Comments Add Comment

कुरिलोले उठ्न लाग्यो धिमालको घरबार

तेजन खड्का

१३ साउन, उर्लाबारी । लाखौं कमाई हुने आशमा मोरङको फलाएको कुरिलो विक्री नभएपछि मोरङका उर्लाबारीका एक किसानको परिश्रम खेर जाने अवस्थामा पुगेको छ । उर्लाबारी-६ का ६३ वर्षीय किसान बुद्दिमान धिमालले फलाएको कुरिलो विक्री नभएपछि उनको घर भरिएको छ ।

Kuriloधिमालले घरमा पुग्दा कुरिलाको जरा जताततै छरिएको अवस्थामा देख्न पाइन्छ । घरको दलानदेखि बरण्डा र सिलिङसम्म कुरिलोको जराले भरिएको छ । वर्षभरी मेहनेत अहिले धिमाललाई ‘खाऊँ भने कान्छा बाउको अनुहार, नखाऊँ भने दिनभरीको शिकार’ झैँ भएको छ ।

‘घरै कुरिलोले भरिएको छ, दालभात जसरी खान पनि नमिल्ने’, धिमाल भन्छन्, ‘विक्री नभएको झोँकमा फ्याकिदिउँ भने लाखौं रुपैयाँ फसेको छ ।’ नबिकेर घरभरी थन्केको कुरिलो बेच्ने उपाय खोज्दै धिमाल भौतारिइरहेका छन् । कुरिलो खेति गराउन उक्साउने सरकारी तथा गैरसरकारी संस्थाका ढोका उनले ढक्ढक्याइसके । तर, उनले आश्वासनबाहेक केही पाएका छैनन् । घरमा थन्केको कुरिलोको बजार खोज्दा खोज्दै धिमालले उल्टो ३५ हजार रुपैयाँ खर्च गरिससकेका छन् ।

वन कार्यालय र आइयुसीएनले तालिम दिएपछि थोरै जग्गामा धेरै कमाउने आशमा धिमालले कुरिलो खेति गरेका थिए । तालिम दिने वन कार्यालय र आइयुसीएनले एक लाख ३१ हजार २ सय ४५ रुपैयाँ खर्च गरी २ वर्षमा ३ लाख ४५ हजार रुपैयाँ कमाई हुने ग्यारेन्टी गरेपछि उनले आफ्नो भविष्य कुरिलोमा देखेका थिए ।

०६६ सालमा उर्लाबारी-६, मंगलबारेस्थित धिमाल जाति विकास केन्द्रले चर्चेको १० विगाहामध्ये १३ कठ्ठा जग्गा लिजमा लिएर धिमालले खेती गरेका हुन् । वाषिर्क प्रतिविगाहा ११ हजार १ सय भाडा तिरेर १३ कठ्ठा जग्गामा कुरिलो खेती गरेका थिए ।

जिल्ला वन र गैससले देखाएको सपनाको कागजी घोडापछि दगुर्दा डुबेको रकम उकास्न धिमाल कुरिलो बेच्न सहयोग गर्ने निकायको खोजीमा छन् ।  कुरिलो खेति थाल्दा उनको कामको धेरैले प्रशंसा गरेका थिए । शुरुमा प्रशंसाको थप्पडी बजाउनेहरु अहिले घरभरी कुरिलोको जरा देखेर हाँस्छन् ।

राज्यका निकायको उक्साहटमा थालेको कुरिलो खेतिले घरबार गुम्ने अवस्थामा पुगेका धिमाल अहिले बजार खोजीमा सहयोग माग्दै सञ्चारमाध्यमसम्म पुगेका छन् । ‘मैले रहरले खेति गरेको होइन, सरकारी निकायले अह्राएर गरेपछि उसैले किनिदिनुपर्छ’, धिमाल भन्छन्, ‘४ वर्षअघि किलोको २ सय ५० रुपैयाँमा विक्री हुने भनिएको कुरिलोले अहिलेे २ सय रुपैयाँ पनि भाउ पाएन ।’

खेति भएको ठाउँबाट घरसम्म कुरिलोको जरा ल्याईपुर्‍याउँदा २ लाख ५० हजार रुपैयाँ खर्च भइसकेको छ । कुरिलोले आम्दानी नदिएपछि धिमालकी पत्नी गंगाले सरकारी कार्यालय र गैससमाथि रिस पोख्दै क्षतिपूर्ति दिन माग गरिन् ।

बजार नपाएर धिमालको घरमा हाल ३० क्विन्टल कुरिलोको जरा थन्ेकेको छ । जसको प्रचलित बजार मूल्य ७ लाख ५० हजार रुपैयाँ हुन्छ ।  जिल्ला वन कार्यालय मोरङका प्रमुख वन अधिकृत श्रीप्रसाद बराल कुरिलो खेतिको विषय पुरानो भएकाले आफू अनभिज्ञ रहेको भन्दै पन्छिए । बरालले किसानहरू गैरसरकारी संस्थाको प्रचार पछि लागेर खेति गर्दा डुब्ने गरेको बताए । उनले धिमालको समस्याबारे आफू गम्भीर भएको बताउँदै वास्तविकता बुझेर समस्या समाधानका लागि प्रयत्न गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment