Comments Add Comment

बाबुरामको उत्तरआधुनिकतावादी झण्डा !

Gopal_Kirati-गोपाल किराती

उत्तरआधुनिकतावादी विचार कम्युनिष्ट आन्दोलन र नीजि जीवन समेतबाट वितृष्णहरुद्वारा प्रतिपादन गरिएको खतरनाक आत्मसर्पणवादी विचारधारा हो । प्राध्यापक ज्याक डेरिडा यसका प्रतिपादक हुन् । भाषा र साहित्यको विश्लेषण भन्दै उनले उत्तरआधुनिकतावादी दर्शन निर्माण गरे । डेरिडाको पछिल्लो प्रखर उत्तराधिकारी फ्रान्सीस फुकुयामा हुन्, जो अमेरिकी राष्ट्रिय योजना आयोगका अध्यक्ष थिए ।

स्टालिनको निधनसँगै निकिता ख्रश्चेभको नेतृत्वमा सोभियत संघमा प्रतिक्रान्ति लगतै डेरिडाहरुले त्यस्तो विचार प्रतिपादन गरे । सर्वहारावर्गको पेरिस कम्युनमा तीस हजार कम्युनार्डहरुको बलिदान भयो । तत्कालीन रुसमा पनि पटक-पटकको बलिदानबाट लेनिनको नेतृत्वमा सन् १९१७ मा समाजवादी अक्टोबर क्रान्ति भयो । लगतै आन्तरिक रुपमा पुनरुत्थानवादी तथा वाह्य रुपमा चौध मुलुकको हस्तक्षेप विरुद्ध सोभियत सत्ताले गृहयुद्ध लड्नु पर्‍यो । दोस्रो विश्वयुद्धमा हिटलरको साम्राज्यवाद विरुद्ध सोभियत सेनाले मात्र सतासी लाखको संख्यामा बलिदान गर्‍यो । यसरी महान् बलिदानबाट स्थापित सर्वहारावर्गको सत्तामा अन्ततः प्रतिक्रान्ति हुने नै भएपछि क्रान्ति नै किन ? डेरिडाको प्रश्न रह्यो । परिणाममा क्रान्तिको अन्त्य, इतिहासको अन्त्य आदि निश्कर्षमा पुगेर त्यसलाई उत्तरआधुनिकतावादको नाम दिए ।

उत्तरआधुनिकतावाद वस्तुतः विघटनवाद हो । त्यसले सबै पक्ष, सबै क्षेत्र र सबै मानिसलाई विघटित हुन निर्देशित गर्छ । (नेपाली सहित्यमा यसलाई विनिर्माणवाद भनेका छन् । यसको अभिव्यक्ति धन कमाऊ, खाऊलाऊ, मोजमस्ती गर भन्ने हुन्छ ।) तर, यस्तो विघटनको निर्देशन साम्राज्यवाद र विस्तारवादले भने किमार्थ पालन गर्दैन । जसले पालन गर्दछ, विचरा त्यो वर्गीय, राष्ट्रिय वा लैंगिक हिसावले शोषित उत्पीडित हुन्छ । यी उत्पीडितहरुको विघटनले अन्ततः साम्राज्यवादलाई नै भारी सहयोग पुर्‍याउँछ । त्यसैले उत्तरआधुनिकतावाद माक्र्सवाद-लेनिनवाद-माओवाद विरुद्ध खडा भएको एक खतरनाक विघटनकारी विचार हो । सच्चा माक्र्सवादी क्रान्तिकारीहरुले त माक्र्सवादका आधारभूत सिद्धान्तहरुको परिधिभित्र रहेर क्रान्ति र प्रतिक्रान्तिको वैज्ञानिक समीक्षा गर्दै अघि बढ्ने काम गर्नुपर्छ । महासागर जस्तो मानव इतिहासमा एकाध प्रतिक्रान्ति हुँदैमा त्यसबाट भाग्ने र उत्पीडक साम्राज्यवादलाई मैदान खाली गरिदिने मुर्खता कम्युनिष्ट क्रान्तिकारीहरुले गर्दैनन् ।

के नेपालमा साम्यवाद संभव छ ? निरन्तर क्रान्तिको माओवादी सिद्धान्त अन्तर्गत अध्यक्ष प्रचण्डको नेतृत्वमा २१ औं शताब्दीमा जनवादको विकासबारे अवधारणा प्रस्तुत गरेर पार्टीले यसको सकारात्मक जवाफ दिएको छ । अर्थात् सर्वहारावर्गले सत्तामा पुग्न अघि क्रान्ति, सत्तामा पुगेर पनि क्रान्ति, जवसम्म उत्पीडनको अन्त्य हुँदैन तवसम्म निरन्तर क्रान्ति एवं एकता-संघर्ष-रुपान्तरण, मुख्यतः रुपान्तरणको विधिबाट २१ औं शताब्दीमा जनवादको विकास गर्दै विश्व समाजवादी व्यवस्था निर्माणको ढोका खोल्ने उद्घोष गरिएको छ । अतः पृथ्वी घुम्ने नियम मानव समाज विकास/रुपान्तरणमा पनि अनिवार्य लागु हुने तथ्यका सामु नेपालमा क्रान्ति अवसंभावी छ ।

डा.भट्टराईको उत्तरआधुनिकतावादी छलाङ

काठमाडौंबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा लेखी सकियो कि डा.बाबुराम भट्टराई नेपालमा वुर्जुवा गणतन्त्र स्थापनाका लागि मात्र माओवादी कम्युनिष्ट बन्नुभएको हो । उहाँको राजनीतिक लक्ष्य पुरा भइसकेको छ र त्यसैले उहाँ एकीकृत नेकपा -माओवादी)लाई चरम् वुर्जुवाकरण गर्ने, यदि त्यसो हुन नदिए ध्वस्त पार्ने उद्योगमा हुनुहुन्छ । आफ्नो विचार अनुसार भट्टराई प्रचण्ड नेतृत्वको माओवादी पार्टीलाई अव इतिहासको वाधक ठान्नुहुन्छ । एकीकृत नेकपा माओवादीमा उत्पन्न समस्याको चुरो कारण यही हो ।

त्यसरी डेरिडादेखि शुरु भएको उत्तरआधुनिकतावादको झण्डा अहिले नेपालमा डा. भट्टराईले जोड्तोड्ले उठाइरहनु भएको छ । जसको पछिल्लो परिस्कृत व्याख्या The end of history and last man शीर्षक आफ्नो पुस्तकबाट श्री फुकुयामले गरेका छन् । ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ अर्थ लाग्ने फुकुयामाको इतिहासको अन्त्य साम्राज्यवाद विरोधी राष्ट्रिय मुक्ति र सर्वहारा क्रान्तिको अन्त्यको घोषणा हो भने त्यो अन्तिम मान्छे अमेरिकी साम्राज्यवाद नै हो । डा.भट्टराईले माक्र्स, लेनिन, माओको रचना अध्ययन गर्न र त्यसबाट शिक्षा लिएर अघि बढ्नुको सट्टा फुकुयामा महोदयको त्यही The end of history and last man लाई गुरुत्तर ग्रन्थ मान्न पुग्नुभएको छ । त्यसैले पार्टी र क्रान्तिमा जटिलता थपिएको छ ।

तत्कालीन नेकपा (माओवादी)को फुन्टीवाङ्ग वैठकले “क्रान्तिकारी रुपान्तरणको प्रक्रियालाई नयाँ उचाइमा उठाउँदै रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरौं !” शीर्षक प्रस्ताव सहित गुणात्मक फौजी संघर्षमा केन्दि्रत हुनासाथ लालध्वजको नामबाट भट्टराईले चार बुँदे र तेह्र बुँदे वितण्डा शुरु गर्नुभयो । त्यसको व्यवस्थापनमा आयोजित पोलिटव्युरोको लावाङ वैठकद्वारा स्वीकृत राजनीतिक प्रतिवेदनमा भनिएको छ “केन्द्रीय समितिको गत वैठकमा लामो वहस छलफल सहित एकमतद्वारा लिइएका ऐतिहासिक निर्णयहरु कार्यान्वयनको सर्वाधिक सम्बेदनशील क्षणमा केन्द्रीय समितिको समग्र वैठक र त्यसका महत्वपूर्ण निर्णयहरुको विरोध गरेर क.लालध्वजले अन्ततः सिंगो पार्टीप्रति अविश्वास जाहेर गर्ने तथा प्रकारान्तरले प्रत्याक्रमणको योजनालाई नाकारात्मक प्रभाव पार्ने अत्यन्त गैरजिम्मेवार तरिका अपनाउनु भएको छ ।” (के दोस्रो संविभानसभा निर्वाचनको समीक्षा वैठकयता पनि डा.भट्टराईको त्यही पार्टी पुननिर्माण अभियानलाई नकारात्मक प्रभाव पार्ने तरिका भइरहेको छैन र ?) “पार्टीमा विश्वास गर, जनतामा विश्वास गर” भन्ने माओको विचार विपरित उभिने भट्टराईलाई त्यही प्रतिवेदनमा भनिएको छ “व्यक्तिवादी चिन्तन, अराजकतावादी कार्यशैली, वौद्धिक दम्भ……” भट्टराईका समस्या हुन् ।

भट्टराईका क्रियाकलापहरुले पार्टी अन्तरसंघर्षलाई वर्गसंघर्षको सत्रुतापूर्ण स्वरुप दिने खतरा उत्पन्न गरेको भन्दै पोलिटव्युरोको उक्त प्रतिवेदनले पार्टी हेडक्वार्टरका विरुद्ध समानान्तर हेडक्वार्टर संचालन गर्ने काम गरिरहेको किटान गर्‍यो । १३ बुँदे आलेखको खण्डन गर्दै प्रतिवेदनमा भनिएको छ :

क) तथ्यहरुको तोरमरोड र निर्णय भइसकेका वा सहज निर्णय हुन सक्ने विषयलाई गंभीर वैचारिक जामा पहिर्‍याएर गुट र फुटका निमित्त बलजफ्ती आधार तयार पार्ने कसरत गरिरहनु भएको छ ।

ख) चीनको महान् सर्वहारा साँस्कृतिक क्रान्तिको क्रममा देखिएको संशोधनवादको नयाँ विशेषता, ‘सकारात्मक र क्रान्तिकारी तर्कहरुको उपयोग आफ्नो नकारात्मक र अवसरवादी उद्देश्य परिपूर्तिका निमित्त गर्ने ‘ तरिकालाई आलेखमा राम्रोसँग प्रयोग गरिएको छ ।

ग) पार्टी र जनयुद्धले विकास गरेका सबै सकारात्मक उपलब्धीहरुलाई आफ्नै व्यक्तिगत झोलीमा हाल्ने तथा कमीकमजोरी जति सबै अर्काको थाप्लोमा बोकाउने अत्यन्त निम्नस्तरको तरिका प्रयोग गरिएको छ ।

घ) आलेख मार्फत् आफूले आफैलाई विचारकको दर्जा दिएर चौतर्फी उपदेश दिने व्यक्तिवादी वौद्धिक दम्भको प्रदर्शन गरिएको छ ।

ङ) सैद्धान्तिक ज्ञानको महत्व दर्शाउने नाममा आलेखमा यत्र-तत्र सैदान्तिक ज्ञानको असली कसी क्रान्तिकारी व्यवहारलाई घोर अवमुल्यन गर्ने तथा क्रान्तिकारी नेता, कार्यकर्ता र जनता अझ मुख्यतः जनमुक्ति सेनामाथि अज्ञानताको आरोप लगाउने वुर्जुवा वौद्धिक अहंकारको प्रदर्शन गरिएको छ ।

च) केन्द्रीय समितिको वैठकमा एकमतद्वारा लिइएको रुपान्तरण र प्रत्याक्रमणको सबैभन्दा महत्वपूर्ण क्षणमा गुट र फासीवादी क्रियाकलापलाई अघि बढाएर क.लालध्वज प्रकारान्तरले साम्राज्यवाद, विस्तारवादलाई मद्दत पुर्‍याउने अत्यन्त घातक दिसामा अगाडि बढी रहनु भएको तथ्य मात्र देखा परिरहेको छ ।

प्रतिवेदनको निश्कर्षमा भनिएको छ, ‘उपरोक्त तथ्यहरुले कुन कुरा स्पष्ट गर्दछन् भने क.लालध्वजको जीवन दर्शन मालेमावादी सर्वहारावादद्वारा भन्दा आफूले आफैलाई योग्य विचारक ठान्ने मनोगत वौद्धिक दम्भ र योग्यले राज गर्न पाउनुपर्छ भन्ने नित्सेको चरम व्यक्तिवादी दर्शनद्वारा बढी निर्देशित रहेको देखापर्छ । लालध्वजको यस प्रकारको विचलनलाई निर्ममतापूर्वक सच्याउने तथा पार्टी, क्रान्ति र जनसमुदायलाई विश्वास गर्ने सर्वहारावादी दृष्टिकोण अपनाउनु सक्नु भएन भने अन्ततः उहाँ वैचारिक रुपले व्यक्तिवादी अराजकतावादका रुपमा व्यक्त हुने वुर्जुवा आदर्शवाद, राजनीतिक रुपले दक्षिणपंथी आत्मसमर्पणवाद र सांगठानिक रुपले विसर्जनवादको शिकार बन्न पुग्ने निश्चित छ ।’

लावाङको पोलिटव्युरो वैठकमा भट्टराईको क्रियाकलापबारे प्रस्तुत उपरोक्त प्रतिवेदन र दोस्रो संविधानसभा निर्वाचनको समीक्षा वैठक पछिका उहाँका क्रियाकलापहरुलाई तुलना गरेर हेरियो भने डा.भट्टराईमा योजनावद्ध उत्तराधुनिकतावादी विचार निहित रहेको र त्यसैकोे झण्डा बोकेर दौडेको स्वतः प्रमाणित हुन्छ ।

निर्वाचन अघिको विस्तारित वैठकमा उक्त समयको तेह्र बुँदे पत्र नछोड्ने बताएको भट्टराईले त्यसैको विकसित रुप ‘खाँचो नयाँ शक्तिको’ लेख्नु भयो । निर्वाचन परिणामबाट तत्कालीन ज्याक डेरिडा जस्तै डा.भट्टराई निराशाको उत्कर्षमा पुग्नु भयो र श्रृंखलावद्ध पार्टी र क्रान्ति विरोधी गतिविधि जारी छ । चुनाव गरिएमा विराटनगर सम्मेलन वहिस्कार गर्ने धम्की दिदै काठमाडौंमा आएपछि केन्द्रीय समितिमा ३३ % को माग गर्नु भयो । एकीकृत नेकपा -माओवादी) कै विघटनको माग गर्न पनि बाँकी राख्नु भएको छैन । यसले जसरी प्रत्याक्रमणको योजनालाई नकारात्मक प्रभाव पार्ने उद्योग गर्नुहुन्थ्यो, ठीक त्यसरी नै पार्टी पुननिर्माण प्रक्रियालाई सेवोटेज गर्ने उद्योगमा भट्टराई केन्द्रीत हुनुभएको छ । यदि डा.भट्टराई कम्युनिष्ट रहेको भए मुख्यतः पार्टी पुननिर्माण सफल तुल्याउँदै अघि बढ्नु हुन्थ्यो ।

बिडम्बना, उहाँ कम्युनिष्ट नरहेकैले प्रचण्डपथले जनयुद्धको विकास अवरोध गर्‍यो आदि तथानाम बोल्दै हिड्नु भएको छ । क्रान्ति र परिवर्तनका पक्षधर जनता ०७१ माघ ८ गतेभित्र जनसंविधान चाहन्छन् । तर, भट्टराई भने माग ८ गते संविधान नआए पनि आकाश खस्दैन भन्दै हिड्नुहुन्छ । यसैलाई हामीले प्रचण्डको मृत्युमा आफ्नो जीवन देख्ने बाबुरामको खराव दृष्टिकोण भन्नु परेको छ ।

गुणात्मक परिवर्तनको तयारी

नेपाली इतिहासमा परिवर्तनको दश वर्षीय चक्र जारी छ । यहाँका जनता गुणात्मक परिवर्तन चाहन्छन् । तर, कांग्रेस र एमालेहरु जनचाहनालाई मात्रात्मक गतिमा कुण्ठीत गर्दछन् । परन्तु जनताको आधारभूत समस्या सम्वोधन गर्ने नयाँ संविधान अर्थात् राज्यव्यवस्था निर्माण नगरिएसम्म गुणात्मक परिवर्तनको गति रोकिने प्रश्नै उठ्दैन ।

राणाशासन विरुद्ध १९९७ मा चार जना महान् शहीदहरुको बलिदान भयो । २००७ मा राणाशासन ढलेर प्रजातन्त्र आयो । २०१७ मा प्रजातन्त्र खतम गरेर निरंकुश राजतन्त्र हावी भयो । २०२८ मा झापा विद्रोह भयो, जसले संशोधनवाद विरुद्ध धक्का दियो । २०३६ मा विद्यार्थी आन्दोलन र ०३७ मा जनमत संग्रह भयो । २०४६ मा निरंकुशताको ठाउँमा वहुदलीय प्रजातन्त्र आयो । तर, संवैधानिक राजतन्त्र र वहुदलीय प्रजातन्त्रले वर्गीय, जातीय-क्षेत्रीय, लैंगिक उत्पीडन यथ्ाावत् कायम राखेको विरोधमा २०५२ मा महान् जनयुद्ध उद्घोष गरियो । जनयुद्धले मुलतः हरेक दश वर्षको सात साल वरपर उठ्ने गरेको आन्दोलनको इतिहासलाई बदलेर ०५२ सालमा ल्यायो । यसैको उत्कर्ष २०६२/६३ को १९ दिने जनआन्दोलन हो । त्यस महान् जनआन्दोलनमा अभिव्यक्त जनताको गुणात्मक परिवर्तनको आवश्यकतालाई फेरी कांग्रेस र एमालेहरु उही मात्रात्मक बनाउँदैछन्, क्रान्तिका उपलब्धीहरुलाई समाप्त पार्न खोज्दैछन् ।

अहिले वि.स.२०७१ साल हो, अव ०७२ वा ७३ साल आउँदैछ । यदि १२ बुँदे समझदारी, शान्ति सम्झौता र अन्तरिम संविधानको सहमति अनुसार वर्गीय, जातीय-क्षेत्रीय, लैंगिक उत्पीडनको अन्त्य गर्न राज्यको अग्रगामी पुनसंरचना सहितको संविधान माघ ८ गतेभित्र जारी गरिएन भने अध्यक्ष क.प्रचण्डको नेतृत्वमा ०७२ साल गड्गडाएर आउनेछ । जबसम्म ०५२ ले उठाएको समग्र क्रान्ति हुँदैन, तबसम्म सर्वहारा आन्दोलनको अपरिहार्यतालाई कसैले रोक्न सक्दैन ।

अन्तमा, डा.बाबुराम भट्टराईको उत्तरआधुनिकतावादी अराजक गतिविधि व्यवस्थित गर्न पार्टीले तत्काल केन्द्रीय समिति वैठक आयोजना गर्नुपर्छ, जसमा पार्टी पुननिर्माणको पक्षमा कठोर फैसला लिनु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment