस्मन आइनपुगुन्जेल हामी सचेतनाको सङ्केत मात्र पाउँथ्यौँ । हामीलाई रातभर लगाएर सिकाएका थिए कमान्डरले यो डोरीको जुक्ति ।
कमान्डर र अर्का मिलिसिया कामरेड भटाभट काम गर्दै गरेका । दुस्मन निस्किएको सङ्केत आयो केहीबेरमै । मैले कमान्डरलाई खुसुक्क कानमा भनेँ । काम रोकेनौँ । १ नं. पोस्टमा दुस्मन नआएसम्म काम गरिरहने योजना हिजै भएको थियो । काम सकिनै लाग्दा २ नं. पोस्टमा दुस्मन आइपुगेको सङ्केत आयो । २ नं. पोस्ट अर्थात् ४ सय मिटरको दूरीमा । कमान्डरले डोरी फुकाएर घाँटीमा बाँधेपछि म पनि माइन गाडेको ठाउँमा ‘क्यामोन्लाइज’ गर्न थालेँ । तिनै जना, हतारमा होइन, तर छिटोछिटो हात चलाइरहेका थियौँ । अर्को सङ्केत आयो- दुस्मन आयो, तर बसिरहेको छ । खास हतारो भएन । उसै पनि मूलबाटोको माइन खुलाउनैपथ्र्यो । रेसमी तारका केही टुक्रा छोड्यौँ । एउटा कुच्चिएको जर्किन ।
raat fulekoलगत्तै मूल बाटोभन्दा तल्लो ढिस्कोको माइन क्यामोन्लाइज गर्नतिर लाग्यौँ, बाटोको माइनदेखि ढिस्कोको माइनसम्म गाडिएको आधा इन्चको पाइप खुल्न हुन्नथ्यो । त्यो पाइपभित्र एउटा बलियो डोरी फिट गरियो । मूल बाटोको माइनमा बाँधिएको डोरी तानिएपछि ढिस्कोमा गाडिएको भुबिट्य्राब्स तानिन्थ्यो र ढिस्कोको माइन बिस्फोट हुन्थ्यो ।
डोरी नअल्झियोस् भनेर कमान्डरले आधा इन्चको पाइपभित्र डोरी राख्ने जुक्ति निकालेका थिए । सबै काम सकियो, भुबिट्य्राब्समा मूल बाटोबाट ल्याइएको डोरी बाँध्नेबाहेक ।
१ नं. पोस्टबाट दुस्मन हामी भएतिरै आएको सङ्केत आयो । म अलिकति हतासिएको थिएँ । कमान्डरले मेरो कुम च्याप्प समाए दुख्लाझैँ । भने ‘काम रोकिँदैन ।’
हामीलाई ढिस्कोमुनिको कुनामा राखेर उनी ढिस्कोको डिलमा लेप्सिए । डोरी मेरै हातमा थियो तर, उनले पनि समातेका । निकै बेरपछि डोरी एकपटक तानियो । कमान्डर मभन्दा अलि माथि थिए । बोलाउँ भने दुस्मन आएको होला । उठेर उनीपट्टि जानु त झन् खतरनाक हुन्थ्यो । फेरि तानियो । लगत्तै फेरि तानियो । म बिस्तारै घस्रेर कमान्डर भएको ठाउँमा पुगेँ । उनले सुस्तरी मलाई समातेर सङ्केत गरे । चियाए- दुस्मन माथिल्लो बाटोमा उभिएको !
कमान्डरले कानमा खुसुक्क भने, ‘कामरेडहरुलाई काम सकिएको जानकारी पठाउनुस् र खतराको पनि ।’ तर, कसरी ? ‘काम सकिएको’ र ‘खतरा छ’ भन्ने सङ्केत बनाइएकै छैन । म अलमल्ल परेँ । काम सकिएको जानकारी दिउँ उनीहरु डोरी बेर्दै हामी भएतिर आउलान् । मेरो दुविधा सायद कमान्डरले अघि नै बुझिसकेका थिए । सोधे, ‘यो अवस्थामा तपाईं के गर्नुहुन्छ ?’ म फेरि अल्मलिएँ । आकाश ताराले भरिएको थियो ढकमक्क, हामीसम्म मधुरो प्रकाश आएजस्तो । माथि बाटोमा दुस्मन ढुकेको थियो । कमान्डरको अनुहार चियाएँ, उनी मजति अलपत्र थिएनन् ।
उनले मेरो हातबाट डोरी लिए र एकपटक तानेर सङ्केत पठाए । उताबाट पनि सङ्केत पाएको जबाफ आयो । लगत्तै लगातार चारपटक झड्किने गरी ताने । १ नं. पोस्ट सायद अल्मलियो, केही सङ्केत आएन । कमान्डरले फेरि एकपटक जोडले ताने र डोरी हातबाट छोडिदिए ।
कानमा खुसुक्क सोधेँ, ‘यस्तो पनि सङ्केत छ र ?’
‘छैन, तर कामरेडहरुले हरेक अनौठा सङ्केतमाथि विचार गर्नेछन् ।’
‘गरेनन् भने नि !’
हातले मेरो टाउको सुमसुम्याए । केही बोलेनन् ।
आधा रात बित्यो । हामी दुम्किएका दुम्किएकै । कामरेडहरुले बुझेजस्तो छ, कमान्डरको सङ्केत । उनीहरु सायद आरभी प्वाइन्ट पुगे होलान् । दुस्मन बाटोमै बसिरहृयो । काम थोरै मात्र बाँकी छ, करिब १५ मिनेटको, तर नजिकै छ दुस्मन । खस्रक्क भए पनि चाल पाउँछ । मिलिसियाका एक कामरेड तल्लो कुनामा चुपचाप बसेका थिए ।
हामीभन्दा तल, खोलातिरबाट खस्रक्क आवाज आयो । दुई कान्लामुनिबाट एउटा मान्छे लुसुक्क कुनातिर लाग्यो । मैले हत्तपत्त पेस्तोल निकालेर सोझ्याएँ । कमान्डरले मेरो हात अँठ्याएर पर्खने सङ्केत गरेे । मेरो छातीको धड्कन बढेको थियो । कमान्डर र मसँगै डिलमा लेप्सिएका, उनी शान्त थिए- कान एकदमै ठाडा बनाइरहेका ।
तलतिर एउटा लाटोकोसेरो करायो । कमान्डरले ध्यान केन्दि्रत गरे । फेरि करायो, उनले मुन्टो सुताए र भने, ‘बलवान् कामरेड आउनुभयो ।’ लगत्तै मुन्टो उठाएर लाटोकोसेरोकै आवाज निकाले । तलबाट बिस्तारै त्यो मान्छे हामी भएतिर आयो- सहकमान्डर बलवान् । हामी कान्लामुनि जम्मा भयौँ । कमान्डरको अनौठो सङ्केत कामरेडहरुले बुझेछन् ।
सहकमान्डरले बाँकी कामरेडहरुलाई मूल बाटोको दुस्मनभन्दा अलि माथि तयारी अवस्थामा राखेछन् । उनले फेरि लाटोकोसेरो कराए । ‘किन ?’ दुस्मनभन्दा माथि रहेका साथीहरुलाई ‘काम हुँदै छ’ भन्ने जनाउ रहेछ । कमान्डरले काम सम्पन्न गर्ने निधो गरे । म उही डिलमा गएर दुस्मनको चियो गर्न थालेँ । बाँकी कामरेडहरु कमान्डरसँग काम सम्पन्न गर्न  लाग्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment