Comments Add Comment

भारतसँग उर्जा सम्झौता गर्न उद्योगी व्यवसायीको जोड

Business man१६ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाली उद्योगी-व्यवसायीहरुले फरक-फरक अपेक्षा अघि सारेका छन् । अटो मोबाइल टिलर्स एशोसिएसनका अध्यक्ष एवं उद्योग वाणिज्य संघका उपाध्यक्ष शेखर गोल्छाले भन्सार र गैरभन्सारका विषयमा मोदीसँग गर्नुपर्ने कुरा केही पनि नरहेको बताएका छन् । धेरैजना उद्योगी व्यवसायीहरुले नेपाल-भारतवीच व्यापार घाटा कम गर्न र उर्जामा लगानी भित्र्याउन सुझाव दिएका छन् ।

भारतीय प्रधानमन्त्रीको आशन्न नेपाल भ्रमण र त्यस सन्दर्भमा नेपालले उठाउनुपर्ने विषयबारे अनलाइनखबरका लागि पुष्प दुलालनविन अर्यालले विभिन्न उद्योगी व्यवसायीसँग लिएको प्रतिक्रिया यस्तो छ-

भारतले नेपाली वस्तुको अन्तःशुल्क हटाउनुपर्छ : पशुपति मुरारका,  वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

Pashupati Murarkaनेपालमा अहिले सबैभन्दा ठूलो समस्या उर्जाको रहेको छ । उद्योग-व्यवसाय फस्टाउन नसक्नुको प्रमुख कारण पनि यही हो । उर्जा संकटका कारण उद्योगी-व्यवसायीलाई समस्या परेको छ । मोदीको नेपाल भ्रमणका बेलामा भारतबाट तत्कालका लागि १ हजार मेगावाट विजुली आयात गर्ने गरी कुरा अगाडि बढाउनुपर्छ । प्रसारण लाइन निर्माण गरेर भए पनि बिजुली आयात गर्नैपर्छ ।

हामीले भारतसँग उर्जा व्यापार सम्झौता गर्नैपर्छ । उर्जा व्यापार सम्झौता भएमात्रै विदेशी लगानी आकषिर्त हुन्छ । अहिले चलिरहेका विभिन्न गलत अफवाहलाई चिरेर व्यवसायिक सम्बन्धका आधारमा सम्झौता गरिनु उपयुक्त हुन्छ । यसले हाम्रो मुलुकमा देखिएको उर्जा संकटलाई समधान गर्नुका साथै मुलुकमा वैदेशिक लगानीको वातावरण समेत तयार हुन्छ ।

नेपालमा निर्मित वस्तुहरु सहजरुपमा भारतीय बजारमा प्रवेश पाउने व्यवस्था गर्न सकेमा उद्योगीहरुका लागी राम्रो हुने थियो । अहिले भारतले भन्सार छुट दिए पनि अन्तःशुल्क लगाउँदै आएको छ । जसले गर्दा नेपाली वस्तुहरु भारतीय बजारमा प्रवेश गर्न सकेका छैनन् । यसलाई हटाउनका लागि पनि हामीले पहल गर्नुपर्छ ।
त्यस्तै, हामीले तेस्रो मुलुकका वस्तुहरु भारतबाट आयात गर्न सकिने व्यवस्था पनि गरिनुपर्छ । यसो गर्न सकेमा सामानहरु केही सस्तो पर्न जान्छन् । यसमा भारत सकरात्मक भए पनि नेपाल सकारात्मक हुन सकेको छैन् । यही मोदी भ्रमणकै क्रममा यस विषयमा छलफल गरी भारतबाट तेस्रो मुलुकका वस्तुहरु आयात गर्न सकिने व्यवस्था गर्नुपर्छ ।

भन्सार समस्या समाधान गर्ने मोदीको काम होइन :शेखर गोल्छा, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

Shekhar_Golchhaअटोमोबाइल क्षेत्रमा अहिले प्रधानमन्त्री नरेन्द्र मोदीसँग राख्नुपर्ने केही कुरा छैनन् । नेपालमा ठूलो परिमाणमा सवारी साधन नेपाल आयात हुन्छन् । यस्तो अवस्थामा कुनै समस्या नै छैन न भन्ने त होइन । तर, मोदीले सम्बोधन गरिदिनुपर्ने समस्याहरु यस क्षेत्रमा छैनन् । हामीले यस क्षेत्रमा भएका समस्या सम्बन्धित निकायमै राख्नुपर्छ ।

अहिले हामीसँग सबैभन्दा ठूलो समस्याका रुपमा उर्जा संकट रहेको छ । उर्जा संकट निवारणका लागि भारले के-कस्तो सहयोग गर्न सक्छ यसतर्फ केन्दि्रत हुनुपर्छ । मोदी नेपाल भ्रमणमा आएका बेला हामीले कुनै ठूलो जलविद्युत परियोजना निर्माणका लागि भारतीय सहयोग माग्नुपर्छ । हामीले भारतसँग गर्न लागेको उर्जा व्यापार सम्झौतालाई मोदी भ्रमणमा टुंगाउनुपर्छ । भारतसँग उर्जा व्यापार गर्ने सम्भावना देखिएमा विदेशी लगानीकर्ताहरु जलविद्युतमा लगानी गर्न आकषिर्त हुनुपर्छ ।

अन्य सानातिना समस्याहरु हामीले सम्बन्धीत निकायसँग राखेर समाधान खोज्नुपर्छ । मोदीको छोटो भ्रमणमा यी समस्या राख्ने होइन । भन्सार तथा गैर-भन्सार समस्याहरु पनि मोदीसमक्ष नै राख्नुपर्छ जस्तो मलाई लाग्दैन । यो उहाँले गर्ने काम पनि होइन ।

पारवाहन सन्धि पुनरावलोकन गर्नुपर्छ :राजेशकाजी श्रेष्ठ, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श

Rajesh-Kaji-shresthaभारत र नेपाल दुबै पक्षलाई फाइदा पुग्ने गरी उर्जा व्यापार सम्झौता हुनुपर्छ । यो सम्झौता हाम्रो आर्थिक उन्नतीका लागि कोशेढुंगा बन्न सक्छ । मोदीको भ्रमण अगाडि नै यसको टुंगो लगाइसक्नुपर्छ ।

त्यसैगरी, नेपालको पूर्वाधार विकासमा पनि भारतीय सहयोग आवश्यक रहेको छ । उसलाई नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आग्रह गर्नुपर्छ । भारतसँग टे्रड एन्ड ट्रान्जिटका विषयमा ६ वटा ‘लेटर अफ एक्स्चेञ्ज’ भइसकेका छन् । यसको सही कार्यान्वयनका लागि हामीले घच्घच्याउनुपर्छ ।

 पारवाहन सन्धि पनि समयानुसार पुनरावलोकन गरिरहन पनि हामीले पहल गर्नुपर्ने आवश्यकता छ । नेपालको भारतसँग ठूलो व्यापार घाटा रहेको छ । नेपाल र भारतबीच नेपालमा औद्योगीकरण गर्ने गरी १९९६ मा एगि्रमेन्ट भएको थियो । त्यो एगि्रमेन्टअनुसार काम हुन सकेमा नेपालमा औद्योगीकरण हुनुका साथै नेपालको निर्यात क्षमतासमेत अभिवृद्धि हुन्छ ।

मोदीको नेपाल भ्रमणका क्रममा हामीले यी समस्याहरु एक/एक गरी राखेर समधानका लागि आग्रह गर्नुपर्छ । खासगरी भारतसँगको व्यापार घाटा कम गराउनका लागि आवश्यक सहयोग गर्न मोदी सरकारलाई आग्रह गर्नुपर्ने मैले देखेको छु ।

नेपाल भारत वाणिज्य सन्धि गलत छ : शिवशंकर अग्रवाल, अध्यक्ष, उद्योग व्यापार संघ, मोरङ

हाम्रो भारतसँगको वाणिज्य सन्धि पनि गलत रहेको छ । त्यसलाई मोदी नेपालमा आउँदा छलपल गरेर सच्याउनतर्फ पहल गर्नुपर्छ । हामीले खाली ठूला समस्यातर्फ मात्र ध्यान दिने गरेका छौं । साना समस्याहरुले पनि व्यापारीहरुलाई ठूलो नोक्सानी पुर्‍याइरहेको हुन्छ ।

तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरेर नेपालमा वस्तु तयार गरी भारत निर्यात गर्दा ३५ प्रतिशत मूल्यांकन गरिन्छ । हाम्रो वाणिज्य सन्धिमा ३० प्रतिशत मूल्यांकन गर्ने उल्लेख गरेपनि विविध कारण देखाई ३५ प्रतिशतसम्म निर्धारण गरिन्छ ।

खासगरी २० प्रतिशत भेलुयड गरे पुग्नेमा वाणिज्य सन्धीमा भएको गलत व्यवस्थाले ३५ प्रतिशतसम्म गरिएको छ । कच्चा पदार्थको भाउ तलमाथि भइरहने हुँदा वाणिज्य सन्धीमा ३० प्रतिशत भनेर उल्लेख गरिँदा नेपाली उद्योगीहरु मारमा पर्ने गरेका छन् । व्यवसाय नै संकटमा पर्ने अवस्था आएको छ ।

हामीले यति प्रतिशत भन्नुभन्दा पनि प्रतिकिलो यति रुपैयाँभेलुयड गर्ने भनेर भनेमा राम्रो हुने थियो । यो समस्या दुई पक्षीयरुपमा उठाए समधान हुन्छ । मोदी नेपाल आउँदा यस विषयमा नयाँ सम्झौता गर्नुपर्छ भन्ने मेरो धारणा छ ।

हामीले भारतबाट समान आयात गर्दा पहिला जोगवनी नाकामा आयात कोड कागजमा देखाएमात्र पुग्थ्यो । अहिले त्यहाँकम्प्युटर सिष्टममा गइएको छ । अहिले कागजमा भएको कोड नम्बर कम्प्यूटरमा इन्ट्री गरेरमात्र समान ल्याउन पाइन्छ । कम्प्यूटरमा भारतीय मान्छे राखिएको छ । कम्प्यूटरमा इन्ट्री गर्ने प्रकृया निकै ढीलो रहेको छ । पहिला कागज देखाउँदा एक दिनमै छुट्ने गाडी अहिले कम्प्यूटरमा कोड इन्ट्री गर्दा ५/६ दिनसम्म रोकिन्छन् । निर्यात गर्दा पनि यही समस्या देखिएको छ । यसतर्फ पनि हामीले छलफल चलाउनुपर्छ ।

मल र चिनी ल्याउँदा किसानलाई समात्न भएन :मनिष अग्रवाल, प्रवन्ध निर्देशक, लुम्बीनी सुगर मिल

चिनी उद्योग उखु उत्पादन गर्ने किसानसँग सकिन्छ । मैले चिनी उद्योग सञ्चालन गर्दा उखु किसानले धेरै समस्या भोगेको देखेको छु । नेपालमा सँधै यूरिया र डीएपी मलको अभाव हुन्छ । तर, भारतमा जुनसुकै बेला उपलब्ध हुन्छ । भारत सरकारले मल निर्यात गर्न प्रतिवन्ध गरेको छ । जसकारण नेपाली किसानले लुकाएर ल्याउँदै गरेको मल भारतीय प्रहरी र नेपाल प्रहरी दुबैले समातेको समाचार हामीले सुनिरहेका छौं ।

मोदीको यो भ्रमणमा भारतले नेपालका लागि मल निर्यात गर्न खुल्ला नेपाल सरकारले आग्रह गर्नुपर्छ । भारतबाट सहजै मल आयात गर्न सके नेपाली किसानहरुको उत्पादकत्व वृद्धि हुन्छ । यसले समग्र अर्थतन्त्रमा नै ठूलो राहत मिल्छ । त्यसैगरी कृषिको क्षेत्रमा भारतीय प्राविधिक सहयोग लिने विषयमा पनि सरकारले सम्झौता गरेर हरित क्रान्ति गर्नु आवश्यक छ ।

हामीले अनुदानमा भन्दा सीप सिक्नेतर्फ केन्दि्रत हुनु जरुरी छ । भारतले कृषिमा ठूलो प्रगति गरिसकेकाले कृषि उद्योगमा भारतीय लगानी भित्र्याउन सकियो भने नेपाली किसानको उत्पादनले सहजै बजार पाउनेलगायतका थुप्रै विषय छन् । त्यसबाहेक किसानको वृद्धि विकासका लागि नेपाल सरकारले गर्नुपर्ने आन्तरिक कुराहरु पनि धेरै छन् ।

भारतीय कम्पनीको गैरकानूनी बीमा रोक्नुपर्‍यो : विवेक झा, प्रमुख कार्यकारी अधिकृत, नेपाल लाईफ इन्स्योरेन्स

खासगरी नेपाल र भारतबीच बीमाको सन्दर्भमा केही समस्या छन् । पहिलो क्रसबोर्डर बीमा हो । त्यसलाई सरकारले गैरकानूनी मानेको छ । तर, सीमा क्षेत्रका नेपालीहरुले भारतीय बीमा कम्पनीमा बीमा गराइरहेका छन् । यो भ्रमणमा हामीले नेपाल सरकारले गैरकानूनी बीमा भारतीब बीमा कम्पनीलाई नगराउन अनुरोध गर्न सक्छौं ।

अर्को महत्वपूर्ण कुरा स्वास्थ्य बीमाको हो । भारतले स्वास्थ्य बीमाको क्षेत्रमा धेरै प्रगति गरेको छ । धेरै नेपालीहरु प्नि उपचारका लागि भारत जाने गर्छन । नेपाली बीमा कम्पनीसँग स्वास्थ्य बीमामा भारतीय बीमा कम्पनीहरुलाई साझेदार बनाउन सक्छौं । यस्तो उच्च नीतिगत कुराका लागि उच्चस्तरीय भ्रमणमा कुरा उठाउन जरूरी छ ।

मोदीको भ्रमणलाई मुलुकको आर्थिक विकासमा रुपान्तरण गर्न सक्यौ भने त्यसले बीमा क्षेत्रलाई पनि ठूलो फाइदा पुग्छ ।  तसर्थ अहिलेको आवश्यकता भारतीय लगानी भित्र्याउनु नै हो । र, जीबन बीमाको क्षेत्रमा भारत हामीभन्दा धेरै अगाडि भएकाले त्यहाँबाट धेरै सिक्न सक्छौ । ठूलो लगानी भित्र्याउनुपर्छ

राजनसिंह भण्डारी, अध्यक्ष, नेपाल बैंकर्स संघ 

बैंकिङ क्षेत्रमा नेपाल र भारतबीचमा गर्नुपर्ने खास कुराहरु छैनन् । नेपाल विश्व व्यापार संगठनमा प्रवेश गरेको १० वर्ष भइसकेको छ । त्यसैका आधारमा हामीले धेरै कुराहरु गरिसकेका छौं । भारतको पुँजी खातामा आएको परिवर्तन नेपालका बैंकहरुले सिक्दै जाने फरक विषय हो ।

जहाँसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण छ । यो लगानीसँग सम्बन्धित हुनुपर्छ । यो भ्रमणबाट हामीले उर्जा, कृषि र उत्पादनमुलक क्षेत्रमा ठूलो लगानी भित्र्याउने र दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्ध सुधार गर्ने अवसरका रुपमा प्रयोग गर्न सक्नुपर्छ । मैले मोदीको भ्रमणलाई क्षेत्रगतरुपमा भन्दा पनि समग्र मुलुकको अर्थतन्त्रको विकासका लागि उपयोग गर्नुपर्छ भन्दै आएको छु । त्यसैमा नेपालीको हित छ ।

भारतमा नेपाली महिलाको बेचबिखन बन्द गर्नुपर्छ :अञ्जना शाक्य, कार्यकारिणी सदस्य, नेपाल चेम्बर अफ कमर्श

Anjana-Sakyaहामीले सबैभन्दा पहिला नेपाल भारत कनेक्टिभीटी बढाउनेतर्फ जोड दिनुपर्छ । हुन त दुई देशबीच ओपन बोर्डर कनेक्सन रहेको छ । त्यसलाई कसरी राम्रोसँग म्यानेजमेन्ट गर्नेतफ ध्यान दिन सकेमा क्राइम, चोरी पैठारी लगायतका समस्याहरु कम भएर जान्थे । अहिले जति पनि भारतमा महिलाहरुको बेचविखन भइरहेको छ, त्यसमा कमी आउने थियो ।

नेपालमा महिला उद्यमशीलताका लागि भारतले प्याकेजमा सहयोग गर्न सक्छ । यसलाई भारतले समेट्नुपर्छ । छिमेकी मुलुकको विकास भएमा मात्र आफ्नो देशको विकास हुन्छ भन्ने मोदी सरकारको धारणा छ । मोदीको यो नीतिको छिमेकी मुलुकको नाताले नेपालले भरपुर फाइदा लिनुपर्छ ।

नेपालमा हाइड्रोपावरमा लगानी बढाउनका लागि भारतसँग उर्जा व्यापार सम्झौता गर्नुपर्छ । त्यसका लागि दुबैले फाइदा उठाउन सक्ने अवस्था सिर्जना गर्नुपर्छ । नेपालमा हाइड्रो सेक्टरलाई अगाडि बढाउन सकेमा औद्योगिक विकासको बाटो खुल्छ । औद्योगिक विकास हुन सकेमा रोजगारीसमेत बढ्छ ।

नेपालको भारतसँग ठूलो व्यापार घाटा छ । हामीले निर्यात हुने खालका वस्तु उत्पादनतर्फ जोड दिनुपर्छ । नेपालमा औद्योगिक विकास कसरी हुन सक्छ, यसमा भारततर्फको सहयोग कस्तो रहन सक्छ त्यसतर्फ पनि हामीले ध्यान दिनुपर्छ । नेपालमा औद्योगिक विकास नभई व्यापार घाटा घटाउन सम्भव छैन ।

अशोक तेमानी, केन्द्रीय सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

Ashok-temaniभारतले क्वारेन्टाइनको झन्झटबाट नेपाललाई मुक्ति दिलाउनुपर्छ । नेपाली कृषि उत्पादनहरु विना झन्झट भारतीय बजारमा बिक्री वितरण गर्न पाउने व्यवस्था हुनुपर्छ । भारतीय कृषि उत्पादन नेपाल ल्याउँदा कुनै झन्झट छैन् । भारत लैजाँदा किन झन्झट ? यसलाई फुकुवा गुर्नपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment