Comments Add Comment

व्यवसायीको झगडाले तेह्रथुम-धरान सडक खण्ड बन्द

facebook-travels
१४ साउन, तेह्रथुम । यातायात व्यवसायीहरुको आपसी कलहका कारण तेह्रथुम-धरान सडक खण्डमा यातायात ठप्प भएका छन् । धरानका यातायात व्यवसायीहरुले केही महिना यता चल्दै आएको तेह्रथुम -काठमाडौँ रात्री सेवा सन्चालनमा अवरोध गरेपछि तेह्रथुमका व्यवसायीहरुले यातायात अवरुद्ध पारेका हुन् ।
मंगलबार फेसबुक डिलक्सको ना ४ ख ७७२२ नम्बरको रात्रिबस काठमाडौँबाट तेह्रथुम आउदै गर्दा धरानका व्यवसायीहरुले धरानमै रोकेर राखेपछि तेह्रथुमका व्यवसायीहरुले तेह्रथुम-धरान चल्ने दिवा बस सेवा अवरुद्ध पारेका हुन् । बस व्यवसायीहरुले मंगलबार विहान देखि नै बस चल्न नदिएपछि सेवा ग्राही भने मारमा परेका छन् । केही दिन अघि मात्र मितेरी यातायातको रात्री बस तेह्रथुम-काठमाडौँ सन्चालन गरेको भन्दै धरानमा रोकेपछि दुई दिन यातायात ठप्प भएको थियो ।
धरानका व्यवसायीहरुको अवरोध पछि हाल मितेरी यातायातले भने हिले-काठमाडौँ मात्र बस सन्चालन गर्ने सहमति भइसकेको छ । मितेरीले हिलेबाट काठमाडौँ बस सन्चालन गर्न थालेपनि फेसबुकले तेह्रथुम-काठमाडौँ नै बस सन्चालन गरिरहेको भन्दै पुन धरानका व्यवसायीहरुले फेसबुकलाई अवरोध गरेको जनाएका छन् । उनीहरुले तेह्रथुम-काठमाडौँ रात्रि बस सन्चालन हुँदा आफुहरुका झन्डै डेढ सय बस, १ सय माइक्रो तथा तिनमा काम गर्ने कामदारहरु विस्थापित हुने अवस्था सृजना भएको जनाएका छन् ।
रात्री बस साँझ ४ बजे छुट्ने नियम भएपनि तेह्रथुमबाट दिउसो १२ बजे नै छुट्ने र आफुहरुका लोकल बसलाई विस्थापित गर्ने भएकाले आफुहरुले धरानमा फेसबुक यातायातको बसलाई अवरोध गरेको पुर्वान्चल यातायात व्यवसायी संघ सुन्ासरीका महासचिव मोहनमणी बरालले बताए । बरालका अनुसार रात्री बसका नामले साँझमात्र छुट्नुपर्ने बसहरु दिउँसै छुटेपछि तेह्रथुमका लागि धरानबाट चल्ने ६ वटा बसहरुलाई प्रत्यक्ष असर हुने गरेको छ ।
यता फेसबुक यातायातका तेह्रथुम म्याङ्गलुङ काउन्टर प्रमुख जुली जवेगुले भने आफुहरुलाई तेह्रथुम काठमाडौँ रात्रि बस सन्चालन गर्न अनुमतिसहित रोकेको बस नछाडे सम्म यातायात अवरोध गरिरहने बताए । सदरमुकाम म्याङ्गलुङ तथा जिल्लाका अन्य ठाउँबाट छुट्ने सबै बसहरु मंगलबारदेखि नै अवरुद्ध भएपछि सेवाग्राही मारमा परेका छन् ।

प्रकाश धौलाकोटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment