Comments Add Comment

संसदमा मोदीलाई राष्ट्रपतिको ठाउँमा राख्ने कि प्रधानमन्त्रीको ?

१५ साउन, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको व्यवस्थापिका संसदमा सम्बोधन गर्ने भएपछि संसद सचिवालयले तयारी थालेको छ । तर, संसदभित्र मोदीलाई कुन स्थानमा राख्ने भन्ने अन्योल देखिएको छ ।

narendra modiदुई दिने नेपाल भ्रमणका क्रममा आइतबार बिहान काठमाडौं आउने मोदीले अपराहृन ४० मीनेट संसदलाई सम्बोधन गर्नेछन् । नेपालको संसदमा विदेशी सरकार तथा राष्ट्रप्रमुखले रोष्टममै उभिएर सम्बोधन गर्न लागेको यो पहिलो घटना हो ।

संसद सचिवालय श्रोतका अनुसार मोदीलाई संसदभित्र राख्ने स्थानबारे दुई विकल्पमा छलफल भइरहेको छ । ‘सभामुख र रोष्टमबीच कुर्सी राख्ने र सभामुखको चेम्बरमै राखेर सिधै रोष्टममा सम्बोधन गर्न बोलाउन दुई विकल्प छ’ स्रोतले भन्यो ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिका लागि सभामुखसँगै अर्को कुर्सीको व्यवस्था गरिएको हुन्छ र त्यहींबाट सरकारको नीति तथा कार्यक्रम पढ्छन् ।

मोदीलाई पनि त्यस्तै व्यवस्था गर्दा नेपालका प्रधानमन्त्री भने तल सभासदहरुसँगै अगाडिको लहरमा हुने भएकाले प्रोटोकल विवाद हुन सक्ने देखिएको छ । जसका कारण मोदीलाई बेग्लै कुर्सीमा राख्ने योजना प्राथमिकतामा परेको छैन ।

सभामुखको चेम्बरमै राखेर रोष्ट्रममा सम्बोधनका लागि मात्र बोलाउँदा सभामुखले सदन सुरु गर्दा र मोदीको सम्बोधनपछि धन्यवाद प्रस्ताव पारित गरेर विदाइ नगर्दासम्मको २/३ मिनेट कहाँ राख्ने भन्ने समस्या देखिएको छ । यसबारे निर्णय गर्न शुक्रबार विहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

सभामुखले इलामे चिया खुवाउने

भारतीय प्रधानमन्त्री मोदीलाई संसदको गेटमा पुग्दा सभामुख नेम्वाङले स्वागत गर्नेछन् । मोदीलाई रातो कार्पेटबाट सभामुखको चेम्बरमा लगिनेछ, जहाँ भेटका लागि कार्यकक्षलाई चिटिक्क बनाउने काम भइरहेको छ ।

भारतीय प्रधानमन्त्री मोदी र सभामुख नेम्वाङबीच २५ मिनेट वार्ता हुनेछ । यो वार्ताका क्रममा नेम्वाङले मोदीलाई विशेष इलामे चियाले आतिथ्यता प्रदान गर्नेछन् ।

सभामुखसँगको भेटपछि मोदीले संसदमा गएर सम्बोधन गर्नेछन् । मोदीको सम्बोधन आधा घन्टाबढीको हुनेछ । सम्बोधनपछि मोदीले प्रधानमन्त्री र क्रमशः प्रमुख प्रतिपक्षी दलका नेता, सत्ताधारी अन्य दलका नेतासँग हात मिलाउँदै बाहिरिनेछन् ।

मोदीलाई बाहिरिनुअघि सभामुखले धन्यवाद प्रस्ताव पारित गर्दै संसदको बैठक आधा घण्टाका लागि स्थगित गर्नेछन् । यसअघि प्रधानमन्त्री भएपछि मोदी पहिलो विदेश भ्रमणका क्रममा भुटान पुगेका थिए, जहाँ संसदलाई सम्बोधन गर्दा मोदीले भुटानको सट्टा नेपाल भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment