Comments Add Comment

धरानको विकासका लागि सात दल एक भए

१४ साउन, धरान । सुनसरीको सुन्दर नगरी धरानको विकासका लागि एकीकृत माओवादीसहितका सात दलले साझा धारणा बनाउने भएका छ्न ।

सात दल सम्मिलित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मोर्चाले धरानको विकासका मुद्धामा साझा धारणा बनाउने घोषणा गरेको हो । मोर्चाले बुधबार पत्रकार सम्मेलन गरेर एसियाली विकास बैंकको सहयोगमा एकीकृत सहरी विकास आयोजना मातहत निर्माणाधीन खानेपानी व्यवस्थापन पारदर्शी बनाउन साताभित्र साझा धारणा तय गर्ने जनाएको छ ।

बसपार्क र विमानस्थल निर्माण तथा सर्दु जलाधार क्षेत्रको विवादबारे बुझेर धारणा सार्वजनिक गर्ने मोर्चाले जनाएको हो । नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार र इञ्जिनियरिङ कलेजबारे पनि समान धारणा बनाई नागरिकको पक्षमा आन्दोलन गर्ने मोर्चाको भनाइ छ ।

मोर्चाले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानमा जोड दिने जनाउँदै पहिचानसहितको संघीयता र संविधान नभएमा संघर्षमा उत्रने सहितका १० बुँदे योजना पनि प्रस्तुत गरेको छ ।

मोर्चाले राज्यका आधारभूत सुविधा शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक पहुँचबाट बञ्चितका पक्षमा अल्पकालीन र दीर्घकालीन योजना बनाउने, उत्पीडित वर्ग, जातिहरुका पक्षमा उत्तरदायी बनी उनीहरुको विकास प्रवर्द्धनका लागि पहल गर्ने योजना बनाएको छ ।

त्यसैगरी सुकुम्बासी र श्रमजीविका पक्षमा कार्ययोजना बनाउने, सरकारी तथा सार्वजनिक निकायमा हुने भ्रष्टाचारप्रति खबरदारी गर्दै भण्डाफोर गर्ने, धरान नगरपालिकाको नीति निर्माणतहमा सबै वर्ग, लिङ्ग जाति र समूहलाई सहभागी गराउन पहल गर्ने, धरानको विकास योजनाका लागि पहल गरी कार्यान्वयनमा जोड दिने पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा मोर्चाका संयोजक एमाओवादीका अशोक राईले मोर्चा नयाँ भएकाले अध्ययन गरी अघि बढ्ने बताए । त्यसैगरी संघीय समाजवादीका ताजुव लिम्बूले दलकै अकर्मन्यताले धरानको विकास नभएको भन्दै दलहरु नै सक्रिय भएर धरान बनाउने बताए ।

मोर्चामा एमाओवादी, संघीय समाजवादी, राष्ट्रिय जनमुक्ति, खम्बुवान राष्ट्रिय मोर्चा, नेकपा माओवादी, मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद र नेकपा एकीकृत संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment