Comments Add Comment

मध्यराति ज्ञानेन्द्र र कोमल ‘समर प्यालेस’ सरे

१२ साउन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र छोरा पारस र गर्मीलाई छल्न आइतबार राति नागार्जुन जंगलमा अवस्थित दरबारमा सरेका छन् । दरबारका ज्योतिषहरुको सल्लाह र उनीहरुले निकालेको साइत अनुसार राति १० बजेपछि निर्मल निवासबाट पूर्वराजारानीले पाइतो सारेका हुन् । उनी बिरामी पूर्वरानी र अंगरक्षक तथा केही सहयोगीसहित नागार्जुनस्थित ‘समर प्यालेस’मा पुगेका छन् ।gyanendra-and-komal

हिमानी दुबैतिर

सरकारले उपलब्ध गराएको नागार्जुन दरबारमा उनी करीव तीन महिना बस्ने पूर्वराजाका एक सहयोगीले बताए । यसबीचमा उनी आमा रत्नको जन्मदिनमा भदौ ४ गते नारायणहिटी दरवारमा फर्किनेछन् । बुहारी हिमानी भने निर्मलनिवासमै छोराछोरीका साथ रहने छिन् । यद्यपि उनी यसबीचमा नागार्जुन र निर्मल निवास दुबैतिर रहन सक्ने पनि स्रोतले जनाएको छ ।

स्रोतका अनुसार विदाको अवसरमा नातिनातिना र बुहारी हिमानीलाई ज्ञानेन्द्रले नागार्जुनमै बोलाउनेछन् । पारस साउन १९ वा २० मा काठमाडौं आउनेछन् । बेखर्ची भएपछि थाइल्याण्डमा पारसलाई नेपाली साथीभाइले सहयोग गरेको स्रोतले जनाएको छ ।

साउन १७ मा पारसको पेशी

पूर्वयुवराज पारस थाइल्याण्डको अदालतमा साउन १७ गते उपस्थित हुनेछन् । उनी लागु औषध गाँजा सेवन गरेको र ओसार पसारको समेत अभियोग झेलिरहेका छन् । उनको प्रवेशाज्ञाको अवधि साउन २१ गते सकिने भएकाले त्यसअघि नै नेपाल आउन लागेको उनका निकट सहयोगी किशोरी महतोले जानकारी दिए ।

दुई वर्षपछि नागार्जुन

पारस नेपालद आउन लागेपछि ज्ञानेन्द्र निर्मल निवास छाडेर नागार्जुनतर्फ लागेको स्रोतले जनाएको छ । पूर्वराजारानी हेमन्त ऋतुको अवसरमा बिगतमा जस्तै यसपटक पटक पनि नागार्जुन दरबारमा केही महिना रहने उनका निजी सचिव सागर तिमल्सिनाले बताए । ‘अघिल्लो वर्ष उहाँहरु जानुभएन, नत्र परम्पराजस्तै हो’ उनले भने । तत्कालीन सरकारले नारायणहिटीबाट हटाएपछि नागार्जुन पसेका ज्ञानेन्द्र दुई वर्षदेखि त्यता गएका थिएनन् ।

पूर्वराजाले नागार्जुन दरबारमै आफू निकटस्थहरुसँग भेटघाट गर्ने भएका छन् । उनले राजनीतिक विषयमा पनि विभिन्न दल सम्बद्ध व्यक्ति, बरिष्ठ पत्रकार र निकट सहयोगीहरुलाई पालैपालो नागार्जुन बोलाउने स्रोतले जनाएको छ । नागार्जुनमा शिशिर बास र हेमन्त बास नामका दुई बंगला रहेका छन् ।

दरबारको सफाइ

पूर्वराजारानी नागार्जुन बस्ने भएपछि त्यहाँ हेरचाहमा बस्ने कर्मचारीले दरबारको सरसफाइ तथा रंगरोगन गरेका छन् । नागार्जुन दरबारको संरक्षणमा सरकारले नै १५ जना कर्मचारी खटाएको छ । दरबार क्षेत्रको सम्पूर्ण सुरक्षा भने नेपाली सेनाले गरेको छ । यो दरबार रहेको वन क्षेत्र नेपाल सरकार माताहतमा ल्याइसकिए पनि तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारले ज्ञानेन्द्रको मागबमोजिम उनलाई बस्नका लागि दरवार उपलव्ध गराएको थियो ।

