Comments Add Comment

राकेश सूदले भारतविरोधी भावना जगाए : यादव

१३ साउन, काठमाडौं । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादवले नेपालका लागि भारतका पूर्वराजदूत राकेश सूदले नेपालमा भारतविरोधी भावना बढाएको बताएका छन् । नेपालको आर्थिक विकासमा सहयोग र सहकार्यलाई छाडेर सूद नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनतर्फ लागेको यादवको आरोप छ ।

upendra-yadav-2

भारतका पूर्वराजदूत सूदले हालै एक लेखमा भारतले नेपाललाई यति धेरै सहयोग गर्दा पनि नेपालमा एन्टी इडिष्न सेन्टिमेन्ट बढेको उल्लेख गरेका थिए । सूदको चिन्ताबारे सोधिएको प्रश्नमा पूर्वपराष्ट्रमन्त्री यादवले अनलाइनखबरसँग भने- ‘उहाँले पनि त फैलाएर जानुभएको हो, उहाँकै भूमिकाले बढ्यो । मैले त त्योबेला भन्या पनि हुँ राकेश सुदलाई कि नेपालको इन्टरनल पोलिटिकल म्यानेजमेन्टतर्फ नलाग । नेपाल इण्डिया रिलेशन, को-अपरेशन, डेभलपमेन्टतर्फ लाग भनेकै हो मैले पराराष्ट्रमन्त्री हुँदा ।’

‘इकोनोमिक कोअपरेशन, डेभलपमेन्टभन्दा पोलिटिकल इन्फ्लूएन्स बढी भयो भने जुनसुकै मुलुकका जनतामा नकारात्मक असर पर्ने पर्छ,’ यादवले भने- ‘त्यो स्वभाविकै हो ।’ फोरम अध्यक्ष यादवले दुई देशको सम्वन्धलाई नयाँ ढंगले अघि बढाउन अवसर रहेको बताए । उनले भने-‘नयाँ परिवर्तित परिस्थितिअनुसार नेपाल भारतबीचको कोअपरेशन, डेभलपमेन्ट र रिलेशनलाई नयाँ ढंगले अघि बढाउने अवसर नेपालले पनि पाएको छ । भारतले पनि पाएको छ ।’

नेपाल सरकारको कूटनीतिक असफलता

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणका क्रममा सरकार कूटनीतिक रुपमा असफल भएको यादवले बताएका छन् । ‘भारतले उर्जाका सन्दर्भमा आफ्नो प्रस्ताव अघि बढायो । तर, नेपाल सरकारले आफ्नो प्रस्ताव ल्याउन सकेन । यसको अर्थ के हो भने नेपालको कूटनीतिक असफलता, अहिलेको सरकारको कूटनीतिक विफलता नै मान्नुपर्छ’ उनले भने ।

व्यापार घाटाको कमी, बगलादेशको बंगलापुरसम्मको यातायात सुविधा, आर्थिक प्राविधिक सहयोग र विकास निर्माणमा भारतबाट प्राप्त गर्ने सहयोगबारे नेपालले ठोस रुपमा आफ्नो प्रस्ताव राख्ने खुला छलफल गर्ने कुशलता नै नदेखिएको उनले बताए ।

भारतीय विदेशमन्त्रीको भ्रमणमा भएका कमी कमजोरीलाई सच्याएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा नेपालका नेताहरु र सरकारले भारतसमक्ष आफ्नो प्रस्तावलाई राष्ट्रिय हित अनुकुल हुने गरी राख्न सक्नुपर्ने उनले बताए । अध्यक्ष यादवले भने- अहिलेकै जस्तो विफलता देखायो भने नेपालले संधै हेपिएर बस्नुपर्ने हुन्छ ।’

सन्धि सम्झौता नगर्ने तीन दलको निर्णय लाजमर्दो

पूर्वपरराष्ट्रमन्त्री यादव भारतसँग तत्काल ठूला सन्धि सम्झौता नगर्ने प्रमुख तीन दलको सहमतिलाई लाजमर्दो विषय भन्छन् । उनले भने-जलशक्ति, हाइवे, रोड, रेल वे जस्ता ठूला ठूलो योजनामा नै अब भारतसँग सम्झौता गर्नुपर्छ । यसरी सम्झौता गर्दा आफ्नो राष्ट्रहितलाई प्राथमितामा राखेर भारतसँगको परम्पर सहयोगको आधारमा सम्झौता गर्नुपर्छ नेपालले । हामीसँग अरु उपाय छैन ।’

नेपालले १९५० को सन्धिको विकल्प दिन सक्दैन

फोरम अध्यक्ष यादवले १९५० को सन्धि भएदेखि नै खारेजको माग भए पनि नेपालले अहिलेसम्म विकल्प दिन नसकेको बताए । उनले भने,’यदि भोलि भारतले ल, १९५० को सन्धीको बदला कस्तो सन्धि चाहिन्छ, नेपालले हामीलाई लेखेर दिओस् हामी मान्न तयार छौं भन्यो भने पनि हामीले देखेर दिन सक्ने अवस्था मैले देखेको छैन । हामी यति कमजोर छौं, यो हाम्रो असफता हो ।’

upendra-yadav-1नेपाली नेताहरुमा असुरक्षाको भावना र दासत्वको मनोवृत्ति रहुन्जेल नेपाली जनताले दुःख पाउने यादवको बुझाइ छ । कस्तो असुरक्षा भन्ने प्रश्नमा उनले व्यंग गर्दै भने-असुरक्षा के छ भन्दा भोलि कुनै नेपाली नेतामाथि शनि ग्रह लाग्यो भने दशा हुन्छ कि भन्ने असुरक्षाको भावना । चन्द्रग्रहण, सूर्यग्रहण, उत्तरायण, दक्षिणायण भयो कि भन्ने शंकाको असुरक्षाबाट ग्रसित नेपाली नेताले अन्तराष्ट्रिय स्तरमा के भूमिका निभाउन सक्छन् र ।’

१९५० को सन्धिमा संशोधन वा पुनरावलोकनको व्यवस्था नभएको तर, अर्को गरेर त्यसलाई पुनःस्थापन भने गर्न सकिने यादव बताउँछन् । उनी भन्छन्-त्यो सन्धि पढ्नुभएको छ कि छैन मैले बुझ्न सकेको छैन । त्यो सन्धिमा पुनरालोकन र संशोधनको प्रावधान नै छैन । या त खारेज हुन्छ या रहन्छ । नयाँ सन्धि गरेर अघि बढ्नुपर्छ ।’

भारतसँग मधेसको विकासको कुरा

फोरम अध्यक्ष यादवले मधेसले भारतीय विदेशमन्त्री स्वराजसँग विकासको कुरा गरेको बताए । यद्यपि सहमति र सम्झौता गर्ने काम देशको भएको भन्दै उनले भने- ‘मधेसको विकास, रेलवेको विकास, पर्यावरण, हुलाकी सडक, सीमा क्षेत्रका जनताको सुरक्षाको कुरा छ । यो विषयमा मधेसले भारतसँग कुरा गर्न खोजेको छ । सहमति गर्ने मधेसले होइन, देशले नै हो । तर, मधेसको आफ्नो पोजिशन छ, आवश्यकता छ र त्यो विषयमा विदेशमन्त्रीसँग कुरा भएको हो ।’

भ्रामक समाचार आयो

मधेसवादी दलका नेता र विदेशमन्त्रीको भेटबारे कपोलकल्पित समाचारहरु आएको भन्दै उनले भने-‘हुँदै नभएको कुरालाई प्रशारण गर्न जान्ने लालबुझक्कड मिडियाहरु नेपालमा प्रशस्त छन्, जसले नेपाल भारतसम्वन्ध राम्रो चाहँदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment