Comments Add Comment

‘सुकुम्वासीका सभासद’ भन्छन्- बित्थामा काठमाडौं आइएछ !

savasad

१२ साउन, काठमाडौं । उमेरले ६४ वर्षमा हिँडिरहेका एमाले सभासद चन्द्रबहादुर गुरुङ तिनै व्यक्ति हुन्, जसले एक साताअघि संसदीय दलको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई सुकुम्वासी बस्तीमा डोजर लगाएको आरोप लगाए । संविधानसभामा आएको आठ महिनासम्म खासै चर्चामा नआएका गुरुङ सुकुम्वासीको विषयलाई लिएर एकाएक किन चर्चामा आए ? यसका पछाडि रोचक तथ्य छ ।
‘मलाई त बित्थामा सभासद बनेर काठमाडौं आएँछु जस्तो लाग्न थाल्यो, संविधानसभामा मैले कोही पनि कम्युनिस्ट देखिँन,’ मोरङ क्षेत्र नं ८ का सभासद गुरुङले अनलाइनखबरसँग भने-‘छाडेर हिँडौं भने जनताले संविधान बनाउन पठाएका हुन्, बसिराखौं भने गरीब र सुकुम्बासीको आवाज बोलिदिने संविधानसभामा एकजना पनि देखिँन, सबै सामन्त मात्रै देख्छु ।’
सभासद गुरुङ आफैंचाहिँ सुकुम्वासी होइनन् । मोरङको इन्द्रपुर गाविस (हाल नगरपालिका घोषित) का स्थायी बासिन्दा गुरुङसँग एकताका १५/२० विघा जमीन थियो । अहिले पनि खोर्साने चोक, हरैंचा मोड र इटहरीलगायतका स्थानमा घडेरी छँदैछ । तर, तीन कार्यकाल गाविस अध्यक्ष चलाइसकेका गुरुङ सुकुम्वासीमाथि अन्याय भयो भने सहनै सक्दैनन् । ‘मेरो त रगत तातेर आइहाल्छ, सुकुम्वासी पनि हामीजस्तै मान्छे हुन्, उनीहरुले के खान्छन्, छोराछोरी कसरी पढाउँछन् ?’ गुरुङ भन्छन्- ‘सुकुम्वासीको घर भत्काउने सामन्तहरुलाई त कुट्नुजस्तै लाग्छ, तर के गर्नु, ६४ वर्ष पुगें ।’
सुकुम्बासी आन्दोलनमा १० वर्ष जेल
सामान्य लेखपढ गरेका सभासद गुरुङले सुकुम्बासी आन्दोलनकै क्रममा १० वर्ष जेल जीवन बिताएका छन् । यही जेल जीवनले उनी सुकुम्वासीप्रति नरम हुने गरेका हुन् । मोरङको बेलबारीस्थित काकुम झोडा निवासी नेपाली कांग्रेसका पूर्वमन्त्री दिवानसिंह राईको हत्या अभियोगमा गुरुङ ०२९ सालको प्रारम्भदेखि ०३८ सालसम्म जेल परेका हुन् ।
संयोग कस्तो परेको छ भने यतिबेला उनी स्व. दिवानसिंह राईकी छोरी लक्ष्मी राई पनि सभासद बनेकी छन् । ‘लक्ष्मीसँग संविधानसभामा भेटघाट वा कुराकानी हुँदैन ?’ अनलाइनखबरको प्रश्नमा गुरुङ भन्छन्- ‘मैले चिन्छु, तर उनले मलाई त्यसरी चिनेकी छैनन्, उनी कांग्रेस भएकाले आफ्नै ठाउँमा बस्छिन्, म एमाले सभासदको ठाउँमा बस्छु ।’
दिवानसिंहको हत्यामा आफूहरुलाई पञ्चले फसाएको गुरुङको तर्क छ । ‘दिवानसिंहले सुकुम्वासीको जग्गा कब्जा गरेका थिए, त्यसैले पाँच हजारजति किसानले घरमा घेरा हाले । भीडले पिट्दा पिट्दै उनको मृत्यु भयो, भीडमा क-कसले हान्यो थाहै भएन,’ सभासद गुरुङले अनलाइनखबरसँग भने-‘पछि बुझ्दा पञ्चहरुले वामपन्थीलाई प्रयोग गरेर कांग्रेसमाथि आक्रमण गराएका रहेछन्, एउटै गोलीले दुईवटा शिकार गर्ने पञ्चहरुको योजना रहेछ ।’
बिराटनगर जेलमा बस्दा लव प्रधान, सूर्यमान कन्दङ्वा, भक्तराज कन्दङ्वा लगायतसँग संगत गरेका सभासद गुरुङ एमाले सल्लाहकार मोहनचन्द्र अधिकारीलाई आफ्नो राजनीतिक गुरु मान्छन् । विगत सम्झँदै उनले अनलाइनखबरसँग भने- ‘मोहनचन्द्र झापाबाट दक्षिणी गाविस हुँदै बेलबारीसम्म हिँडेर आउनुहुन्थ्यो, उहाँकै प्रभावमा हामी किसान आन्दोलनमा लागेका हौं ।’
दोस्रो संविधानसभामा गुरुङ कांग्रेसका रमेशजंग रायमाझी र एमाओवादीका पूर्वराज्यमन्त्री गोपी अछामीलाई हराएर मोरङ-८ बाट सभासद बनेका हुन् ।
‘वामदेव त सामन्त पो रहेछन्’
एमाले सभासद गुरुङ गृहमन्त्री वामदेव गौतमसँग अत्यन्तै चिढिएका छन् । ‘यी वामदेव त कम्यनिस्ट हैन, सामन्त पो रहेछन्, सुनसरी मोरङ सिंचाइ आयोजनाको नहरमा रहेका पाँचहजार सुकुम्वासीमाथि वर्षायाममा डोजर चलाइयो,’ उनले भने-‘सुकुम्वासीमाथि डोजर लगाउने मान्छे पनि काँहि कम्युनिस्ट हुन्छ ?
संविधानसभामा गुरुङ सामाजिक न्याय तथा मानवअधिकार समितिमा छन् । ‘वामदेवलाई आइतबार समितिमा बोलाएका थियौं, उनी आएनन् र प्रहरीका आइजीलाई पठाएछन्,’ गुरुङले भने- ‘आइजीले सुकुम्बासीको बस्ती उठाउँदा मानव अधिकार उल्लंघन नभएको लेखेर बैठकमा ल्याए, सुकुम्वासीको बस्ती उठाउँदा मानव अधिकार उल्लंघन हुन्छ कि हुँदैन ? कस्तो जवाफ हो यो आइजीपीको ?’
गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म प्रहरीले सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरको डिलमा बसोबास गर्ने पाँच हजार बासिन्दाको झुपडीमा डोजर लगाएपछि सभासद गुरुङ आक्रोशित भएका हुन् ।
गुरुङ सुकुम्वासीको पक्षमा बोलिदिने मान्छे संविधानसभामा एक्लै भएको बताउँछन् । एमालेकै गृहमन्त्री भएका बेला सुकम्वासीलाई डोजर लगाउने हो भने अर्कोपटक एमाले चौथो पार्टी बन्ने उनले चिन्ता व्यक्त गरे ।
सुकुम्वासीहरु मोरङको ८ नम्बर क्षेत्रका बासिन्दा नभई अन्य क्षेत्रका भए पनि आफूले उनीहरुको पक्षमा एक्लै आवाज उठाइरहेको उनी बताउँछन् ।
एमालेमा उनी माधव नेपाल र झलनाथ खनाल पक्षधर हुन् । केपी ओलीले गुण्डाहरुको संरक्षण गरेको उनको आरोप छ । मोरङमा पर्शुराम बस्नेतका कारण एमाले बदनाम भएको उनको भनाइ छ । ‘मलाई माधव नेपालले सभासद बनाएका हुन्, तर म काम नपरी नेपालको घरमा जान्न, चाकडी मलाई मन पर्दैन,’ गुरुङले कुराकानीको बिट मार्ने बेलामा थपे- ‘वर्षायाममा घर भत्काइएका सुकुम्वासीलाई राहत दिलाउने कुनै उपाय छैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment