Comments Add Comment

नेपाल बारले हजार बालबालिकालाई निःशुल्क शिक्षा दिने

१२ साउन, काठमाडौं । नारामा सामाजिक अभियन्ता भने पनि उद्देश्य राजनीति रहेको भनेर आलोचना खेप्दै आएको नेपाल बार एसोसिएसन अब भने एउटा ‘पुण्य’ कार्यमा जुटेको छ। कामको प्रकृति पनि मुद्दामामिला वा कानुन व्यवसायभन्दा भिन्न छ- गरिब तथा असहाय बालबालिकालाई नि:शुल्क शिक्षा।
बारले बालबालिका शिक्षाका लागि विदेशी सहयोग पनि लिने छैन। कानुनी सहायता कार्यक्रममा भने बारले विदेशी सहयोग लिँदै आएको छ। गत शुक्रबार बसेको बार कार्यसमिति बैठकले एक हजार गरिब बालबालिकालाई नि:शुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो। बारले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका लागि नयाँ भर्नादेखि सबै खर्च जुटाइदिने अन्नपूर्ण पोस्टमा खबर छ।
यसलाई ‘बालबालिका शिक्षा’ अभियान नाम दिइएको छ। बार महासचिव सुनिल पोखरेलले अभियानअन्तर्गत नयाँ भर्नादेखि नै एक हजार विद्यार्थीले खाजा, झोला, कापी, किताब, जुत्तालगायतको खर्च पाउने बताए। उनले यो पहिलो चरणको अभियान रहेको जानकारी पनि दिए।
दुर्गम जिल्लाका कतिपय विद्यालयमा साना बालबालिका दिउँसोको खाजा खान नपाएर कक्षा छाडेर घर फर्किने गरेका छन्। सहयोग रकमबाट स्कुले बालबालिकालाई केही मात्रामा भए पनि भोकबाट राहत मिल्ने बारको अपेक्षा छ।
‘आउने वर्षदेखि बालबालिकाका लागि सहयोग अझ बढाउँदै लैजाने उद्देश्य छ’, पोखरेलले भने, ‘बार कानुन व्यवसायीको हकहितमा काम गर्ने मात्र नभई सामाजिक अभियन्ता पनि हो। केही फरक काम गरौं भन्ने भावनाले यस्तो निर्णय लिएका हौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment