Comments Add Comment

‘बरु भोकै मर्छु तर, विदेश पस्दिँन’

रामचन्द्र नेपाल

१०, साउन, मलेसिया । ‘बरु भोकै मर्छु, तर विदेश त मरे पनि लाग्दिँन ।’- यसो भनिरहँदा महोत्तरी रामनगर-१ का २६ वर्षीय सतराजी महतोको अनुहार मलिनो देखिन्थ्यो ।

महतो जे सोचेर मलेसिया पसेका थिए, उनले त्यो त पाउन सकेनन्, तर, चार वर्षको मलेसिया बसाइमा उल्टै ऋणको भारी बोकेर उनी नेपाल फर्कँदैछन् ।
sataraji mahato_400परिवारका कान्छा छोरा हुन् सतराजी । उनी निकै जुझारु र मिहेनती पनि छन् । नेपालमा हुँदा पढाइमा पनि राम्रै लगाव थियो । तर, घरको परिस्थितिले गर्दा ९ कक्षाभन्दा माथि उक्लन सकेनन् ।

जेठा दाइ चिनी मिलका कर्मचारी, अर्का दाइ विदेशतिरै । घरमा बुबालाई प्यारालाइसिसले च्यापेपछि उनको पढाइ वीचैमा रोकियो । उब्जनी खासै नहुने १५/१६ कठठा जमीनमा उब्जिएको अन्नपातले उनको परिवार जेनतेन चल्दै थियो । बिहेबारी भएपछि सतराजीको एउटा छोरा पनि जन्मियो । नेपालमै केही गर्ने मन भए पनि उनलाई घर परिवारले पत्याएनन्, समाजले पत्याउने कुरै भएन । त्यसपछि उनी मलेसिया हानिए ।

सबैतिरबाट हरेश खाएका सतराजलाई बिदेश जान्छु भनेपछि चाँहि आफन्तजनले खुरुक्क ऋण हालिदिए । मेनपावरलाई ९५ हजार रुपैयाँ बुझाएर उनी चार वर्ष अघि मलेसिया पुगेका हुन् ।

रातदिनको खटाइले केही महिनामै उनी ऋण तिर्न सफल भए । त्यसपछि केही पैसा घरमा समेत पठाए ।

कम्पनीको समय अवधि सकेर नेपाल फर्कन थालेपछि भने उनका दुःखका दिन शुरु भए । गत वर्षको सेक्टेम्वर १४ तारिखदेखि एजेन्टले घर पठाउँछु भनेर उनलाई क्वालालम्पुर एयरपोर्टसम्म ल्यायो । घरमा आफन्तहरु उनको बाटो हेरेर बसेका थिए । तर उनी नेपाल र्फकन सकेनन् । वर्ष दिन बित्यो, उनी स्वदेश फर्कन सकेका छैनन् ।

एजेन्टले अनेक बाहाना बनाएर एयरपोर्टबाटै उनलाई फिर्ता लगेर कम्पनीमा काममा लगायो । उनले कम्पनी मालिकसँग कुरा राखे । तर, यो हाम्रो समस्या होइन, एजेन्टलाई भन्नु भनेर कम्पनी पन्छियो ।
फेरि गत डिसेम्वर २८ का यही प्रक्रिया दोहोरियो । एजेण्टले एयरपोर्टसम्म त देखायो, तर प्लेनको टिकट दिनुको साटो बसको टिकट दिएर एजेन्ट फिर्ता भयो । बस चढेर मलेसियाबाट कसरी नेपाल फर्कनु ?

यही प्रक्रिया दोहिरिएपछि सतराजी र अन्य कामदारले मिलेर कम्पनीसँग कुरा राखे । कम्पनीमा काम गर्ने पाँचै जना नेपालीको भिसा नलगाई काममा लगाइएको रहेछ ।

सबैलाई एजेण्टलेे सतराजीलाई जस्तै ब्यवहार गरेको रहेछ । घर पठाउँछु भनेर स्थानीय अध्यागमनले पुत्राजयाबाटै उनीसँगै काम गर्ने तीनजनालाई पक्राउ गरेपछि निकै सोधपुछ भएछ । बल्लतल्ल १९ दिन जेल परेर सतराजीका साथीहरु निस्किएछन् ।

यो घटनापछि सतराजी मलेसियामा घरको न घाटको भए । काममा जाउन् कसरी जाउन्, घर फर्कुन् कुनै उपाय भएन । फेवु्रवरी १० तारिखदेखि सतराजी र उनका साथीहरु घर र्फकने प्रतिक्षामा एजेन्टको आश गरेर बस्न बाध्य भए । उनका केही साथीहरु भने जेनतेन केही महिना अगाडि नेपाल फर्कन सफल भए ।

कम्पनीबाट बाहिरिएपछि क्वालालम्पुरमा घर जाने प्रतिक्षामा बस्दाबस्दै सतराजीले आधा वर्ष बिताए । यसक्रममा उनले मलेसियामा दुःख पाएका नेपालीहरुको पीडालाई नजिकैबाट जान्ने र बुझ्ने मौका पाए । कति रात त उनले भोकभोकै बिताए । कमाएर नेपाल पठाएको पैसा उल्टै मगाएर नेपाल फर्कने प्रतिक्षा गरिरहे ।

बल्लतल्ल उनको हातमा जुलाइ २४ तारिखका दिन घर जाने यात्रा अनुमतिपत्र प्राप्त भएको छ । यात्रा अनुमति पाएको दिन उनी निकै भक्कानिए । आँखाभरि आँशु बनाउँदै उनले अनलाइनखबरसँग भने- ‘बरु आफ्नै देशमा भोकै मर्छु, तर, अबदेखि कहिल्यै विदेश आउँदिन ।’

केहि समयपछि नै उनी नेपाल र्फकंदैछन् । नेपाल फर्किएपछि के गर्ने भन्ने टुगो लगाउन नसके पनि मजदुरी बाँच्ने योजना बनाएका छन् उनले ।
सतराजीका सपनाहरु धेरै थिए, तर पूरा भएनन् । उनी मलेसियालाई ‘अलविदा’ गर्दै भन्छन्- ‘मजस्तै कति नेपाली होलान् यस्तै दुख पीडामा विदेशमा बसिरहेका Û बरु गरीव-गरीव मिलेर देशमै केही गर्ने हो भने विदेशमा आउनुपर्ने थिएन कि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment