Comments Add Comment

व्यापार घाटा कम गर्न पनि उर्जा व्यापार सम्झौता अनिवार्य : पूर्वपराष्ट्रमन्त्री

१४ साउन, काठमाडौं । परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेका विभिन्न दलका प्रमुख नेताहरुले भारतसँगको धान्नै नसक्ने व्यापार घाटा कम गर्न पनि उर्जा व्यापार सम्झौता गर्नु पर्नेमा जोड दिएका छन ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा पूर्व परराष्ट्रमन्त्री एवं कांग्रेसकी विदेश विभाग प्रमुख सुजाता कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अवसर भएको बताइन् । नेपालले माग्ने मात्र नभई छिमेकीको लागि योगदान दिनसक्नु पर्ने भन्दै उनले बढ्दो ब्यापार घाटा कम गर्न जलविद्युतको विकास आवश्यक रहेको बताइन् । कोइरालाले विगतको सम्झौता कार्यान्वयन र नेपालको हितमा हुनेगरी उर्जा सम्झौता गर्नुपर्नेमा समेत जोड दिईन ।

एमाले सचिव प्रदिप ज्ञावलीले नेपाल र भारतको सम्बन्ध भारतको सुरक्षाकर्मी र प्रशासनले हेर्ने गरेकोमा मोदीको भ्रमणले राजनीतिक रुपमा हेर्ने वातावरण निर्माण भएको भन्दै यसलाई लेनदेनको भन्दा पनि सदभाव र राजनीतिक सम्बन्ध विस्तारको रुपमा लिनु पर्ने सुझाव दिए । उनले नेपाल-भारत सम्बन्धमा आशंका र चिन्ता रहेकोले यसलाई हटाउन नेपालले नेपाली भूमि कसैका विरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता ब्यवहारमै उतार्नु पर्नेमा जोड दिए ।

उर्जा सम्झौतमा को अपरेसन भनेकोले यसमा सबै भारतीय हितमा मात्र नभई द्धिपक्षीय हितमा भएको भन्दै आशंका हटाएर उर्जा सम्झौता गर्नु पर्नेमा जोड दिए ।

एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले नेपाल र भारतवीचको सम्बन्ध १७ वर्षदेखि उतारचढाव पूर्ण रहेकोले भारतीय प्रधानमन्त्रीको यो भ्रमण नयाँ सम्बन्ध सुरुवातको महत्वपूर्ण अवसर भएको बताए । भ्रमणले नै नेपालमा कायापलट गरिहाल्छ भन्ने अवस्था नरहेको भन्दै उनले नेपालले यसका लागि आफ्नो तयारी सशक्त बनाउनु पर्ने बताए ।

पूर्व पराष्ट्रमन्त्री एवं फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाल र भारतमा नयाँ परिस्थिति बनेकोले सम्बन्धलाई अघि बढाउन नयाँ मार्गचित्र तयार पार्नुपर्ने बताए । नेपालको ब्यापार घाटा कम गर्ने विकल्प उर्जाको विकासमात्र भएको भन्दै उनले भारत ठूलो बजार भएकोले परस्पर लाभको आधारमा सम्झौता गर्नु पर्ने धारणा राखे ।

पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले मोदीको दृष्टिकोण सकारात्मक भएकोले नेपालले माग्ने भन्दा पनि विश्वास कायम गर्नु पर्नेमा जोड दिए । उनले नयाँ सम्झौता मात्रै गरिरहने मात्र नभई पुराना सम्झौता कार्यान्वयन गराउन पहल गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment