Comments Add Comment

बेपत्ता नागरिकका आफन्त भन्छन्- ‘कि सास देऊ, कि लास देऊ’

१६ साउन, काठमाडौं । रसुवा जिल्ला लहरेपौवा-३ धुन्चेका झकबहादुर भुषालका छोरा विजय भुसाल बेपत्ता भएको १२ वर्ष भयो ।

हाल कोटेश्वरमा बसोबास गर्ने ६८ वर्षीय झकबहादुरका दुई छोरी र एउटा छोरामध्ये १२ वषर्ीय छोरा बेपत्ता भएसँगै मानसिक सन्तुलन गुमाएकी श्रीमतीको समेत पत्तो छैन । झकबहादुरले भने- “तत्कालीन नेकपा-माओवादीलाई मेरो घर रसुवामा पार्टी कार्यालय राख्न दिएको भन्दै काठमाडौँमा अध्ययन गर्न बसेको मेरो छोरालाई २०६० जेठ २१ गते नेपाली सेनाले ललितपुर ग्वार्कोबाट अपहरण गरेर कहाँ लग्यो लग्यो ।”

न्यायका लागि राज्य, सरकार, तत्कालीन विद्रोही पक्ष नेकपा- माओवादीसँग पटकपटक अपिल गर्दा पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । उनले भने- “त्यही छोराको तनावले श्रीमती मानसिक रोगी भएर कहाँ गई कहाँ, म कहीं कतै छोराको सास नभए लास भए पनि भेट्छु कि भनेर लागिरहेको छु ।”

दश वर्षे सशस्त्र युद्धका क्रममा राज्यले मात्रै होइन तत्कालीन विद्रोही पक्ष नेकपा-माओवादीले पनि धेरै नागरिक बेपत्ता बनाएको छ । त्यो समयमा धेरै चेलीको सिन्दूर पुछिएको छ । धेरैको काख रित्तिएको छ ।

विसं २०६२ वैशाख ३० गते भक्तपुरबाट आफ्नो श्रीमान् राजभाइ रञ्जितकारलाई तत्कालीन विद्रोही पक्ष नेकपा (मओवादी) ले अपहरण गरी बेपत्ता बनाएको आरोप लगाउँदै बनेपाकी मनकुमारी रञ्जितकारले आˆनो श्रीमान्बारे राज्य, सरकार र सरोकारवाला निकायसँग खोजतलासका लागि अनुनय गरिए पनि अहिलेसम्म कुनै प्रयास हुन नसकेको बताइन् । उनले भनिन्-“परिवारको सदस्य बेपत्ता हुनुको पीडा पर्नेलाई मात्र थाहा हुन्छ, घरको मुख्य मान्छे, आफूसँगै भएको परिवार बेपत्ता भएको आज वर्षौं भयो, आज आउँला छैन, भरे आउँला छैन ।”

द्वन्द्व प्रभावित व्यक्ति, परिवार, संरचनाको लगत सङ्कलन कार्यदल बबरमहलले २०७० साल असार मसान्तभित्र तयार गरिएको प्रतिवदेनमा युद्ध सुरु भएदेखि प्रतिवेदन तयार हुन्जेलसम्म बेपत्ताको सङ्ख्या एक हजार ५३० रहेको शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सहसचिव तथा प्रवक्ता गोविन्द खनालले जानकारी दिए ।

करिब एक दशक लामो द्वन्द्वका क्रममा जम्मा १७ हजार ८८६ जना मानिस मृत्यु र बेपत्ता भएको भनी कार्यदलले शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा पेस गरेको प्रतिवेदनमा उल्लेख गरिएको प्रवक्ता खनालले जानकारी दिए ।

त्यसमध्ये १४ हजार २०१ जनाले मात्र हालसम्म एक लाख राहत रकम प्राप्त गरिसकेको उनको भनाइ छ । राहत रकम पहिलो पटक एक लाख र दोस्रो पटक दुई लाख गरी जम्मा तीन लाख दुई किस्तामा गरेर दिइन्छ । राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालका अनुसार सशस्त्र युद्धका क्रममा राज्यले मात्रै एक हजार ९५ जना नागरिकलाई बेपत्ता बनाएको छ । यसमध्ये १०० जना महिला र बाँकी ९९५ जना पुरुष रहेका छन् । समाजको प्रतिवेदनअनुसार सबैभन्दा बढी बर्दिया, दाङ र रोल्पालगायतका जिल्लामा नागरिक बेपत्ता पारिएका छन् ।

पछिल्लो पटक सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन गर्न बेपत्ता आयोग बनाउने भनिए पनि गठन प्रक्रियासमेत विवादका कारण अवरुद्ध भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment