Comments Add Comment

सरकारी कर्मचारी नै एनजीओ सञ्चालक !

१२ साउन, बझाङ । बझाङका अधिकांश गैरसरकारी संस्थामा निजामती कर्मचारी संलग्न छन् । कर्मचारी नै गैरसरकारी संस्था खोलेर अध्यक्षसहितको जिम्मेवार पदमा बसेका छन् । जिल्लामा निजामती कर्मचारीले यसरी खुलेआम नीतिनियमविपरीत काम गरिरहेको भए पनि यसको नियन्त्रणका लागि कतैबाट पनि पहल भएको छैन ।
स्थानीय तहमा नाम चलेका गैरसरकारी संस्था ‘सामाजिक तथा प्राविधिक विकास समूह’को अध्यक्षमा हेमन्तवाडा उपस्वास्थ्यचौकीका अहेव रमेश रोकाया छन् । यस संस्थाका अन्य पदमा पनि निजामती कर्मचारी छन् । यसैगरी साइपाल विकास समाज संस्थाका अध्यक्षमा जालपा उमाविका शिक्षक ज्ञानबहादुर खड्का छन् भने कोषाध्यक्षमा जिल्ला शिक्षा कार्यालयका कर्मचारी सुरेन्द्र कठायतसमेत चारजना सदस्य पनि कर्मचारी नै रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।
अर्को माउन्टेन भिलेज डेभ्लपमेन्ट संस्थामा बालविकास माविका शिक्षक केशबहादुर खातीसहित जिल्ला विकास समितिका कर्मचारीले अगुवाई गरेका छन् । दलित सहयोग समाजको सचिवमा बाठपाली मावि लेखगाउँका शिक्षक जयराज चलाउने छन् । प्रायजसो संस्थामा स्थानीय खरिदारदेखि अधिकृत र विद्यालयका प्रअसहित क्याम्पसका प्राध्यापक पनि आवद्ध छन् । गैर सरकारी संस्थामा दलित, जनजाति र महिलाको सहभागीता हुनुपर्ने प्रावधान भए पनि कतिपय संस्थामा एकै घरका धेरै सदस्य छन् ।
गैरसरकारी संस्था महासंघ बझाङका अध्यक्ष वीरेन्द्रबहादुर खड्काले भने अधिकांश संस्थामा निजामती कर्मचारी र शिक्षकहरु कार्यसमितिमा रहने प्रचलन भएको र यसलाई आउँदा दिनमा गैसस महासंघ मार्फत सुधार गर्ने बताए । निजमती सेवा ऐनको परिच्छेद ७ को दफा १७ मा सरकारी निकायमा सार्वजनिक पद धारणा गरेको व्यक्तिले कुनै पनि समूह वा समितिमा बस्ने कानुनी प्रावधान छैन् । कर्मचारी गैरसरकारी संस्थाको पदमा बसेको पाइएमा कानुनअनुसारको कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment