Comments Add Comment

‘नक्कली आमा’का पतिलाई नर्सको प्रश्न- पत्नी गर्भवती भएको थाहा हुँदैन ?

patan-hospital

  • अस्पतालमा भएको पत्रकार सम्मेलनमा अस्पताल प्रमुख पवन आचार्य र नर्सिङ डाइरेक्टर नारायणी राई

१४ साउन, काठमाडौं । एक महिलाले नक्कली आमा बसेर हंगामा मच्चाएको १० दिन बितिसक्दा पनि पाटन अस्पतालका डाक्टर तथा नर्सहरु अहिलेसम्म तनाबमा छन् ।

बच्चा नै नजन्माएकी महिलाले मेरो बच्चा हरायो भन्दै उपद्रो मच्चाएको १३ दिनपछि बुधबार नक्कली आमाका पतिले पाटन अस्पतालमै पत्रकार सम्मेलन गरेर माफी मागेका छन् । तैपनि स्वाथ्यकर्मीहरुको दुखेको मन भने अझैसम्म थामिएको छैन ।

भक्तपुर झौखेल-९ का पुण्यराम सुलु र अविना श्रेष्ठले जन्मँदै नजन्मिएको बच्चा हराएको भनेर गत साउन ३ गते हंगामा गरेका थिए । सो घटनाका कारण पाटन अस्पतालमा प्रसुतीका लागि आउने आफन्तहरुले अहिले पनि बच्चा साटिन्छ कि या हराउँछ कि भन्ने प्रश्न गरेर डाक्टर र नर्सहरुलाई हैरान पार्ने गरेका छन् ।

यो पनि पढ्नुस् : ‘नक्कली आमा’ले पाटन अस्पतालमा यसरी मच्चाइन् हंगामा

अस्पतालको प्रसुती विभागमा काम गर्ने वातावरण नै नभएको पाटनकी नर्सिङ डाइरेक्टर नारायणी राईले भनिन् । ‘हामीमाथि जुन विश्वास थियो, यसमा ठूलो धब्बा लागेको छ’ उनले भनिन् ।

पाटनकी मेट्रोन सिस्टर इन्चार्ज पूर्णीमा घलेका अनुसार साउन ३ गते भएको यो घटनापछि सिस्टरहरुलाई अनेक प्रश्न आउने गरेका छन् । ‘बिरामीका आफन्तहरुले मेरो बच्चा साटिएको हो ? सम्म भन्ने गर्छन्’ उनले गुनासो पोखिन् ।

अस्पतालका प्रमुख डा. पवन आचार्यले पनि माइक्रो बसदेखि गाउँघरम्म पाटनमा बच्चा हराउँछ भन्ने कुराकानी सुन्नुपरेको गुनासो गरे । ‘कति लियो होला है पाटनमा बच्चाको ? भन्नेसम्मको कुराकानी सुन्नु परेको छ’ डा. आचार्यले भने ।

माफी मागे अविना र पुन्यरामले

बुधबार दिउँसो पाटन अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा पुण्यराम सुलुले भने जन्मँदै नजन्मिएको बच्चा हराएको भनेकोमा माफी मागेका छन् ।

‘स्युडोसाइसिस्ट’ भन्ने रोगका कारण आफ्नी श्रीमतीको मानसिक स्थितिमा असर परेको र गर्भवती नै नभएको अवस्थामा गर्भ रहेको आभास भएको उनले दाबी गरे । ‘यस्तो रोग लागेको कुरा विशेषज्ञबाट चेकअप गराउँदा हालै मात्र थाहा भयो, अहिले मेरी श्रीमतीको सो रोगको उपचार गराइरहेको छु’ सरकारी कर्मचारीसमेत रहेका सुलुले भने ।

punyaram and abina

तर, पाटन अस्पतालका नर्स र डाक्टरहरुले भने सुलुको दाबीलाई अस्वीकार गरेका छन् । ‘पत्नी गर्भवती भएको कुरा श्रीमानलाई थाहा नहुने पनि कहीँ हुन्छ ?’ एक नर्सले प्रश्न गरिन् ।

अरुको कपडा मागेर नाटक ! 

अस्पतालको प्रसुती वार्डमा महिलाहरुलाई आफन्तका रुपमा जान दिने गरेका कारण अविना पनि छिरेको र नक्कली आमा बनेको अस्पतालले जनाएको छ ।

‘डाक्टरहरु चेकअपमा आउँदा बाहिर जाने र अरुबेला मुख छोपेर बस्ने गरेकी रहिछन्’ मेट्रोन सिस्टर इन्चार्ज पूर्णीमा घलेले भनिन्-‘हामीले अरु बिरामीसँग कुरा गर्दा गर्भवती भएको नक्कल गर्न कपडासमेत त्यही बेला किन्ने र अरुसँग मागिएको रहेछ ।’ पुन्यराम स्थानीय विकास मन्त्रालयका इन्जिनियर भएका कारण अस्पतालमा अविना मात्र आएकी थिइन् । कर्मचारीहरुले भने अविनाले योजनावद्ध रुपमा यो काम गरेको भन्दै परिवारका अन्य सदस्यको पनि संलग्नता हुन सक्ने बताउँछन् ।

अस्पतालले नक्कली आमालाई कारवाही गर्न ललितपुर प्रहरीमा उजुरी समेत दिइसकेको छ ।

पाटन अस्पतालमा हाल मासिक एक हजारसम्म प्रसुतीका लागि गर्भवतीहरु आउँछन् । चितवन, पोखरासहितका ठाउँबाट त्यहाँ सिफारिस हुने गरेको छ । नयाँ भवन बनेपछि पाटन अस्पतालको प्रसुती सेवालाई राम्रो र सविधाजनक मान्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment