Comments Add Comment

मोदीसँग भेटवार्ता गर्न इच्छुक छौं : बैद्य माओवादी

१२ साउन, काठमाडौं । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा भेट्न आफ्नो पार्टी इच्छुक रहेको बताएका छन् । विदेशमन्त्री सुष्मा स्वराजसँग वार्ता गर्न चाहे पनि नभेटेकोमा आफूहरु आश्चर्यमा परेको उनले बताए ।

CP-gajurelरिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा माओवादी उपाध्यक्ष गजुरेलले भने-‘भारत सरकारको हामीसँग वार्ता गर्ने के नीति छ, त्यसमा पनि भर पर्छ । तर हामी भने वार्ता गर्न सधैं तयार छौं ।’

भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदा आफुहरुले विरोध नगर्ने उनले बताए । गजुरेलले भने-‘पशुपतिनाथको दर्शन गर्न आउने भारतीय प्रधानमन्त्रीलाई विरोध होइन, हामी स्वागत गर्न चाहन्छौं ।’ आफूहरु भारत विरोधी नभएको भन्दै उनले भारतीय सरकारसँग केही असहमति रहे पनि भारतीय जनता र राजनीतिक दलहरुसँग भने राम्रो सम्बन्ध रहेको दावी गरे ।

गजुरेलले सन् १९५० को नेपाल भारत सन्धी पुनरावलोकन गर्ने सहमति सकारात्मक रहे पनि यसको कार्यान्वयन हेर्न बाँकी रहेको बताए । पानी र विद्युतमा नेपालीको अधिकार रहने गरी उर्जा व्यापार सम्झौता हुँदा आफूहरुलाई कुनै आपत्ति नरहने समेत उनले बताए । उनले भने-‘नेपालको हितमा जलस्रोत सम्झौता होस भन्ने चाहन्छौं । पानी र विद्युतमा नेपालीको अधिकार स्थापित हुनुपर्छ । यी विषयमा राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्छ ।’

एमाओवादीसँगको कार्यगत एकता नटुट्ने स्पष्ट पार्दै माओवादी उपाध्यक्ष गजुरेलले प्रचण्ड र बाबुराम भट्टराईको विवादमा आफहरु नफस्ने बताए । पार्टी भित्रका विवाद समाधानको चरणमा रहेको र अब विशेष महाधिवेशनबाट सबै समस्या समाधान हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment