+
+

पार्टी बाहिर अढाइ करोड मान्छे छन् : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ११ गते १९:३८

Baburam

के हामीसँग भएका अहिलेका भएका यिनै पार्टी पर्याप्त छन् ? हाम्रो चाहना यिनै पार्टीहरुले गरिदिए हुन्थ्यो भन्ने हो । प्रजापरिषदपछि कांग्रेस आयो, कांग्रेसपछि एमाले र एमालेपछि एमाओवादी आयो । म आफैं एमाओवादीको नेता हुनुको नाताले यो पार्टीले नै नेतृत्व गरोस् भन्ने चाहन्छु ।

शायद नेपाली कांग्रेसका साथीहरुमा पनि ००७ सालदेखि क्रान्ति गरेको कांग्रेसले नै गर्न सक्छ भन्ने लाग्न सक्छ । मध्यमार्गमा बसेको सन्तुलनमा रहेको एमाले नै देशको नेतृत्व गर्न सक्छ भन्ने एमालेका साथीहरुलाई लाग्न सक्छ । पछि आएका जनजाति एवं मधेसवादी दलहरुलाई हामी पछि आएका हौं, हामीले पो गर्न सक्छौं भन्ने लाग्न सक्छ । यस्तो कामना गर्नु राम्रो कुरा हो, म यसको सम्मान गर्न चाहन्छु । तर, हाम्रो चाहनालेमात्रै इतिहास अगाडि बढ्दैन ।

यथार्थ के छ भने हाम्रा यी पार्टीहरुले आगामी दिनमा नयाँ कार्यभार पूरा गर्नुछ । यो कुरा हाम्रा पार्टीहरुको पुरानै सोच र संरचनाबाट सम्भव छैन । सबै पार्टीहरुले आफूलाई रुपान्तरण गर्नुपर्छ । दलहरुले आफूलाई बदल्न र रुपान्तरण गर्न सके भने राम्रै हुन्छ । हुँदाखाँदाको पार्टीलाई भत्काउन र बिगार्न आवश्यक छैन । त्यसैले हाम्रो पहिलो चाहना हामीले यिनै पार्टीलाई रुपान्तरित गर्नुपर्छ ।

हाम्रो दोस्रो प्रयत्न कुनै पनि पार्टीले आफूलाई रुपान्तरण गर्न सक्दैन भने विभिन्न पार्टीभित्र रहेका र बाहिर रहेका अग्रगामी सोच राख्ने व्यक्तिहरुले धु्रवीकरण गरेर नयाँ शक्तिको विकास गर्न सकिन्छ । हामीले आफ्नो पार्टीलाई रुपान्तरण गर्न सकेनौं र आ-आफ्नो पार्टीलाई छोड्न पनि नसक्ने हो भने इतिहासको आवश्यकताको यो प्रवाहलाई रोक्न कसैले पनि सक्दैन । यो अवस्थामा अढाइ करोड भन्दा बढी जनता त पार्टी बाहिर छन् ।

सबै पार्टीका सदस्य जोड्दा १२/१४ लाख होलान् । जबस संगठनहरु जोड्दा ५०/६० लाख होलान् । तर, तीन करोड नेपाली जनतामध्ये अढाइकरोड नेपाली जनता पार्टीभन्दा बाहिर छन्. । त्यसैले यी पार्टीहरुले आफूलाई रुपान्तरण पनि नगर्ने, पार्टीभित्रका राम्रा मान्छेहरु गोलबन्द भएर अगाडि पनि नआउने हो भने अढाइ करोड जनतावीच रहेका नेपालीहरुले आफूलाई संगठित गरेर एउटा नयाँ शक्तिका रुपमा विकास गर्नुपर्छ । इतिहासको यो युगीन आवश्यकतालाई हामीले पूरा नगरिकन सुखै छैन ।

इतिहासको गतिलाई कसैले रोकेर रोकिने कुरा हुँदैन । नदीलाई जतिसुकै ठूलो बाँधले छेके पनि त्यो बाँधलाई नाघेर पानी अगाडि बढेजस्तै इतिहासको गति पनि पार्टीहरुले छेकेर छेकिँदैन । समयको गतिलाई नसमाउने हो भने नयाँ शक्तिको विकास अवश्यंभावी छ । यो मेरो निश्कर्ष हो ।

मान्छेको सत्वलाई नचिन्नु गल्ती

अहिले पछाडि फर्केर हेर्दा हामीले एएटा गल्ती गरेकै रहेछौं, त्यो पाटोलाई सम्वृद्ध गर्नुपर्छ भन्ने मलाई लाग्छ । त्यो के हो भने मान्छे एउटा सामाजिक प्राणी त हो, तर, मान्छे फेरि आफैंमा एउटा विशिष्ट प्रकारको वस्तु पनि हो । यो सामान्य भौतिक वस्तुमात्रै होइन । एउटा चेतनाले युक्त मान्छे भनेको विशिष्ट प्रकारको वस्तु र विशिष्ट प्रकारको तत्व पनि हो ।

Baburam-bhattrai

मान्छेका आफ्ना सत्व हुन्छन्, सार्वभौम गुणहरु हुन्छन् । प्रकृत्तिप्रदत्त गुणहरु हुन्छन् । प्रत्येक मान्छेमा एउटा मनोवैज्ञानिक बनोट हुन्छ, उसमा अहम् हुन्छ, कामवासनालगायतका थुप्रै प्रवृत्ति हुन्छन्, जुन प्रकृतिले नै उसलाई दिएको हुन्छ ।

प्रत्येक मानिसमा भिन्न-भिन्न मात्रामा ती गुणहरु हुन्छन् । त्यसैले मान्छे एउटा सामाजिक वा वर्गीय प्राणी मात्रै भनेर समरुप अर्थमा लिने कुराले पनि यान्त्रिक भौतिकवादी चिन्तनलाई बढावा दियो । त्यसैले हामी कम्युनष्टिहरुले बीसौं शताब्दीमा गल्ती गरेको पक्ष भनेको प्रत्येक मान्छेका सत्व वा प्रकृतिप्रदत्त गुणहरु हुन्छन् भन्ने कुरालाई पनि ध्यान दिएर अगाडि बढाउन सकेनौं । यसलाई चिन्न सकेनौं भने सैद्धान्तिकरुपमै, वैचारिक र दार्शनिकरुपमा नै त्रुटी हुन्छ । र, यही कारणले गर्दा पनि बीसौं शताब्दिका समाजवादी सत्ताहरु असफल भए । माक्र्स, एङ्गेल्स, माओहरुले प्रक्षेपण गरेको जस्तो समाज अगाडि बढ्न नसक्नुको यो पनि एउटा प्रमुख कारण थियो ।

त्यसैले अब हामीले वर्गीय साथसाथै निवर्गीय एवं गैरवर्गीय पक्ष र मानवीय पक्षलाई पनि साथमा जोडेर समाजका अन्तरविरोधलाई हल गर्ने विचारको विकास गर्न सक्नुपर्छ । तर यसमा कति जोड दिने भन्नेमा बहस गर्नुपर्छ । बढी जोड गर्न थालियो भने यसले विचलनतिर लान सक्छ ।
मेरो विचारमा आर्थिक एवं वर्गीय पक्ष, गैरवर्गीय पक्ष र मानवीय पक्ष, तीनवटा विषयलाई विकसित गरियो भने अहिलेको विश्वमा रहेका वैचारिक समस्यालाई हल गरेर अगाडि जान सकिन्छ । नेपालको सन्दर्भमा पनि हामीले यो विचारलाई प्रस्थानविन्दु बनाएर अगाडि जानुपर्छ ।

सच्याउनुपर्ने मार्क्सवादका अन्य त्रुटीहरु

माक्र्सवादका अन्य कमजोरीहरुको कुरा गर्दा आर्थिकरुपमा पनि यान्त्रिक ढंगले सबै ठाउँमा उही गतिमा समाजवादको विकास गर्न सकिन्छ, बलपूर्वक, माथिबाट आदेश दिएको भरमा विकास गर्न सकिन्छ भन्ने यान्त्रिक भौतिकवादी त्रुटी रह्यो । पार्टी र सत्तामा पनि यही वर्गलाई मात्रै आधार मान्ने त्रुटीले गर्दा पार्टी र सत्ता पनि यान्त्रिक बन्न पुग्यो । यहाँनेर पनि त्रुटीहरु भए भन्ने मलाई लाग्छ ।

समाजको परिवर्तनलाई अगाडि बढाउनका निम्ति व्यक्ति एक्लैले सम्भव हुँदैन । त्यसैले अग्रगामी चेतना बोकेकाहरुले आफूलाई एउटा संगठिन संस्थाका रुपमा अगाडि सार्नैपर्छ । त्यो भनेको राजनीतिक पार्टी नै हो । राजनीतिक पार्टीका रुपमा आफूलाई संगठित नगरेसम्म परिवर्तनको प्रक्रियालाई नेतृत्व दिन सकिँदैन । हिजो इतिहासमा जुन प्रकारका पार्टीका परिपल्पना गरिए, खासगरी जुन किसिमको कम्युनिष्ट पार्टीको परिकल्पना गरियो, त्योभन्दा माथि उठ्न आवश्यक छ ।

हिजो लेनिनका पालामा जुन किसिमको अग्रदस्ताको अवधारणा अगाडि सारियो र त्यसको संगठनामत्मक ढाँचालाई जनवादी केन्द्रीयता भनियो, त्यो ढाँचालाई अब हामीले बदल्न आवश्यक छ ।

म के कुरा स्वीकार गर्छु भने समाजमा विभिन्न वर्गमात्रै होइन, एउटै वर्गभित्र पनि असमान चेतना हुन्छ । मान्छे-मान्छेवीचमा पनि फरक हुन्छ भनिसकेपछि त्यहाँ असमानता रहन्छ भन्ने कुरालाई स्वीकार्नुपर्छ । त्यस्तो अवस्थामा समाजलाई अगाडि बढाउनका निम्ति, क्रान्तिको नेतृत्व गर्नका निम्ति सबैभन्दा अगाडि बढेका अग्रगामी चेतना भएकाहरुले आफूलाई संगठित गर्नुपर्छ भन्ने कुरा सही छ । तर, हिजो अग्रदस्ताका नाममा केही मान्छेले, पार्टीको माथिल्लो ओहोदामा रहने मान्छेहरुले आफैंले आफैंलाई अग्रदस्ता घोषणा गर्ने र आफूलाई आजीवन त्यो पदमा राख्ने र जनवादी केन्द्रीयताको नाममा जनवाद अर्थात कार्यकर्ता र जनताको सहभागिता नरहने तर आफैंले मात्रै सबै शक्ति केन्दि्रत गरेर वैचारिकमात्रै होइन, सांगठानिक शक्ति, आर्थिक शक्ति, भौतिक शक्तिसमेत केन्दि्रत गरेर नयाँ वर्गमा आफूलाई परिणत गर्ने त्यो प्रकारको संगठनात्मक ढाँचाले अब हुँदैन ।

लेनिनको जनवादी केन्द्रीयताले काम गर्दैन

लेनिनले अगाडि सारेको जुन संगठनात्मक ढाँचा थियो, जसलाई स्टालिन र माओ हुँदै हाम्रै कम्युनिष्ट पार्टीले पनि अवलम्बन गर्‍यो, त्यो एउटा भीमकाय नोकरशाही संयन्त्रमा परिणत हुने, उच्च तहमा बसेकाहरुले आफूलाई उच्च वर्गमा परिणत गर्ने र आजीवन पार्टीको नेतृत्वमा बस्ने र उसमा सबै शक्ति केन्दि्रत गर्ने जुन एउटा परिपाटी रह्यो, त्यसले अब नयाँ समाजवादी आन्दोलनको नेतृत्व गर्न सक्दैन ।

पार्टीको परम्परावादी, नोकरशाही केन्द्रीयतावादी ढाँचालाई हामीले बदल्नुपर्छ । र, यसका निम्ति अग्रदस्ताको अवधारणालाई पनि विकसित र परिमार्जन गरिनुपर्छ । हाम्रोजस्तो समाजमा आर्थिक वर्गमात्रै होइन, क्षेत्र जाति र दलित लगायतको पनि समावेशी ढाँचा पार्टीमा ल्याउनुपर्छ ।

सर्वहारावर्गको ‘अधिनायकत्व’ नभनौं

सत्ताको हिसावले सर्वहारावर्गको अधिनायकत्व भनियो, कम्युनिष्ट सत्तालाई सर्वहारावर्गको अधिनायकत्व भनेर परिभाषित गर्ने क्रममा सर्वहारा वर्गको अधिनायकत्वको होइन पार्टीको अधिनायकत्व र पार्टीभित्र पनि निश्चित व्यक्तिको अधिनायकत्वमा जुन पतन हुन पुग्यो, त्यस्तो प्रकारको सत्ताको पनि अब काम छैन ।

अब सत्ताको हकमा पनि हामीले हिजोको जस्तो निश्चित केही व्यक्तिहरुकै नियन्त्रण रहने शोषण र दमनको साधनका रुपमा होइन, जनतालाई पूर्णरुपले जनवादको अधिकारको प्रत्याभूति गर्न सक्ने र सबैखालको उत्पीडनको छेकवार गर्न सक्ने त्यस्तो संयन्त्रका रुपमा सत्ताको आवश्यकता पर्छ ।

त्यसैले अधिनायकत्व भन्ने शब्द जसरी यतिबेला बदनाम हुन पुगेको छ, त्यसको सट्टामा हामीले अधिनायकत्व नभनिकन एउटा सत्ता भन्न सक्छौं । यो अधिनाकत्व भन्ने पदावलीले हिजोको सर्वसत्तावादी अर्थ दिने भएकाले यसलाई सर्वहारावर्गको सत्ता वा ग्राम्सीले भनेजस्तै सर्वहारावर्गको हेजिमोनी भन्ने अर्थमा पनि हामी परिभाषित गर्न हिच्किचाउनुहुँदैन । यो नगरी हिजोकै सत्ताको पुनरावृत्ति अब गराउन सकिँदैन ।

बीसौं शताब्दीमा रुस, चीन र भियतनामलगायतका देशहरुमा जुन प्रकारका सत्ताको अभ्यास गरियो, त्यही सत्तालाई दोहोर्‍याएर फेरि अहिले जनताको विश्वास जित्न सम्भव छैन ।

हामीले माओवादी युद्धकालमा नै एक्काइशौं शताब्दीको जनवादको विकास भनेर हामीले एकाधिकारवादी सत्ता स्थापना नगरिकन प्रतिस्पर्धात्मक तरिकाले आफ्नो श्रेष्ठता हासिल गरेर सत्ता सञ्चालन गर्ने र पार्टीभित्र व्यापक जनवादको अभ्यास गर्ने, एउटै व्यक्ति आजीवन पदमा नबस्ने, एउटै व्यक्तिमा सम्पूर्ण शक्ति केन्दि्रत नगर्ने र नेतृत्वलाई एउटा सत्ता र शक्तिको प्राधिकारभन्दा पनि विचारको प्राधिकारको रुपमा अगाडि सार्ने भन्ने अवधारणा अगाडि सारेका थियौं । यसैलाई लिएर हामी अगाडि जान सक्नुपर्छ ।

मैले भन्न खोजेको कुरा के हो भने पार्टी र सत्तासम्बन्धी अवधारणालाई पनि हामीले आमूलरुपमा परिवर्तन नगरिकन एक्काइशौं शताब्दिमा हामीले क्रान्तिको नेतृत्व गर्न सक्दैनौं ।

त्यसैले विचारको क्षेत्रमा, राजनीतिक कार्यदिशा र अर्थतन्त्रको क्षेत्रमा सार्थ पार्टी र सत्ताको क्षेत्रमा गुणात्मक विकास गरेर मात्रै हामीले एक्काइशौं शताब्दिमा नयाँ राजनीतिक पहल गर्न सक्छौं ।

हामीले जनवादी केन्द्रीयता भनेर जसरी भ्रष्टीकरण गर्‍यौं, त्यसको अन्त्य गरेर श्रमिकको प्रत्यक्ष निगरानी र हस्तक्षेप रहने पार्टी र उसको प्रत्यक्ष सहभागिता रहने पार्टी र सत्ताको विकास नगरिकन हामीले एक्काइशौं शताब्दीको क्रान्तिको नेतृत्व गर्न सक्दैनौं ।

(साउन १० गते शनिबार इटहरीमा वैकल्पिक विचार मञ्चले अायाेजना गरेकाे नयाँ शक्तिसम्बन्धी बहस कार्यक्रममा एमाअाेवादी नेता डा. भट्टरार्इद्वारा व्यक्त मन्तव्यकाे सारांश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?