Comments Add Comment

हेपाटाइटिस बी : कलेजोको समस्याबारे जानिराखौं

डा. अनन्त श्रेष्ठ

सन् १९६७ मनोवैज्ञानिक ब्लुम्बर्गले ‘हेपाटाइटिस बी’ को जीवाणु पत्ता लगाएका थिए । यसै शोधकार्यको कारण उनले नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरे । विश्वभर नै हेपाटाइटिस बी कलेजोको सिरोसिस र क्यान्सरको प्रमुख कारक भएको तथ्य स्थापित भयो ।आज विश्वभर वर्षेनी हजारौंको संख्यामा हेपाटाइटिस बी सम्बन्धी शोधकार्यहरु प्रकाशित हुने गर्छ र विगतको चालीस वर्षमा हामीले हेपाटाइटिस बीसम्बन्धी धेरै ज्ञान हासिल गरिसक्यौं ।ananta-shrestha

हेपाटाइटिस बीबाट सबैभन्दा बढी प्रभावित ताइवान र चीनजस्ता राष्ट्रमा जनचेतना, सफल खोप कार्यक्रम र समयमा नहुने उपचारका कारण यसबाट संक्रमित हुनेहरुको संख्यामा धेरै ह्रास आएको देखिन्छ । यसैकारण कलेजोको क्यान्सरमा पनि कमी आएको छ ।नेपालमा पनि कलेजोको क्यान्सरको प्रमुख कारण हेपाटाइटिस बी नै हो । यहाँ करिब साढे दुई लाख मानिसहरु हेपाटाइटिस बीबाट दीर्घकालीन रुपमा संक्रमित छन् । यो संख्या बढ्न नदिन र कलेजोको सिरोसिस र क्यान्सरको रोकथाम गर्नका निम्ति नेपालमा हेपाटाइटिस बी विरुद्ध अझै लामो र कठिन युद्ध लड्नुपर्ने देखिन्छ ।

हेपाटाइटिस बीलाई पाखा लगाउन चिकित्सा पद्दतिको मात्र विकास भएर हुँदैन, समाजमा रहेका हरेक आम नागरिकको पनि उत्तिकै भुमिका हुन्छ । यसकार्यमा सबैभन्दा ठूलो बाधा भनेको समाजले हेर्ने दृष्टिकोण र यस सम्बन्धी जनचेतनाको अभाव नै हो । हाम्रो समाजमा यो रोगले विकराल रुप लिन थालिसकेको छ । तर, यस संक्रमणबारे सही ज्ञान र चेतनाको अभाव देखिन्छ । लक्षण केही देखानपर्ने हुनाले संक्रमित व्यक्तिलाई पनि आफूमा हेपाटाइटिस बी भएको बारेमा थाहा हुँदैन । कुनै कारणवस रगत परीक्षणबाट यो संक्रमण देखिएको खण्डमा समाजबाट तिरस्कृत हुने डरले पीडित आफ्नो रोग लुकाउन बाध्य हुन्छन् । यहाँ सम्बन्धित विशेषज्ञसम्म पुग्न नपाउनेहरुको संख्या पनि धेरै छ ।

हेपाटाइटिस बी शतप्रतिशत निको पार्ने विज्ञापन दिएर लामो समयसम्म बेकारका महंगा औषधि बेच्ने ठगहरुको जमात पनि सक्रिय छ । यस्तो सञ्जालमा परेर ठगिनेहरुको पनि कमी छैन । एक्काइसौं शताब्दीमा पनि यस रोगका बारेमा सही सूचना भन्दा बढी गलत हल्लाकोे शिकार हुनु दुर्भाग्य हो । त्यसैले हामी सबैले हेपाटाइटिस बीका बारेमा एकपटक सोच्नुपर्ने देखिन्छ । आज विश्व हेपाटाइटिस दिवस संसारभर यही नारा छ, ‘हेपाटाइटिस – फेरि एक पटक सोचौं’ । यसलाई बुझौं र यस रोगबारे सही प्रकारले सुचित होऔं ।

हेपाटाइटिस बी सरुवा रोग हो । तर, हात मिलाएर, अंकमाल गरेर, जूठो खाएर यो रोग सर्दैन । समाजमा र कार्यस्थलमा हुने अन्तरक्रियाबाट यो रोग एक व्यक्तिबाट अर्कोमा सर्दैन । तसर्थ, हेपाटाइटिस बी भएका व्यक्तिलाई पक्षपातपूर्ण व्यवहार गर्नु अमानवीय काम हो । अझै पनि हेपाटाइटिस बी यौन रोग हो र यो रोग सबैलाई यौन क्रियाकलापबाट सर्ने गर्छ भन्ने धारणासमेत देखिन्छ । तर, वास्तविकता त्यो होइन ।

नेपालमा भएका अनुसन्धानबाट देखिन्छ कि प्रायःजसो यो रोग ६ वर्ष देखि १५ वर्षको उमेरमा (स्कुल जाने उमेर) मा लाग्ने गर्दछ । संगै खेल्दा, घाउ चोट लाग्दा बालबालिकाहरु बीच एकआपसमा यो रोग सर्ने गरेको तथ्यांकले बताउँछ । त्यसै गरी, हेपाटाइटिस बी लागेको व्यक्तिका दाजुभाइ, दिदी बहिनीमा पनि यो रोग देखिने गरेको छ । तर, एक जनालाई लागेको खण्डमा श्रीमान-श्रीमतीमा भने यो रोग सरेको देखिँदैन ।

तसर्थ, नेपालको सन्दर्भमा यो रोगलाई यौन रोगको रुपमा हेर्न उचित देखिँदैन । यसबारे हामी सबैले फेरी सोच्न र आफ्नो दृष्टिकोण परिवर्तन गर्न जरुरी छ । हेपाटाइटिस बी लागेको धेरैजसो व्यक्तिमा कुनै लक्षण देखिँदैन । कसलाई यो रोग छ वा कसलाई छैन भने परीक्षण नगरी थाहा पाउन संभव छैन । प्रायः विदेश जाने क्रममा वा शल्यक्रिया गर्न अगाडि रगतको परीक्षण गर्दा वा रक्तदान गर्ने क्रममा यो रोग देखिने गरेको पाइन्छ ।

शुरुको अवस्थामा कुनै संकेत नदेखाए पनि, हेपाटाइटिस बीले धमिराले काठ खाए झैं बिस्तारै बिस्तारै कलेजोलाई बिगार्दै लान्छ । लामो समयसम्म यो जीवाणु सक्रिय रहेर कलेजोलाई क्षति गर्दै गरेमा कलेजो कडा हुने (सिरोसिस) र कलेजो को क्यान्सर हुने सम्भावना हुन्छ । त्यसैले, कुनै लक्षण नभए पनि आफूलाई हेपाटाइटिस बी छ वा छैन, परीक्षण गरेर हेर्न उचित हुन्छ । तर, हेपाटाइटिस बी देखिने बित्तिकै आफूलाई कलेजोको सिरोसिस वा क्यान्सर हुन्छ नै भनेर निराश हुनुपर्ने अवस्था पनि छैन ।

औसतमा भन्नुपर्दा हेपाटाइटिस बी लागेका मानिसमध्ये करिब २५­४० प्रतिशतमामात्रै कलेजोको सिरोसिस र क्यान्सर हुने गरेको देखिन्छ । हेपाटाइटिस बीका जिवाणु सक्रिय रहेर लामो समयसम्म कलेजोमा क्षति पुर्‍याइरहेको अवस्थामा मात्र यी समस्या आउने गर्दछ । यदि यो जीवाणु निस्त्रिmय रहेमा यसले कलेजोलाई हानी पुर्‍याउँदैन र यस्तो अवस्थामा सिरोसिस र कलेजोको क्यान्सर हुने सम्भावना अत्यन्त न्यून रहन्छ ।

एकपटक हेपाटाइटिस बीले दीर्घकालीन संक्रमणको रुप लिएपछि यो आजीवन नै रहिरहन्छ । हाल उपलब्ध भएका औषधिबाट यो संक्रमण निर्मूल हुने अवस्था छैन । तर, यो जीवाणु सक्रिय रहेको खण्डमा औषधिका माध्यमबाट यसलाई निस्त्रिmय पारेर यसबाट हुन सक्ने सम्भावित जटिलताहरुबाट बच्न भने सकिन्छ । तर, यो जीवाणु पहिले नै निस्कृय अवस्थामा रहेको खण्डमा कुनै पनि औषधिको जरुरत हँंदैन । किनभने औषधिको प्रयोगबाट पनि यो जीवाणुलाई निस्त्रिmयमात्र पार्न सकिन्छ ।

हाल विश्वभर हेपाटाइटिस बीका लागि ६ प्रकारका एन्टीभाइरल र इन्टरफेरन इन्जेक्सन मात्र प्रभावशाली देखिएको छ । तर, कुनै वैज्ञानिक आधार नै नभएका थुप्रै औषधिहरु पनि नेपालमा प्रयोग हुने गरेको छ, र यस्ता औषधि प्रायः योग्यता बिनाका चिकित्सा क्षेत्रमा काम गर्ने व्यक्तिबाट दिइन्छ । यस्ता औषधि वर्षौंसम्म प्रयोग गर्न लगाएर मोटो रकम उसुल्ने केही गिरोह नै सक्रिय देखिन्छन् । यी कारणहरुले गर्दा सबैले आप\mनो विवेक प्रयोग गरेर, हेपाटाइटिस बी बारे फेरि एकपटक सोच्न जरुरी देखिन्छ ।

समाजमा भएका गलत धारणाहरु सच्याउनका निम्ति, हेपाटाइटिस बीबाट संक्रमितहरु माथि हुने भेदभावको अन्त्यका निम्ति, अज्ञानताको अन्त्य गरेर हेपाटाइटिस बी बारे सचेत हुनका निम्ति, कलेजोको सिरोसिस र क्यान्सर हुनबाट बच्नका निम्ति, गलत उपचारबाट बचेर वैज्ञानिक आधारमा उपचार गर्नका निम्ति हेपाटाइटिस बीबारे फेरि एकपटक सोच्न जरुरी भइसकेको छ । कमसेकम आज विश्व हेपाटाइटिस दिवसको उपलक्ष्यमा भए पनि, एकदिनका लागि यसबारे कुरा गरौं ।

(लेखक निजामती कर्मचारी अस्पतालमा कलेजो रोग विशेषज्ञका रुपमा कार्यरत छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment