Comments Add Comment

माथिल्लो कर्णालीमा एमाओवादी सहमत भइसकेको छैन : नारायणकाजी

१४ साउन, काठमाडौं । भारतसँग उर्जा व्यापार सम्झौता गर्न प्रमुख तीन दल सहमत भएको र यससम्न्धी प्रस्ताव तयार पार्न कार्यदल बनेको समाचार बाहिर आए पनि कार्यदलका सदस्य एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारतसँग जलविद्युत आयोजना बाहेक व्यापार सम्झौतामात्रै गरिने बताएका छन् । साथै उनले माथिल्लो कर्णाली भारतलाई दिने सम्बन्धमा एमाओवादी सहमत भइनसकेको स्पष्ट पारेका छन् ।

Narayan-Kaji-2
‘म तपाईहरुमार्फत स्पष्ट पार्न चाहन्छु, माथिल्लो कर्णालीबारे एमाओवादीले सहमति जनाएको छैन, यसबारे तीन दलको बैठकमा छलफल हुँदैछ’ पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले अनलाइनखबरसँग भने- ‘विद्युत व्यापार सम्झौता पनि जलविद्युत उत्पादनको विषयलाई अलग गराएर विद्युत व्यापारका सम्बन्धमा मात्रै भारतसँग सम्झौता गर्ने सहमति भएको हो, ‘अमे्रला एग्रिमेन्ट’ गर्ने तीन दलवीच सहमति भएको होइन ।’

मंगलबार बालुवाटारमा सम्पन्न तीन दलको बैठकले भारतसँग गरिने व्यापार सम्झौताका लागि सैद्धान्तिक सहमति जुटाएको हो । तीन दलीय सहमतिपछि विद्युत व्यापार सम्झौताको मस्यौदा तयार पार्न अर्थमन्त्री डा. रामशरण महत, एमाले नेता भीम रावल र एमाओवादी नारयणकाजी श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय कार्यदल समेत बनेको छ । कार्यदलले बुभबार दिउँसो मस्यौदा तयार पारेर अपरान्ह तीन दलको बैठकमा त्यसबारे छलफल गरिने बताइएको छ ।

तर, मंगलबार सम्पन्न तीन दलीय सहमतिमा समग्र जलस्रोतको विषयमा नभई बिजुली किनबेचको विषयमात्रै भारतसँग व्यापार सम्झौता गरिने निधो गरिएको एमाओवादी नेता श्रेष्ठले बताए ।
यसअघि उर्जामन्त्रालयले तयार पारेको सम्झौताको मस्यौदामा नेपालको जलविद्युत आयोजनामा भारतलाई मात्रै लगानी गर्न दिइनेसहितको प्रावधान राखिएको र जलविद्युत आयोजना एवं विद्युत व्यापारलाई एउटै छातामा हालेर सम्झौता गर्न खोजिएको थियो । उर्जा मन्त्रालयको उक्त गोप्य दस्तावेज बाहिर आएपछि यसबारेमा राष्ट्रिय बहस भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment