१५ साउन, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले बनाएको सबै सुरुङ ध्वस्त नपारेसम्म आक्रमण जारी राख्ने बताएका छन् । मन्त्रिमण्डलको बैठकअघि उनले युद्धविराम भए पनि नभएपनि हमासको सुरुङ ध्वस्त हुने बताए ।
इजरायलले आफ्ना १६ हजार अतिरिक्त सैनिकलाई बोलाएको छ । यससँगै तैनाथ सैनिकको संख्या ८६ हजार पुगेको छ । राष्ट्रसंघका अनुसार संघर्षका कारण गाजाबाट सवा चार लाख विस्थापित भएका छन् ।
इजरायलले गाजामा अपरेशन प्रोटेक्टिव एज नामक सैन्य कारबाही ८ जुलाइबाट सुरु गरेको थियो । अहिलेसम्म १३६० प्यालेस्टायनीको मृत्यु भएको छ, जसमा धेरै आम नागरिक रहेका छन् ।