नेपाल ट्रष्टका सचिव श्रीधर गौतमका अनुसार करीव २९ हजार रोपनी क्षेत्रफलमा फैलिएको नागार्जुन जंगलभित्रको दरवार ज्ञानेन्द्रलाई बस्नका लागि दिइएको हो । यद्यपि यो जंगल हाल शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्छ । काठमाडौं र धादिङ जिल्लाको भूभाग ओगटेको सो क्षेत्रको करीव २७ रोपनी जग्गामा बनाइएका बंगला तथा संरचनाहरु पूर्वराजालाई प्रयोगका लागि दिइएका छन् । ‘यस क्षेत्रको आम्दानी भने नेपाल ट्रष्टमै आउँछ’ सचिव गौतमले भने ।

नागार्जुन दरबारको कहानी

कुल २७ रोपनी क्षेत्रफलमा रहेको नागार्जुन दरबार परिसरमा मुख्य भवनका साथै अन्य केही सहायक भवन पनि छन् । पाहुनाका लागि अलग्गै घर बनाइएको छ । जहाँ ज्ञानेन्द्रले राजा भएका बेला सात दलका नेतासँग त्यहीँ वार्ता गरेका थिए । तर, पत्रकारलाई भने त्यस बेला पनि बालाजुमाथिको मूल सडकमै रोकिएको थियो । त्यहाँभित्र दरबारको फोटो कसैलाई खिच्न दिइएको छैन ।

दरबार भनिए पनि रानीवनभित्र बनाइएका संरचनाहरु कटेज शैलीका छन् । पूर्व राजपरिवपारका लागि बनाइएको रिसोर्टलाई नै दरवार भनिएको दरबारमा लामो समय काम गरेका सानुभाइ डंगोल बताउँछन् । ‘पूर्वराजा र राजपरिवारले शिकार खेल्ने, आराम गर्ने र गर्मी छल्ने उद्देश्यले रिसोर्ट बनाइएको हो’ उनले भने ‘त्यहाँको मनोरम वातावरण र आनन्द भूल्न नसकेर ज्ञानेन्द्रले तत्कालीन सरकारसँग नागार्जुन मागेका हुन्’ ।

दाइजोमा जंगल

वन्यजन्तु विभागका अनुसार नागार्जुन जंगलमा चितुवा, जरायो, चित्तल, मृग, घोरल जस्ता जंगली जनावरहरु पाइन्छन् । यद्यपी ती जंगली जनावरको शिकार अहिले पूर्वराजाले गर्न पाउँदैनन् । जंगबहादुर राणाका पालामा शिकारका लागि प्रयोग गरिएको राजधानी नजिकैको यो घना जंगल तत्कालिन राजा पृथ्वी वीरविक्रम शाहको पालामा चन्द्र शमसेरले राज परिवारलाई दिएका थिए ।

पृथ्वी वीरविक्रम शाह र त्रिभुवनले राणाकै छोरीहरु बिहे गरेकाले दाइजो स्वरुप जंगल दिएको इतिहासकार पुरुषोत्तमशमसेर जबराले उल्लेख गरेका छन् । यो जंगलभित्र भवनका संरचना भने त्रिभुवनका पालामा बन्न थालेका थिए । अहिलेको नागार्जुन दरवार भने ०४१ सालमा तत्कालीन राजा वीरेन्द्रले निर्माण सम्पन्न गराएर ‘समर प्यालेस’का रुपमा प्रयोग गरेका थिए ।

अझै पनि कब्जा

तत्कालीन राजा वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रले सो जंगल र दरवार आफ्नो नाममा पारेका थिए । तर, गणतन्त्र स्थापनापछि सबै दरवार राष्ट्रियकरण गरिएसँगै यो दरबार र जंगल पनि राष्ट्रियकरण भएको सचिव गौतमले बताए । सरकारले २७ रोपनी क्षेत्रफलको दरवारमात्र ज्ञानेन्द्रलाई उपयोग गर्न दिएको भए पनि दबारबाहेक नागाजुर्ृन जंगल प्रवेशको मूल गेटमै सैनिक र सशस्त्र प्रहरी तैनाथ छन् ।

उनीहरुले सर्वसाधारणलाई भित्र प्रवेश गर्न दिँदैनन् । ‘नागार्जुन जंगलमा अझै गणतन्त्र आएको छैन, अहिले पनि सेना र प्रहरीले प्रवेश गर्न दिँदैनन्’ जितफूरफेदीका प्रकाश श्रेष्ठले भने ‘अहिले पनि दरवारले नै कब्जा गरेको छ’ । पूर्वराजारानी नागार्जुन दरवार प्रवेश गरेपछि झनै कडाइ गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment